प्राकृतिक प्रकोप तथा भुकम्पीय जोखिममा रहेका नेपालगन्जका घर तथा भौतिक संरचनाहरुको विमा पहल थालिएको छ ।
त्यसका लागि जिल्लास्थित निर्जीवन विमा कम्पनीका प्रतिनिधिहरुसंग आइतवार छलफल गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका भित्रका घर तथा संरचनाहरुको विमा गर्ने विषयमा शुरु गरिएको पहललाई पुष ७ गते विहिबार अब फेरि अर्को बैठक बसेर निष्कर्षमा पुग्ने गरी छलफललाई निरन्तरता दिइने बताइएको छ ।
नेपालगन्जमा आयोजित ‘निर्जीवन विमा कम्पनी तथा स्थानीय सरकारका बीचमा विमा निर्देशिका सम्बन्धि समन्वयात्मक बैठक’ मा नेपालगन्ज भित्रका घर तथा संरचनाहरुको विमा गर्ने विषयमा छलफल गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना भएको समन्वयात्मक बैठकमा विपतपछि सिर्जना हुने अवस्थालाई मध्यनजर गर्दै पीडितलाई विश्वसनीय र सामयिक आर्थिक राहत प्रदान गर्न निर्जीवन विमा कम्पनीहरुसंग सहकार्य गर्ने विषयमा छलफल गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत छलफल आयोजना गरिएको हो ।
छलफलमा निर्जीवन विमा कम्पनीका प्रमुख एवम् प्रतिनिधिहरुको संगठन, निप्स बाँकेका अध्यक्ष सुबोध श्रेष्ठले निश्चित मापदण्ड, कार्यविधि र संयन्त्र बनाएर अगाडि बढ्न सकिने बताए । उनले भत्किन लागेका घर वा संरचनाहरु विमाको दायरामा नआउने स्पष्ट पार्दै कुनै बाह्य शक्ति वा विपतले निम्त्याएको क्षतिमा भने राहत पाउने गरी विमा हुने जानकारी दिए ।
छलफलमा सहभागी विमा कम्पनीका प्रतिनिधिहरुले अधिकांश ठूला घर र संरचनाहरुको विमा भइसकेको जानकारी गराउँदै गरिब विपन्न तथा कम लगानीमा बनेका घरहरुलाई समेट्ने गरी कार्यविधि र कार्ययोजना बनाउनुपर्ने सुझाब दिएका थिए ।
विमा कम्पनी र नेपालगन्ज उपमहानगरपालिकाका बीचमा ’पब्लिक–प्राइभेट मोडल’ मा सहकार्य गर्न सकिने धारणा छलफलमा राखिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समितिका संयोजक बसन्तकुमार कनौजियाले वडा नम्बर ३ र ७ विपत (भूकम्प) को उच्च जोखिममा रहेकाले तत्काल ती ठाउँहरुबाट विमाको थालनी गर्ने गरी सहकार्य गर्न सकिने बताए । उनले जोखिमयुक्त ठाउँहरुमा स्थलगत अध्ययन गरेर अवस्था विश्लेषण गर्नुपर्ने बताए । कनौजियाले नागरिकलाई विपतपछि हुने क्षतिको मारबाट जोगाउन विमा जरुरी रहेको बताए ।
त्यसक्रममा युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले नेपालगन्जमा सम्भावित विपत, आवश्यक पूर्व तयारी, जोखिम न्यूनीकरणका उपाय र निर्जीवन निर्जीवन कम्पनीहरुसंगको सहकार्यका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले सहजीकरण गरेको बैठकमा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मीले बोलेका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उप–सचिव गोर्खबहादुर थापा, इन्जिनियरहरु सुरज शर्मा, भुपेन्द्र बोहरा, निमेश शर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यपालिका सदस्यरुहरु, करिब एक दर्जन निर्जीवन विमा कम्पनीका प्रमुख एवम् प्रतिनिधि लगायत उपस्थित थिए । उनीहरुले निर्जिवन विमाका विषयमा आफ्ना जिज्ञासा तथा धारणा राखेका थिए ।










