धुमधाम पृथ्वी जयन्ती

३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बुधवार धुमधाम मनाइएको छ ।


बिक्रम संवत २०६३ सालमा व्यवस्था परिवर्तनसँगै आधिकारिक रुपमा मनाउन छोडिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यसपटक बिभिन्न सरकारी निकायहरुको समुपस्थिति मै मनाइएको हो ।


त्यसक्रममा शास्वत स्मृति प्रतिष्ठानले नेपालगन्ज नगरपालिकाको सभाहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको बहस तथा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।


प्रतिष्ठानकी अध्यक्ष श्रीमती किरण आचार्यको सभापतित्वमा भएको कार्यक्रममा पृथ्वी नारायण शाहका समाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक योगदानहरुका बिषयमा चारजना वक्ताहरु प्रा. कृष्ण प्रसाद लामिछाने, प्रा. कमानसिंह बोहरा, नरहरीनाथ योगी र मित्रलाल सापकोटाले प्रकाश पारेका थिए ।


स्वस्तिवाचनबाट शुरु गरिएको कार्यक्रममा राष्ट्रियगान र राष्ट्रनिर्माताप्रति कृतज्ञता सहितका कविताहरु वाचन पनि गरिए ।
झण्डै ३ घण्टा चलेको कार्यक्रमको अन्तसम्म सबैले धैर्यताका साथ सहभागी कार्यक्रममा बिभिन्न प्राज्ञिक व्यक्तिहरु, कथाकारहरु, साहित्यकारहरु, शिक्षक तथा समाजिक अभियन्ताहरु र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।


त्यस्तै, बाँकेको खजुरा भएको अर्को कार्यक्रममा निजी विद्यालयहरुको संगठन एनप्याब्सनले आफ्नो २५ औं स्थापना दिवसलाई ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई जोडेर प्रभातफेरी गरेको थियो ।


खजुरा बजारमा प्रभातफेरी गरेर मिनीपार्कमा सभामा परिणत भएको कार्यक्रमको मूल ब्यानरको साइडमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको ब्यानर राखिनु र यसै ब्यानरमुनि नेकपा एकीकृत माओवादीका जिल्ला अध्यक्षसमेत रहेका पालिका अध्यक्ष डम्बर बि क प्रमुख अथितिका रुपमा सहभागी थिए ।


कार्यक्रमको शुरुमा पृथ्वीनारायण शाह र एकता दिवसलाई स्मरण गरि कार्यक्रम मनाइएको खजुरा एनव्याब्सनका अध्यक्ष कृष्ण भण्डारीले बताए ।


त्यसैगरी खजुरामै राप्रपाद्वारा आयोजना गरिएको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको प्रभातफेरी तथा त्यहाँ रहेको पृथ्वी चोकमा झण्डोत्तलन र पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण कार्यक्रम गरिएको छ ।


कर्यक्रममा राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री फत्तेसिंह थारु, एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, राप्रपाका क्षेत्रीय अध्यक्ष पारस थारु, जरोकिलो प्रतिष्ठानका आजीवन सदस्य मित्रलाल सापकोटा, ३ नम्बर वडाअध्यक्ष पूर्णबहादुर भण्डारीलगायतका नेता सहभागी थिए ।


कार्यक्रममा जरोकिलो प्रतिष्ठानका सदस्य मित्रलाल सापकोटाले पृथ्वीनारायण शाहको इतिहास, नेपालको अर्थ, रक्षा, परराष्ट्र नीतिमा रहेको योगदान, नेपाललाई ‘मेक इन नेपाल, यूज नेपाली प्रडक्ट’ सहित नेपाललाई सबैको साझा फूलबारी बनाएकोमा आजको समावेशिता र सहभागितामूलक नीति रहेको बारेमा उजागर गरे ।


राप्रपाले नेपालगन्जमा पनि प्रभातफेरी लगायतका कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया