‘सबै र सधैंभरीका लागि भरोसा’ भन्ने मुल नाराका साथ भरोसा बहुउद्देश्यीय सहकारी संंस्था लिमिटेडले सोमवारदेखि आफ्नो वित्तीय सेवा सुरु गरेको जनाएको छ ।

संस्थाले दिएको जानकारी अनुसार, बाँके जिल्लाभरी आफ्नो कार्यक्षेत्र रहेको यस सहकारीमा यस क्षेत्रका करिब ४० जना स्थानीय व्यापारी, बैंकर्स, कर्मचारी एवं संचारकर्मीहरु मिलेर ३ करोड चुक्तापुँजी कायम गरी संचालनमा ल्याएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले आफ्ना सदस्यहरुको संरक्षण र सम्बद्र्धन गर्दै गुणस्तरीय, भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग, ब्यापार, सेवा तथा अन्य व्यवसायिक उत्पादनशील क्षेत्रको लागि आवश्यक वित्तीय साधन जुटाई उक्त क्षेत्रहरुको विकासमा गतिशीलता ल्याउन सहयोग पु¥याउने गरि संस्थाले काम गर्नेछ ।
‘ग्रामीण एवं शहरी क्षेत्रमा उत्पादन एवं रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन विकास, विस्तार एवं प्रवद्र्धन गर्ने कार्यको लागि वित्तीय साधन उपलब्ध गराई सहयोग पु¥याउने योजना पनि हो’, रावलले सेवा शुभारम्भ गरिएको जानकारी दिंदै भने । ‘छरिएर रहेको पूँजीलाई एकिकृत गरी सहकारीको माध्यमबाट सम्पूर्ण सदस्यहरुको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराई देश विकासमा समेत महत्वपूर्ण योग्दान पुर्याउने उद्देश्यका साथ सहकारीको स्थापना भएको हो,’ प्रमुख कार्यकारी अधिकृत रावलको भनाइ छ ।
संस्थाले स्थापनाको अवसर पारेर मंसिर महिनाभरी आवद्ध हुने सदस्यहरुलाई एकसय एकदिने मुद्दति खातामा १३.५१ प्रतिशतको उच्चतम ब्याजदरको मुद्दति योजना ल्याएको जनाएको छ । ‘विभिन्न उमेर, समूह तथा अवस्थालाई ध्यानमा राखी उच्चतम ब्याजदर प्रदान गर्ने गरी १४ प्रकारका बचत खाताहरु तयार गरेको छ,’ रावलले भने । उनका अनुसार, ३ महिना देखि ५ बर्षसम्मको मुद्दति खाताहरु र ३ महिना देखि ३ बर्षसम्मको क्रमिक अवधि बचत खाताहरुमा अधिकतम १४.५० प्रतिशत सम्म ब्याजदरको निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।
संस्थाले व्यक्तिगत तथा व्यावसायिक आवश्यकताको परिपूर्तिका लागि विभिन्न शिर्षकमा कर्जाप्रवाह हुने समेत जानकारी गराएको छ । ‘आफ्नो कार्यक्षेत्रभित्र हुने आर्थिक, सामाजिक एवं व्यावसायिक क्रियाकलापहरुमा सदैव सहकार्य गर्दै सहकारीप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्दै युवावर्ग, महिला एवं उद्यमशील व्यक्तिहरुको भरोसाको रुपमा आफुलाई सावित बनाउने लक्ष्य लिएका छौं,’ प्रमुख कार्यकारी अधिकृत रावलले कारोबार सुरु गरिरहँदाका चुनौतीबारे भने ।
रावलले स्वदेशमै केही गर्न चाहने युवावर्गलाई समेट्दै उनीहरुको सीप एवं योजनालाई सार्थक बनाउन आफ्नो संस्था सदैब तयार रहेको जानकारी दिंदै भने, ‘थप व्यावसायिक तरिकाले व्यापार व्यवसाय एवं उद्योगी बन्न प्रेरित गरिनेछ ।’ भरोसामा बैंक तथा वित्तीय क्षेत्रकै अनुभवीहरु संगठित भएकाले पनि आफुहरु विद्यमान चुनौती छिचोल्दै अगाडी बढ्नेमा विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत रावलको तर्क छ ।










