
समाज नियमित प्रकृया अनुसार आफ्नै गतिमा अगाडि बढिरहेको छ । समाज विकासका आफ्नै नियमहरू छन । भौतिकवादी दर्शनले हरेक चिज परिर्वनशिल छ भन्ने मान्यता राख्दछ समाज पनि त्यसको अपवाद हुन सक्दैन । समाज विकासलाई एउटा विज्ञान भनिन्छ तर यो Pure science नभएर Applied science हो भनेर ब्याख्या गरिएको छ । हिजोको समाज र आजको समाजमा धेरै भिन्नता छ । ब्यक्तिका रहन सहन, जीवन जीउने शैली र हाम्रो दैनिकी हिजो भन्दा भिन्नै र विकसित हुदै गइरहेका छन् ।
समाज नियमित प्रकृयाले अघि वढ्ने स्वयं सिद्ध तथ्य हुंदा हुंदै पनि सचेत पक्षको भुमिकाद्वारा ढिलो हुने विकासको प्रकृयालाई अगाडि ल्याउन सकिन्छ । हरेक वस्तु एवं घटनालाई ब्याख्या गर्ने मानिसको आफ्नै दृष्टिकोण हुन्छ र उसले त्यसै अनुरूप नियाली रहेको हुन्छ । राजनीतिले हरेक चिजको कमाण्डीङ गर्ने हुनाले समाजलाई कता डोर्याउने भन्ने कुराको पनि निर्णय गर्दछ । राजनैतिक खेलाडी अब्बल, पारदर्शी, नैतिकवान, सक्षम एवं दुरदर्शी भए भने समाजमा आर्थिक विकास त हुन्छ नै सामाजिक मनोविज्ञानमानै सकारात्मक असर गर्छ र सामाजिक सदभाव र एकता कायम गर्न सकिन्छ । राजनैतिक खेलाडिले गर्ने कर्महरूलाई सिद्धान्तको कसीमा राखेर जाचिन्छ र ठिक र बेठिकको निर्णय गरिन्छ । समाजले परिकल्पना गरेको सामाजीक न्याय सहितको अग्रगामी मान्यताहरूमा फिट भयो भने सकारात्मक सन्देश प्रवाह गर्छ अद्योगामी रूपमा गयो भने नकारात्मक सन्देश प्रवाह गर्दछ । त्यसैले राजनैतिक नेतृत्वले शोषित पीडित एवं पिछडिएका र दविएका बहुसंख्यक जनताको हितको निम्ती काम गर्न सक्नु पर्दछ र त्यसै अनुरूप आफुलाई अगाडि बढाउन सक्नु पर्दछ ।
राजनैतिक रूपमा हामी संसदीय ब्यवस्थामा छौं । लोकतन्त्रलाई हामीले हाम्रो आर्दश मानेका छौं । संसदीय शासन प्रणालीमा दलीय प्रतिस्पर्धा गर्ने बलियो र भरपर्दो माध्यम भनेको नै आवधिक निर्वाचन प्रणाली हो । दलीय प्रतिस्पर्धा स्वस्थ हुनको लागी राजनैतिक पार्टीको आचरण, ब्यवहार र कार्यशैलीले ठुलो महत्व राख्दछ । स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण आधारभूत विषय हुन । निर्वाचनको माध्यमबाट जनप्रतिनिधि छानिने भएकोले शासन गर्ने हक पनि निर्वाचीत प्रतिनिधिलाई नै हुन्छ । शासन गर्ने हक प्राप्त गर्न जनताको मन जितेमा मात्र मतमा प्रकट हुन्छ र सोही अनुसार आफुलाई उभ्याउन सकिन्छ ।
राजनैतिक नेतृत्वले हामी, हाम्रो पार्टी सिद्धान्तमा अब्वल छौं, योजनमा स्पष्ट छौं, सांगठनिक रूपमा अनुशासित र चुस्त छौं, राजनैतिक र ब्यवहार दुवैमा रूपमा इमान्दार छौं र कार्यशैलीमा पारदर्शी छौं भन्ने कुरा ब्यवहारिक रूपमा पुष्टि गर्न सक्नु पर्दछ । अनि मात्र जनताको अभिमत प्राप्त गर्न सकिन्छ र अरू भन्दा अगाडि आउन सकिन्छ । देशमा भएका राजनैतिक पार्टिहरूले सो ब्यवहार कति देखाए र कति अगाडि आए स्पष्ट नै छ । सवै पार्टी एकैनासे छैनन्, कतिलाई ब्यवहारिक रूपमा हेर्न बांकी नै छ भने कतिपय पार्टीहरू हाम्रा अगाडि नै छन् । यसै सन्दर्भमा भर्खरै सकिएको निर्वाचन र राजनैतिक पार्टीहरूले प्राप्त गरेको मत परिणाम र जनताको हिमायतीको रूपमा दावी गर्ने र देशकै शक्तिको रूपमा रहेको माओवादी केन्द्रको ओरालो यात्रामा उत्कृष्ट नमुनाको रूपमा रहेको बांके जिल्ला क्षेत्र नं ३ (क) को विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।
१. गुटगत राजनीति र त्यसको प्रत्यक्ष असर ः राजनीतिमा विभीन्न विषयहरूले प्रवेश पाउनु र निष्कर्ष निकालेर सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरूलाई जनता समक्ष पुर्याउनु नौलो विषय होइन । छलफलमा जनबादी शैली अपनायर निर्णय गर्नु र निर्णय भईसकेपछि कार्यान्वयनमा केन्द्रियता लागु गर्ने कुरा माओवादी केन्द्रले गर्दै आएको विषय हो । पार्टी केन्द्रले गरेका निर्णयहरू तल्लो कमिटीले लागु गर्नु पर्दछ । माओवादी पार्टिको विधानमा स्पष्ट ब्यवस्था भए बमोजीम अनुशासनको दायरा कुनै पार्टि कमिटी एवं सदस्यले नाघ्न पाउँदैन । परिपत्र गरे बमोजीमका निर्णयहरू तल्लो कमिटीले पालना नगर्ने हो भने सांगठनिक अराजकता पैदा हुन्छ र भिडमा परिणत हुन्छ । राजनैतिक पार्टीको आफ्नै विधान र दलीय राजनीतिको आचारसंहिता भित्र पनि अराजकताले ठाउँ पाउँदैन । तर दुर्भाग्य देशका धेरै ठाउँमा यस्ता घटनाहरू भए । माओवादी पार्टी पनि यस विषयमा अछुतो रहन सकेन र निर्विवाद रूपमा यसमा भाग लियो । यसका कारणहरू धेरै होलान तर प्रमुख कारण भनेको गुटगत राजनिती नै हो । बैचारिक र सांगठनिक रूपमा पार्टि अध्यक्षलाई रूपमा स्वीकार गर्ने विषयमा दोस्रो तहका नेताहरूमा कुनै दुई मत देखिंदैन तर एक कदम तल आउने वित्तिकै बैचारिक र राजनैतिक छलफल भन्दा आफ्नो र अर्को गुट भन्ने साथै आफ्नालाई काखी च्याप्ने प्रवृती स्पष्टनै देखिन्छ । भुगोलको हिसावले सानै भएपनि यसपटकको निर्वाचनमा बांके क्षेत्र नं ३(क) मा त्यसको प्रत्यक्ष असर पर्यो र नमुनाकै रूपमा देखापर्यो ।
२ पार्टी नितीको विरोध र अराजक शैली ः विशेषतः बांके क्षेत्र नं ३ (क) मा माओवादी केन्द्रले आधिकारिक रूपमा आफ्नो उम्मेदवार तय गरेर जिल्ला नेतृत्वलाई टिकट पठायो । स्थानीय रूपमा प्रदेश स्तरका र पालिका स्तरका केहि नेता एवं कार्यकर्ताहरूमा आफ्नै नेतृत्व प्रति र उम्मेदवार प्रति सामान्य कार्यशैलिका विषयलाई लिएर आफ्नै पार्टिका आधिकारिक उम्मेदवार बिरुद्ध स्वतन्त्र उम्मेदवार खोजी खडा गर्ने काम भयो । राजनैतिक रूपमा गठवन्धनका साझेदार पार्टी समाजबादी पार्टीका जिम्मेवार नेतालाई स्वतन्त्र उम्मेदवार वनाई माओवादी पार्टि को जिल्ला नेतृत्वले खुलेआम रूपमा प्रचार प्रसार गर्न शुरु गर्यो । अर्को तर्फ समाजबादीका जिम्मेवार नेताले सामान्य पार्टी अनुशासनको ख्यालै नराखी माओवादी कार्यकर्ताको बल र गठबन्धनलाई आफु अनुकुल बनाई गठबन्धनको भरमा चुनाव जित्ने निश्कर्ष निकाले । आफ्नै पार्टीको निर्देशन विरुद्ध उम्मेदवार दिएका स्वतन्त्र उम्मेदवारले माओवादीका त्यस क्षेत्र प्रदेश (क) का नेता एवं कार्यकर्तासंग धोका नहुने स्पष्ट आधार माग गरे । पार्टी भित्र आफंैले गरेको त्याग र तपस्यालाई तिलान्जली दिंदै त्यस प्रदेश (क) का माओवादी केन्द्रका नेता एवं कार्यकर्ताहरूले पार्टीबाट सामुहिक राजीनामा दिने निश्कर्ष निकाले र स्वतन्त्र उम्मेदवारलाई धोका नहुने स्पष्ट आधार पेश गर्नुका साथै प्रमाण स्वरूप हस्ताक्षर सहितको राजीनामाको पत्र सार्वजनीक गरे । यसका साथै स्वतन्त्र उम्मेदवारलाई तन,मन र धनले सहयोग गर्ने र चुनाव जितायरै देखाईदिने बचन दिए । केहि कार्यकर्ताले जनताको गोप्य मतको ठेक्का समेत लिए । । केहि समय पछाडि खजुरा गाउँपालिकाका माओवादी केन्द्रका पार्टी अध्यक्षले त्यस राजीनामा प्रति ऐक्यबद्धता प्रकट गरे । विधी र पद्धतीको विषय उठान गरेका त्यस क्षेत्रका माओवादीका कार्यकर्ताहरूले राजीनामा पछि पनि माओवादी पार्टीकै नेताको हैसियतमा बैठक बस्दै चुनावी कार्यक्रम संचालन गर्दै स्वतन्त्र उम्मेदवारलाई अगाडी बढाए । जनताले पार्टी नितीको प्रतिरक्षाको लागी आवाज उठाए तर सुनुवाई भएन । जनताको दबाबलार्इृ थेग्न नसकी स्वतन्त्र उम्मेदवार पनि हाम्रै पार्टीको हो भनी स्वतन्त्र हैसियत भएका समाजबादीका जिम्मेवार नेतालाई जिल्ला इन्चार्ज र संयोजकको अगुवाईमा सार्वजनिक रूपमा पार्टी प्रवेश गराए । ‘नेकपा माओवादी चुनाव चिन्ह धारा’ भन्ने चुनावी नारा बनाई आफ्नो पार्टी र पार्टीका आधिकारीक उम्मेदावारको मानमर्दन हुने गरि चुनावी प्रचारहरू भए । बांके जिल्लाकै सांगठनिक आधार भनि चिनिएको खजुरा क्षेत्रमा समेत जिल्ला नेतृत्वबाट स्थानीय सत्ताको माध्यमबाट परामर्श र दवाव शुरु भयो । आफ्नो पदिय हैसियतको सामान्य ख्याल समेत नराखी स्थानीय सरकार प्रमुख र वडा प्रमुखहरू कार्यक्षेत्रमै खटिए । पार्टी निती र सिद्धान्तको प्रतिरक्षा गर्ने सामान्य कार्यकर्ता, शुभचिन्तक एवं आस्थावान ब्यक्ति एवं संस्थाहरू रक्षात्मक अवस्थामा बस्न बाध्य भए ।
३. वौद्धिक वर्गको भूमिकामा अंकुस लगाउने प्रयासः माओवादी पार्टीकोे राजनैतिक संस्कार, निर्वाचन आचार संहिताको पूर्ण परिपालना, पार्टीको नीति एवं माओवादी पार्टी भित्र देखिएका तत्कालीन समस्या समाधानको निम्ती सकारात्मक भूमिका खेल्न समाजसेवी एवं आस्थावान वौद्धिक वर्ग अग्रसर हुदै विषय केन्द्रित बहशहरू भए । पदिय भुमिका र जिम्मेवारी विना स्वतःस्फुर्त रूपमा अगाडी बढेका बौद्धिक वर्गको भूमिकामा अंकुश लगाउने काम र हतोत्साहित गर्ने काम जिल्ला नेतृत्वबाट भयो । बिशेषतः पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरेर चुनावमा जानु पार्टी प्रति गरिने वेईमानी हो भन्ने अनौपचारिक निष्कर्ष निकाल्दै समस्या समाधान गर्ने धेरै प्रयासहरू भए पनि यस प्रति पहलकदमी लिनुपर्ने माओवादी केन्द्र बांके जिल्लाको सचिव लगायतको टिमले कुनै वास्ता नै गरेन । बरु तपाईहरू चुप बस्दानै राम्रो हुन्छ भन्ने कुरा सुनाए । जिल्ला नेतृत्वले स्वतन्त्रका उम्मेदवार हाम्रो नेता हो हामीले जसरी पनि जिताउछौं र पार्टीमा स्थापीत गराउंछौं भन्ने ओठे जवाफ फर्काउदै वहशको अन्त गरिदिए । जनवर्गिय संगठनका विशेष विशेष ब्यक्तिहरूसँग ब्यक्तिगत रूपमा सम्पर्क गरि कानुनको डण्डा देखाएर तर्साउने प्रयास गरियो । पार्टिको निती र संगठनको संस्थागत विधी र पद्दतीलाई लिकमा ल्याउने र अराजकतालाई कम गर्ने सामाजीक ब्यक्तित्वहरूको सकारात्मक प्रयास विफल भयो । जिल्लामै उपलब्ध रहेका पार्टि केन्द्रका जिम्मेवार सदस्यहरूसंग सामुहिक र ब्यक्तिगत रूपमा सामान्य शुभचिन्तक हरूले लिएको पहलकदमी र निस्वार्थ छलफललाई अमुक गुट संग जोड्ने प्रयास गरियो । पार्टी नितीको प्रतिरक्षा गर्नु पर्छ र अराजकतालाई प्रश्रय दिनु हुदैन भन्ने सामान्य राजनैतिक चेत भएका ब्यक्तिहरूको सामुहिक एवं एकिकृत प्रयासलाई पनि घेरावन्दि गर्ने काम भयो । पार्टिको समानुपातिक मत समेत संरक्षण हुन सकेन । भेटघाट ,छलफल ,अन्र्तकृया र बहस नै रक्षात्मक भयो । वौद्धिक वर्ग ,पेशाकर्मी ,पत्रकार र अन्य राजनैतिक पार्टी र आमजनताले बाहिर वसेर यो नाटक हेरिरह्यो र जिल्ला नेतृत्वले कला विहिन नाटक प्रस्तुत गरिरह्यो, पार्टीको बेइज्जत गरिरह्यो भने स्वतन्त्र उम्मेदवार वनेर चुनाव जित्ने चाहना राखेर राजनैतिक जीवन नै दाउमा लगाएका स्वतन्त्र उम्मेदवारलाई जनताले पत्यायन्न । उता स्वतन्त्र पार्टीको प्रचार गर्ने जिम्मेवार नेतृत्वले माओवादी पार्टीकै हैसियतमा चुनाव हारेकै भोलिपल्ट समिक्षा गरि अन्तिम भोज समेत गर्यो ।
४. निरिह नेतृत्व र एकिकृत समाधानमा वेवास्ताः पार्टीको नीति, विचार र संगठन नियमित रूपमा संचालन भइरहेको अवस्थामा नेतृत्व निष्कृय भूमीकामा रहे पनि खासै फरक पर्दैन । तर जव पार्टीको नीति र विचारको रक्षा एवं संगठन विचार बाट स्खलित भएको अवस्था आउँछ तव नेतृत्वको अहं भूमीका रहन्छ । विचारबाट निर्देशित नभएको संगठन भिडतन्त्र नै हो । बाँकेको माथि उल्लेख गरिएको यस्तो विषम परिस्थितिमा समेत केन्द्रीय नेतृत्वले समस्या समाधान गर्न आवश्यक ठानेन । बांके जिल्लामै उपलब्ध रहेका जम्वो केन्द्रीय समितीका सदस्यले यस्तो अवस्थामा समेत हस्तक्षेप गर्न सकेन । तल्ला कमिटीको तत्कालीन माग जे जस्तो भएपनि बैचारिक रूपमा र सांगठनि रूपमा अनुशासनमा बस्नको लागी केन्द्रीयता लागु गर्न सकिन्थ्यो । केन्द्रीय सदस्यहरू आफै उम्मेदवार भएका कारणले पनि पार्टी नीति विरुद्ध जाने पार्टीका सदस्यहरूलाई अनुशासनमा राख्न सकेन । कतिपय केन्द्रिय सदस्यहरू आफै यस कृयाकलापको योजनाकार र कतिपय यसको मतियार भएको हुनाले पनि यस विषयलाई पन्छाउदै लगे । आफै उम्मेदवार भएका केन्द्रिय सदस्यले चुनाव हार्छु भन्ने डरले पार्टि र विचार केन्द्रित कार्यक्रम भन्दा आफु केन्द्रित कार्यक्रम संचालन गरे । केन्द्रीय अनुशासन आयोगका जिम्मेवार पदाधिकारी पनि यो समस्या समाधान गर्ने र ऐतिहासीक जिम्मेवारी पुरा गर्ने अवसरबाट चुके । बांके जिल्लामै रहेका पार्टीका केन्द्रिय सदस्य र एकजना अनुशासन आयोगका जिम्मेवार ब्यक्तिले समेत समस्या समाधान गर्न नसक्नुले पनि माओवादी पार्टि भित्रको ब्यक्ति केन्द्रित अवसरवाद कति हावि रहेछ भन्ने कुरा प्रमाणित गर्दछ । पार्टि भित्र गरिएको साधना (त्याग, तपस्या र बलिदान ) अन्ततः ब्यक्तिमा केन्द्रित भएको छ र आगामी दिनमा यस्ता कार्य हुदै गए भने माओवादी पार्टीको ओरालो यात्रा अझै तिव्र गतिमा जाने नै छ । पार्टि सत्तामा बसेका र स्थानीय सत्तामा बसेका ब्यक्तिहरूको यस्तो उन्माद वैचारिक रूपमानै नेतृत्वले ब्यवस्थित गर्न सकेन भने पार्टीलाई नै जीवन पद्धतीमा रूपान्तरण गरेका र पार्टी प्रति नै जीवनको भविष्य देखेका लाखौं युवाको भविष्यमा गम्भिर खेलवाड गरेको ठहर्ने छ । यस विषयमा सर्वोच्च नेतृत्व सँग छलफल गरि निष्कर्ष निकाल्ने गम्भिरता समेत जिम्मेवार पदाधिकारिले गरेनन् र यो स्थितिको पार्टीले सामना गर्नु पर्यो ।
५.सत्ता गठवन्धनबाट ईमान्दार प्रयासमा कमिः सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादी लगायतको साझा उम्मेदवारको रूपमा रहेका माओवादी केन्द्रका आधिकारिक उम्मेदवारका विरुद्ध माओवादीका केहि कार्यकर्ताहरूले स्वतन्त्र उम्मेदवार बोकेपछि गठवन्धनको अर्को साझेदार कांग्रेसले केन्द्रिय नितीको अनुसरणमा ईमान्दारिता देखाउन सक्नु पर्दथ्यो र सोही अनूरूप आफ्ना चुनावी कार्यक्रमहरू संचालन गर्नु पर्दथ्यो । तर कांग्रेसले गठवन्धनलाई प्रतिगमन विरुद्धको लडाईको क्यामेष्ट्री भन्दा चुनावी गणित हेर्यो । चुनावी कार्यक्रममा माओवादीका आधिकारिक उम्मेदवारका विरुद्धमा माओवादी कार्यकर्ताहरूले नै फैलाएको भ्रमलाई चिर्न सकेन । कांग्रेसको आफ्नो कार्यक्रममा समेत स्वतन्त्र उम्मेदवारलाई बोकेका माओवादी कार्यकर्ताको समुहलाई किनारा लगाउन सकेन । यसले गर्दा माओवादीका आधिकारिक उम्मेदवारलाई झनै झड्का लाग्यो । यस्तो परिस्थितिलाई छल्न चुनावमा कांग्रेसले नयाँ शैली अपनायो । यो विवाद माओवादी पार्टि भित्रको अन्र्तविरोधको रूपमा ब्याख्या गर्यो र प्रदेश (क) लाई कम महत्व दिंदै प्रदेश (ख) मा चुनावी सकृयता बढायो । माओवादीका आधिकारिक उम्मेदवारका तर्फबाट सभा सम्मेलनमा कांग्रेसको झण्डा राख्ने, कांग्रेसको संघिय उम्मेदवारको फोटो राखेर मत माग्ने कामको मुल्यांकन कांग्रेसले गर्न सकेन भने समाजबादीले माओवादीका आधिकारि उम्मेदवार संग नितीगत र गठवन्धनको मर्म र भावना अनुसार अगाडि बढ्न र चुनावी कार्यक्रम समेत गर्न आवश्यक ठानेन । माओवादीका आधिकारिक उम्मेदवार एवं स्वतन्त्र ब्यक्ति ,वौद्धिक ब्यक्तित्व एवं सामाजीक कार्यकर्ताको तर्फबाट गठवन्धनलाई जिताउन इमान्दार प्रयास भयो साथै आफु जलेर भएपनि उज्याले दिने बत्ति जस्तै माओवादीका आधिकारिक उम्मेदवारको प्रयास पूर्णतः सफल रह्यो परिणामतः गठबन्धनका तर्फबाट कांग्रेसका दुवै उम्मेदवारको जित हुन पुग्यो ।
अन्तमा ः
आम निर्वाचन सकिएको छ । हामी सवैले निर्वाचनको परिणाम स्वीकार गर्नै पर्दछ । यो वा त्यो बहाना देखाएर परिणामलाई अस्वीकार गर्नु भनेको लाज छोप्नु बाहेक केहि होईन । जनताले सबै पार्टीको हैसियत देखाईदिएपछि त्यसै सत्यलाई स्वीकार्नु विकल्प छैन । माओवादी केन्द्रको पनि आकार स्पष्ट भएको छ । पार्टीको सिद्धान्त, विचार, राजनीति, संगठन, कार्यशैली, र योजनाको विषयमा पार्टि भित्र पक्कै पनि मतभेद हुन्छ नै तर समाधान गर्ने विधि र पद्धती भएन भने पार्टी रहदैन । स्वयं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पष्ट रूपमा भने झै पार्टि पहिलो विचारले चल्छ र अर्को विधी र पद्धतीले चल्छ भन्ने गम्भिर विषयलाई सोहि पार्टिको बिचारको रक्षा गर्ने र निती एवं सिद्धान्तको कार्यान्वयन गर्ने पार्टिका जिम्मेवार सदस्यको गैर जिम्मेवार र गैर राजनिती चरित्र जस्ता कृयाकलापले पार्टिलाई ओरालो यात्रामा लैजाने कुरा निश्चीत नै छ । यसको उत्कृष्ट नमुनाको रूपमा बांके क्षेत्र नं ३ (क) देखा पर्यो । राजनितीमा चासो राख्ने र पार्टि पद्धतीको सामान्य ज्ञान भएका ब्यक्तिहरूले यस विषयलाई गम्भिरतापुर्वक लिनु स्वभाविक नै हो । । लेखक ,पत्रकार, समाजसेवी ,राजनितीकर्मी र आम जनता यस विषयमा अनभिज्ञ रहेनन र सामान्य एवं विशेष प्रतिकृया दिईनै रहेका छन । यसै विषयमा लेखक नरेन्द्र जंग पिटरले ‘मैले बर्षातमा पनि घर जलेको देखेको छु’ भन्ने ब्यंगात्मक टिप्पणी गरेका छन । माओवादी पार्टिले हिजोको गल्ती बाट पाठ सिकेर अगाडी बढ्न सकेन भने ईतिहासले कसैलाई पनि माफी दिने छैन । पार्टी भित्र हुने यस्ता गैर राजनितीक कृयाकलापलाई केन्द्रिय नेतृत्वले नजर अन्दाज गर्ने र चुप लागेर बस्ने हो भने आगामी दिनमा यस्तो परिपाटी र कृयाकलाप नजिरको रूपमा स्थापीत हुनेछ र कसैको पनि भलो हुने छैन । बांके जिल्लामा हेर्दा हेर्दै पार्टीको बेइज्जत गराएका ,माओवादी आस्थावान शुभचिन्तक एवम इमान्दार कार्यकर्तालाई निरास गराएका र पार्टी विरोधी कार्यमा संलग्न पार्टीका जिल्ला नेतृत्व सहितका कार्यकर्ताको अराजक कृयाकलापलाई अब्बल बैचारिक चिन्तन भएको माओवादी पार्टीले पार्टीको साख जोगाउन .एवम पार्टीनीतिको प्रतिरक्षाको लागि र सांगठनिक अनुशासन कायम गर्नको लागी नेतृत्वले कसरी लिन्छ र निर्णय गर्छ भविष्यमा हेर्न बाँकी नै छ ।










