‘लु’बाट जोगिन पूर्व तयारीमा चर्चा

प्रतिकार्यका लागि रेडक्रससँग नेपालगन्ज उपमहानगरपालिकाको साझेदारी

निकै गर्मी र तातो हावा (हिट वेभ) को उच्च जोखिममा रहेको बाँकेको नेपालगन्जमा त्यसबाट जोगिनेबारे पूर्व तयारी थालिएको छ ।

गर्मी समयमा चल्ने तातो हावा ’लु’ को उच्च जोखिमबाट बच्न आवश्यक रहेको भन्दै त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगन्जमा ’लु’ प्रतिकार्य थालेको हो ।

नेपालमै पहिलो पटक ’पाइलटिङ’ का रुपमा नेपालगन्ज उपमहानगरपालिकामा ’लु प्रतिकार्य कार्यक्रम’ संचालनमा ल्याइएको आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

‘हामीले नेपालगन्जलाई ‘लु’ एक गम्भीर विपदको रुपमा रहेको महसुस गरेरै यो पूर्व तयारी थालिएको हो,’ शुक्रवार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले भने, ‘त्यसका लागि अहिलेदेखिनै चर्चामात्रै होइन, तयारीका विभिन्न काम गरिरहेका छौं ।’

नेपालगन्जमा शुक्रवार नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र नेपालगन्ज उपमहानगरपालिकाबीच ‘लु प्रतिकार्य’ का लागि भइरहेको क्रियाकलाप, गर्नुपर्ने काम, प्रतिकार्य योजना निर्माण र कार्यान्वयनका लागि गरिने कार्यक्रमका साझेदारीपत्र आदानप्रदान गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र रेडक्रसका बाँके सभापति गोबर्द्धन सिंह सम्झनाले समझदारीपत्र आदानप्रदान गरेका हुन् । उक्त कार्यक्रममा रेडक्रसका रुद्र अधिकारी र दोलख डाँगीले ‘लु प्रतिकार्य’ का लागि भइरहेको क्रियाकलाप, गर्नुपर्ने काम, प्रतिकार्य योजना निर्माण र कार्यान्वयन लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकामा चिसो छानो निर्माण, कुलिङ सेन्टर स्थापना, सचेतना प्रवर्द्धन लगायतका गतिविधि संचालन गर्ने तयारी गरिएको छ । ‘यो समस्यालाई दीर्घकालीन समाधानका रुपमा स्थानीय सरकारले पाठ्यक्रममै तातो हावा ‘लु’ प्रतिकार्य बारे समावेश गरिनुपर्छ,’ जनप्रतिनिधिसमेत सहभागी परियोजनाको परिचयात्मक कार्यक्रममा रेडक्रस बाँके शाखाका उप निर्देशक दोलखबहादुर डाँगीले भने । उनले कार्यक्रममा गत वर्ष तातो हावा लु प्रतिकार्य सम्बन्धी भए गरेको कार्यको उपलब्धी र सन् २०२४ मा संचालन गरिने कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

रेडक्रसका सभापति गोबद्र्धनसिंह सम्झनाले आपसी सहकार्यले विपद विरुद्ध जुध्न स्थानीय सरकारको उत्थानशिलता अभिवृद्धि हुने बताए ।

नेपालको सबै भन्दा बढी गर्मी हुने नेपालगन्ज शहरलाई केन्द्रित गरी सन् २०२१ देखि अमेरिकन रेडक्रसको सहकार्यमा तातो हावाको लहर लु प्रतिकार्य कार्यक्रम संचालन भइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका उपनिर्देशक रुद्र अधिकारीले जलवायू परिवर्तनबाट विश्व नै प्रभावित भइरहेको बताउदै भविष्यमा कस्तो प्रकारको विपद् हुने अनुमान गर्न नसकिने बताए ।

आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपत तथा वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, विपत तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, पूर्वाधार समिति संयोजक बसन्त कनोजिया लगायत उपस्थित थिए ।

बढ्दो कार्वन उत्सर्जनले जलवायुमा ल्याइरहेको परिवर्तनको असरले विश्व तापमान बर्षेनी उकालो लागिरहेको छ । विश्वमै ‘लु’ एक गम्भीर विपदको रुपमा देखिएको छ । नेपालगन्जका लागि पनि ’लु’ समस्याका रुपमा रहेको छ । अमेरिकन रेडक्रस र क्लाइमेट सेन्टरको सहयोगमा नेपाल रेडक्रस बाँके शाखा गत वर्षदेखि ’लु’ प्रतिकार्यका लागि क्रियाशील छ ।

प्रतिक्रिया

प्रतिक्रिया