हान बाँके च्याप्टरमा खनालको नेतृत्व

तारे होटलहरूको छाता संगठन, होटल एसोसिएसन नेपाल (हान) बाँके च्याप्टरको नेतृत्व फेरिएको छ । सोमवार भएको प्रथम साधारण सभाले दीवाकर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।


कार्यवाहक नेतृत्व सम्हालिरहेका खनाल साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । खनाल होटलका सञ्चालक खनालले नेतृत्वमा आएसँगै पर्यटकीय पूर्वाधारमा गरिएको निजी क्षेत्रको लगानी सुरक्षाका लागि आवश्यक योजना र सरकारसँगको दबाबलाई सँगसँगै लैजाने बताए ।


सर्वसम्मत कार्यसमितिमा केशव न्यौपाने वरिष्ठ उपाध्यक्ष, लोकेन्द्र अर्याल उपाध्यक्ष, महासचिवमा नरबहादुर ओली र कोषाध्यक्षमा डा. ओमप्रकाश मिश्रा चुनिएका छन् । त्यसैगरी सदस्यहरूमा राजविक्रम शाह, तेजप्रसाद रेग्मी, मनोज केसी, दीपु गुप्ता, सरोजकुमार चन्द र निर्वतमान अध्यक्ष समेत रहेका अशित शम्शेर राणा छन् ।


सोमबार औपचारिक कार्यक्रम बीच प्रथम साधारणसभाको उद्घाटन गर्दै हानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विनायक शाह, केन्द्रीय महासचिव साजन शाक्य लगायतले पछिल्लो व्यवसायिक अवस्था र हानका भूमिका बारे धारणा राखेका थिए ।


हान बाँकेका अध्यक्ष अशित शम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सबै जसो तारे होटलका सञ्चालकहरू सहभागी थिए ।

बाँकेमा पर्यटन पूर्वाधारमा रहेको ४ सय करोड बढीको लगानी सुरक्षासँगै योजनाबद्ध काम गर्नका लागि कार्ययोजना निर्माणका लागि समिति

हानका नवनिर्वाचित अध्यक्ष दिवाकर खनालले बाँकेमा पर्यटन पूर्वाधारमा रहेको ४ सय करोड बढीको लगानी सुरक्षा हानको रहेको बताएका छन् । उनले योजनाबद्ध काम गर्नका लागि कार्ययोजना निर्माणका लागि समिति बनाएको जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष खनालले आर्थिक मन्दी र कोरोना महामारीले पर्यटकीय क्षेत्र ध्वस्त भैरहँदा नेपालगन्जमा पर्यटकीय गतिविधि विकास र बिस्तारमा हानले अग्रसरता लिने बताए ।


‘वेष्टर्न ट्राभल मार्टको आयोजनामा हानले बलियो सहकार्य गरेर नाट्टा सँगै हातेमालो गरिरहेको छ’, मार्टका सहसंयोजक समेत रहेका अध्यक्ष खनालले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जलाई ट्रान्जिट मात्रै नभई हबका रूपमा विकास गर्न र आउने पर्यटकहरूलाई केही दिन जिल्ला भित्रै टिकाइ राख्न प्रोडक्ट तयार गर्न तर्फ हाम्रो जोड हुनेछ ।’


नवनिर्वाचित अध्यक्ष खनालले व्यवसायीहरूले आफ्ना आकर्षण र उत्पादनलाई प्रचारप्रसारमा लैजान हानले प्रोत्साहन गर्ने बताए । ‘आफुसँग भएको विशेषतालाई सञ्चारमाध्यम मार्फत प्रचारप्रसार गर्दै लक्षित वर्गसम्म पुर्याउन सक्यो भने आन्तरिक हो वा बाह्य पर्यटकको ध्यान खिच्न सकिन्छ’, अध्यक्ष खनालले भने, ‘हान अब गतिशिल ढंगले आफ्ना गतिविधिमा अगाडि बढ्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया