नेपालगन्जमा रगत अभाव

मध्यपश्चिमको मुख्य उपचार केन्द्रका रूपमा रहेको नेपालगन्जमा रगत अभाव देखिएको छ । नेपालगन्ज स्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव देखिएको हो । सामान्यतया गर्मीका समयमा मात्रै रगत अभाव हुने गरेको नेपालगन्जमा यसपटक अनुकुल मौसममा पनि रगत अभाव भएको हो ।

चर्को गर्मीका कारण संस्थागत रक्तदानमा कमी आउँदा ब्लड अभाव हुने नेपालगन्जमा यसपटक चिसो मौसममा समेत रगत अभाव भएको हो । ब्लड बैंकका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले चाडपर्व लगत्तै निर्वाचन हुँदा संस्थागत रक्तदानका कार्यक्रममा कमी आउँदा रगतको अभाव भएको बताए । ‘हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्कमा छौं’, उनले भने, ‘अब नियमित रक्तदान हुनेछ र अभावको समस्या समाधान हुने विश्वास छ ।’

ब्लड बैंकमा रगत अभाव हुँदा बिरामीका आफन्त रगतका लागि भौतारिने गरेका छन् । ‘चाहिएको रगतको गु्रप नपाउँदा रक्तदान गरेपनि रगत पाउन समस्या भैरहेको छ’, भेरी अस्पतालमा उपचाररत् एक विरामीका आफन्तले भने, ‘अन्य गु्रपको रक्तदान गर्ने व्यक्ति हुँदा पनि चाहिएको ब्लड ग्रुपको रगतसँग साट्न पाएनौं ।’

ब्लड बैंकका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले विभिन्न संघ, संस्थाले रक्तदानका लागि अनुरोध गरेकाले अब रक्तदान नियमित रूपमा हुने विश्वास व्यक्त गरे । ‘कहिले कुन त कहिले कुन, रगत अभाव हुने गरेको छ’, उनले भने, ‘रक्तदानका कार्यक्रममा पनि ठूलो भोलुममा रक्तदान नहुँदा अभाव हुने गरेको हो ।’

बिरामीका आफन्तले रगत नपाएपछि सामाजिक सञ्जालमा समेत पोष्ट गरेर रक्तदानको आव्हान गर्दै आएका छन् ।
स्वास्थ्य उपचारका दृष्टिले नेपालगन्ज मध्य तथा सुदूरपश्चिम क्षेत्रकै हबको रूपमा छ । मध्य र सुदूरपश्चिमबाट उपचारका लागि सयौं बिरामीहरू दैनिकजसो नेपालगन्ज आउने गर्दछन् । बिरामीहरूलाई उपचारका क्रममा रगतको आवश्यकता पर्छ । ‘तर, आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्ने हुन्छ’, प्रमुख रेग्मी भन्छन्, ‘कसैका आफन्तबाट रगतको व्यवस्था नहुने देखिएमा रगत दिनु नै पर्ने हुन्छ जसका कारण स्टकबाट रगत घट्दै जान्छ ।’

आपत्कालीन ठूलै घटना हुने हो भने त्यसलाई थेग्न सक्ने रगत अहिले रक्तसञ्चार केन्द्रको स्टकमा छैन । ‘कोहलपुर र नेपालगन्ज गरी दैनिक ५०/६० पिन्ट रगत माग हुने गरेको छ’, क्षेत्रीय प्रमुख रेग्मी भन्छन्, ‘सट्टा रगत उपलब्ध नहुने हो भने एकै पटक धेरै माग हुँदा समस्या देखिनेछ ।’ नेपालगन्ज स्थित ब्लड बैंकको कोहलपुर स्थित इकाइमा पनि रगतको मौज्दात पर्याप्त छैन । त्यहाँ पनि आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको छ । तर, रगत अभाव हुँदा कोहलपुरबाट नेपालगन्ज र नेपालगन्जबाट कोहलपुर पुर्याएर समेत सकेसम्म अभाव थेग्ने प्रयास हुँदै आएको छ ।

कम्तिमा १ हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने जानकारी दिंदै क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जमा ३ हजार पिन्ट बढी मौज्दात क्षमता छ ।

स्वस्थ्य संस्था बढ्दै जाँदा रगतको माग बढ्नु स्वभाविक हो । पछिल्ला बर्षहरूमा रक्तदान कार्यक्रमको आयोजना गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । खासगरी अभावको समयमा र एकै दिनभन्दा समय मिलाएर रक्तदान कार्यक्रम हुने हो भने रगतको व्यवस्थापन गर्न सहज हुने प्रमुख रेग्मी बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया