सेवा प्रदायक निकाय माग

नरैनापुरले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न माग गर्दै कार्यालयका लागि चाहिने भवनको व्यवस्था गर्ने निर्णय गरेको छ ।


जिल्ला सदरमुकाम सम्म आइरहन समस्या भएको भन्दै नरैनापुर गाउँपालिकाले इलाका प्रशासन, मालपोत र नापी कार्यालय गाउँमै स्थापनाका लागि माग गरेको छ ।


त्यसका लागि अग्रसरता देखाएको नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले त्यसका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको हो ।


प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार गाउँपालिकाले पहल लिएको बताए ।


एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।


नरैनापुर गाँउपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज भएकाले पालिकाले पहल लिएको अध्यक्ष शाहको भनाइ छ ।

‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ,’ अध्यक्ष शाहले भने, ‘इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाउँपालिकाले गर्ने छ ।’

विकास निर्माण लगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरे पनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया