प्रवद्र्धनका नेपालगन्जमा प्रदेश स्तरिय व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव आयोजना गरिंदै
कोभिड महामारी र आर्थिक मन्दीको चपेटोमा परेका घरेलु तथा साना उद्योगका उद्योगी व्यवसायीले बजार खोज्न अग्रसरता देखाएका छन् ।
त्यसका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले नेपालगन्जमा प्रदेश स्तरिय व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने भएको हो ।
शिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रा.लि. बाँकेसँगको सहकार्यमा माघ १० गते देखि २४ गतेसम्म चल्ने महोत्सव आयोजना गर्न लागिएको महासंघका जिल्ला अध्यक्ष मधु खड्काले जानकारी दिइन् ।
तीन वर्षयता कोभिड महामारीले यसखालका मेला महोत्सव आयोजना हुन नसकेको नेपालगन्जमा ‘समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ गर्न लागिएको महोत्सवले व्यापार व्यवसायलाई केही हदसम्म भएपनि ‘भाइब्रेन्ट’ गर्ने अपेक्षामा आयोजक छन् ।
‘मनोरञ्जनका साथै आर्थिक गतिविधिलाई यसले पक्कै चलायमान बनाउने विश्वास लिएका छौं,’ अध्यक्ष खड्काले भनिन् ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट आउने साना तथा घरेली उद्योगी व्यवसायीले आफ्ना उत्पादनलाई बजारसँग जोड्न ‘बी–टु–बी र बी–टु–सी’ गर्ने कार्याक्रम पनि रहेको महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले जानकारी दिए । अध्यक्ष सिंहका अनुसार, यसै साता कर्णाली प्रदेश स्तरीय महोत्सव सल्यानमा शुरु गरिएको छ ।
महासंघका बाँके शाखा महासचिव जीआर भूसालले विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका बेला यसखालका आयोजनाले केही हदसम्म भएपनि उत्पादनलाई बजारसम्म पुर्याउन काम गर्ने आशा गरिएको बताए । ‘यसै भावनालाई मध्य नजर गरी यो महोत्वसको आयोजना गर्न लागिएको हो,’ महासचिव भूसालले भने ।
आयोजकका अनुसार, महोत्सवमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता पनि आयोजना गरिंदैछ । आयोजनालाई विविधता दिन आयोजना गरिने प्रतियोगितामा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने शुक्रवार आयोजना बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
महोत्सवमा रहने तीनसय स्टलमा प्रादेशिक स्तरका उत्पादनदेखि मौलिक परम्पराका खाद्य परिकार, थारु होमस्टे थारु गाउँका विविधता पनि राखिने छ । ‘८० लाख खर्च अनुमान गरिएको आयोजनामा १ करोड ८० लाखसम्मको कारोबार गर्न लक्ष राखेका छौं,’ अध्यक्ष खड्काले पत्रकार सम्मेलनमा भनिन् ।
पर्यटन महोत्सव पनि भनिएकाले आयोजनामा आन्तरिक पर्यटकीय गन्तव्यका आकर्षणलाई राखिने आयोजकको भनाइ छ । ‘महोत्सवभित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने,’ बाल उद्यान लगायतका विभिन्न खेलहरुको आकर्षण रहने जानकारी दिंदै पत्रकार सम्मेलनमा आयोजकले महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी दिए ।
‘राष्ट्रिय र स्थानीय ५० बढि कलाकारहरुको सहभागितामा १४ दिनसम्मको महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गर्ने अनुमानका साथ तयारी थालिएको’ आयोजनामा सहकार्य गरिरहेको शिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रा.लि.का अध्यक्ष भक्त बहादुर थापाले बताए ।
‘यसले स्थानीय कला संस्कृति र मौलिकतालाई पनि जगेर्ना गर्दै नयाँ– नयाँ प्रतिभालाई मञ्च सिर्जना गर्न विश्वास लिएरै हामीले सामाजिक काममा सहकार्य गरेका हौं ।’