नेपालमा चुनावको रन्को छ । मतपरिणाम आउँदै गर्दा पार्टीहरुको स्थितिको कथाकुथीको चर्चा छ । अब ककसको कस्तो समीकरण बन्ला ? रवि लामिछाने कुन गठबन्धनमा जालान ? को प्रधानमन्त्री होला ? आदि इत्यादिका बारेमा गल्ली र चोकका चिया पसल देखि राजनीतिका दाउपेच तयगर्ने ठाउँसम्म चर्चा चलेको छ । यसै बखतमा विश्व खेलकुदको महामेला फुटबलको विश्वकपको एक महिने मेला कतार जस्तो सानो देशमा चलिरहेको छ । त्यसको विश्वजगतमा बिभिन्न पाराले चर्चा भैरहेको छ ।
संसार कै एकल विधाको खेलमा यति ठूलो महामेला अर्को हुँदैन पनि । यसको चर्चा नहुने पनि कुरा भएन । संसारका हरेक देशका बालबालिकाहरु देखि वयस्क बृद्धसम्मले कुनै न कुनै रुपमा मनपराउने, आफैपनि कुनै न कुनै रुपमा खेल्ने गरेको खेलको चर्चा ब्यापक नै हुने भयो । नेपालमा त झन सानैदेखि लात्ते भकुण्डोको चर्चाबाट शुरु हुने खेल आज विश्व नै सबैको प्रविधिका कारण सबैको पहुँचमा रहेका बेला विश्वकप खेलको चर्चा झन हुने भयो ।
यो खेलको सबैभन्दा चर्चा हुने र यो खेललाई प्रतिष्ठाको बिषय बनाउने खासगरि यूरोपियन देशहरु नै हुन् । त्यहाँ पेट भर्न पाउरोटी मिलोस् नमिलोस् तर फुटबल भने हुनैपर्छ । यस्तो अवस्थामा उनीहरुका लागि फुटबलको चर्चा हुने नै भयो ।
सन् २०१२ मा विश्वकप आयोजनाको बोली लाग्दै गर्दा कुनैपनि यूरोपियन देशलाई लागेको थिएन कि त्यसबेला एउटा मात्रै रंगशाला भएको, सानो भर्खर आर्थिक प्रगतिमा लम्किन लागेको देश त्यो पनि एशियाको देश, त्यसृैमाथि इस्लामिक आर्दश बोकेको मध्यपूर्व एशियाको देश कतारले फुटबलको विश्वकप आयोजना गर्ने ‘बिड’ जित्ने छ ।
यूरोपियनहरुमा भएको ‘हामी बाहेक संसार छैन । हाम्रो बाहेक संसारमा अरुको त समस्या नै हुँदैन । हामी बाहेक सभ्य कोहि छैन । हामीले बाहेक अरुले जानेको छैन । हामी बाहेक अरुले (यस्ता खेल त्योपनि उनीहरुका लागि प्रतिष्ठा नै मानिने खेल ) फुटबलको विश्वकप कतारजस्तो देशले गराउनु हुन्छ ।’ भन्ने अहंकारले उनीहरुलाई पोल्यो । त्यतिखेरै कतारले पैसाको बलमा चलखेल गरेर ‘बिड’ जितेको छ भन्ने आरोप पनि लगाइयो ।
कतार मध्यपूर्वमा रहेको प्राकृतिक ग्यासको भण्डार भएको देश हो । विश्व बजारमा बढ्दो इन्धनको मागले उसको अर्थतन्त्र झन भन्दा झन बलियो बन्दै गएका कारण कतार पनि आर्थिक हिसाबले कुनैपनि यूरोपियन देशसँग कुनै कुराले झुक्न चाहेको थिएन । मध्यपूर्वमा यूएइको दुबई राज्य पछि उदार देखिँदै गएको कतारका लागि यूरोपियनहरुका जुनसुकै आरोपहरु मिथ्या बनाएरै विश्वकफ फुटबल जसरी पनि गर्ने र उ कुनै कुरामा कमजोर छैन भन्ने देखाउने चुनौती थपिएको थियो ।
पश्चिमाहरुले कतार माथि अनेकौं आरोपहरु लगाएर उसलाई विश्वकप आयोजना गर्ने अवसरबाट बञ्चित गराउन चाहन्थे । यसका लागि यूरोपियनहरुले कतार राजतन्त्रात्मक मुलुक भएको, त्यहाँ लोकतन्त्र नभएको, मानवअधिकार हनन हुने गरेकोे भनेर आरोपित गर्न थाले र आजपर्यन्त आरोपित गरिरहेका छन् ।
यूरोपियन र अमेरिकनहरुले अनेकौं बहाना खोजि रहे विश्वकप आयोजना कतारले गर्न नपाओस् भन्ने । यसैका कारण पनि विश्वकप आयोजनाका लागि पूर्वाधार निमार्णमा सन् २०१४ देखि युद्धस्तरमा लागेको कतार कहिल्यै पछि फर्केन । यद्दपि निकै लामो समयसम्म (सन् २०१८ सम्म नै ) कतारमा विश्वकफ फुटबल हुन्छ वा हुन्न भन्ने संसय पनि बनिरहेको थियो । सन् २०२० मा शुरु भएको कोरोना महामारीका कारण त झन कतारमा हुने विश्वकप फुटबलको बारेमा निकै शंका उत्पन्न गराएको थियो ।
यहाँ एउटा कुरा निकै सोचनिय रहेको छ । अमेरिकनहरु अन्य देशलाई मानवअधिकार र लोकतन्त्र, विभेद समानताका कुरा गर्छन् तर त्यहि अमेरिकनहरु गैर अमेरिकन अप्रवासीहरुलाई अझ एशियनहरुलाई अमेरिकन नागरिक नै भएपनि दोश्रो पनि होइन तेश्रो दर्जाको रुपमा हेर्ने गरेका छन् भन्नेकुरा त्यहाँ रहेका अनेकौं इण्डियनहरुका बेलाबेलामा आउने गरेका आरोपले पुष्टि गर्छ । कालाहरु माथि बेलाबेलामा भैरहने दमन र गोराहरुको हेपाहा व्यवहार पनि देखिने गरेका छन् । हालै त्यहाँ भएको इण्डियन परिवारहरु माथिको श्रंखलाबद्ध आक्रमणहरु अमेरिकनहरुलाई शायद मानवाधिकारको राम्रो पालना गरेको लाग्छ होला ।
यूरोपियनहरु त झन आफु बाहेक अरुको अधिकार नै देख्दैनन् । आफ्नो बाहेक अरुको समस्या नै देख्दैनन् । उनीहरुले गरकोे सबै ठिक, अन्य (एशियन) देशले केहि गरे त्यो मानवअधिकार हनन्, विश्व कानून मिचेको हुन्छ । यो सोंचबाट ग्रसित रहेका यूरोपियनहरुलाई एशियन देश र उनीहरुको सँस्कृति र परम्परा नमान्दा, यूरोपियनहरुको आदेश नमान्दा सबथोक बेठिक नै लाग्ने गरेको छ ।
गत फरवरी महिनादेखि चलेको रुस युक्रेन युद्धका बेला त झन उनीहरुले खुलेरै आफ्नो अहंकारी चेहरा छर्लङ्ग देखाए । युक्रेनबाट बिस्थापन भएकाहरुलाई ‘हाम्रा जातिका सभ्य नागरिक कसरी शरणार्थी हुनसक्छन् ?’ भन्ने कुरा खुलेरै भन्ने गरे । उनीहरुलाई युक्रेनबाट रेस्क्यू गर्दा होस या उनीहरुलाई व्यवस्थापन गर्दा पहिलो दर्जाको रुपमा राख्ने गरेका आरोपहरु गैर यूक्रेनी नागरिकहरुले भोकेको बताएका खबरहरु आएका थिए ।
युद्धकै क्रममा यूरोप अमेरिकाले रुसलाई आर्थिक नाकाबन्दी लगाएको र उनीहरुले रुसबाट इन्धन खरिद नगर्ने कारोबार नगर्ने हौवा संसारभर फैलाए । गैर यूरोपियन देशहरुलाई रुससँग तेल ग्यास खरिद गर्न रोक लगाए । तर आफुहरुले भने खरिद गरिरहे ।
भारत र रुस बीचको परम्परागत मित्रतालाई जुनसुकै मूल्यमा कायम राख्न कटिबद्ध भारत सरकारको सोचले रुससँग तेल र ग्यासको आयात झन बढायो । यो कुरालाई लिएर तिलमिलाएको यूरोपले यूरोपियन यूनियनको राजधानी ब्रसेल्समा भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई घेराबन्दी गर्न मिडिया प्रयोग गरे । तर उनीहरुलाई त्यो घेराबन्दी त्यतिखेर आफ्नै लागि प्रतिृउत्पादक हुन गयो जब एस जयशंकरले यूरोपियनहरुलाई उनीहरुको नियत उनीहरुकै ऐनामा देखाइदिए । उनले भनेका थिए ‘यूरोपियनहरु आफ्नो माइण्डसेट न्यारेटिभबाट बाहिर आउन जरुरी छ । यूरोप आफ्नो समस्यालाई विश्वको समस्या देख्ने देखाउने र दुनिँयाको समस्या यूरोपका लागि कुनै समस्या नहुने ? त्यो माइण्डसेटबाट बाहिर आउ । म मेरो देशको स्वार्थबाट हेर्छु । मलाई मेरो देश पहिलो हो । म सिँगो यूरोपको जनसंख्या भन्दा बढि जनसंख्या भएको अर्थात डेढ अर्ब जनसंख्याको प्रतिनिधी हूँ । तिमिहरु (यूरोपियनहरु) ले गरे ठिक हामीले गरे बेठिक कसरी हुन्छ ?’ जयशंकरको यो हिम्मतिलो प्रतिप्रश्नले यूरोपियनहरु संसारका सामु नाङिएका थिए । उनीहरुलाई उनको आफ्नो भाषा सँस्कृति र परम्परामा घमण्ड छ भने अरुलाई घमण्ड हुनु नपर्ने कारण के छ ?
कतारलाई यूरोपियनहरुले हालमा लगाएको अर्को आरोप समलिङ्गीहरुका बीच यौन सम्बन्ध नभएको भन्ने हो । तर यूरोपियनहरुमा दर्जनौ विहे गर्नु छोड्नु, समलिङ्गी बीच यौन सम्बन्ध राख्नु उनको लागि गतिलो कुरा होला तर मध्यपूर्वका देश र दक्षिण एशियामा त्यो कुरा यहाँको सँस्कृतिको विरुद्ध नै हो । त्यसलाई स्वीकार गर्न यूरोपले बाध्य गर्न मिल्दैन ।
चीन र रुसमा विश्वकप फुटबल आयोजना गर्नेेबेला पनि उनीहरुले मानवअधिकार जस्तै अनेकौं लान्छाना लगाउन छोडका थिएनन् । यो सब उनीहरुको आफु बिशेष रहेको, संसारमा सर्वोच्व नागरिक भएको अहंकार मात्रै हो । यो अब विश्वलाई स्वीकार छैन । संसारका बिभिन्न सभ्यताको केन्द्र रहेका देशहरु भएको एशिया र दक्षिण एशियाका देशहरु अब यूरोपियन अहंकारबादबाट दब्न तयार छैनन् भन्ने यूरोप र अमेरिकाले बुझ्नै पर्छ ।
कतारले विश्वकप आयोजना गर्ने पूर्वाधार निर्माण गर्दा धेरै मजदूरहरुको मृत्यु भएको आरोप लागेको छ । यो पनि यूरोप र अमेरिकनबाट । यूरोप र अमेरिका मानवीय क्षति नभैकन बनेको भन्न सक्छन् त ? विकास निमार्णका बेला जेजति घटना हुन्छन् त्यो कतारमा मात्रै हुँदैनन् । अन्य देशमा पनि हुने गरेका छन् । यहि कुरा सत्य हो ।
यो विश्वकप खेलको पूर्वाधार निर्माणका बेला कतारमा पक्कैपनि धेरै अप्रवासी कामदारहरु, नेपालीहरुले पनि जीउज्यान गुमाएका छन् । तर सबैका ज्यान विश्वकपको पूर्वाधार निर्माणमा मात्रै गएको पक्कै होइन । मलेशिया र खाडीका अन्य मुलुकमा पनि नेपलीहरुको कम ज्यान गएको छैन । यसरी अप्रवासीहरुको जीउज्यान गएकोमा यूरोपयनहरु दुःखी भएको देखावटी नाटक मात्रै हो । यसैलाई बहाना बनाएर सानादेशलाई हेप्न र आफ्नो अहंकार देखाएको मात्रै हो । यो कुरा संसारले अब बुझ्नै पर्छ । यूरोपियनहरुको धर्म सँस्कृति परम्परा र गोरो छाला भएका संसारका सबैभन्दा उच्च दर्जाका नागरिक हुन भन्ने अहंकार बोलेको हो भन्ने बुझौं । आजपर्यन्त विश्वभरि बिरोधका झण्डा बोकाउने यूरोपियनहरुलाई भव्यस्वागत गरेर त्यहि कतारको भूमिमा भकुण्डो खेलाउन सफल भएको सानो तर स्वाभिमानी देश कतारलाई बधाई छ । बिभिन्न विरोध, अवरोध र आरोपहरुका बीच पनि तीनै यूरोपियनहरुलाई दिएको कतारी आतिथ्यताको झापड र भारतीय विदेशमन्त्रीको कोर्राले पक्कैपनि कुइरेहरुको आँखा खुल्नेछन् भन्ने आशा गरौं । यो विश्वकप सम्पन्न भएपछिका कयौं बर्षसम्म यूरोपियनहरुलाई कतारको सफल आतिथ्यताको छटपटी भै नै रहनेछ ।