नागरिक समाजसँग संवाद: निर्वाचन आचार संहितामा खबरदारी

नागरिक समाजका अगुवाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संवाद समूह बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेका निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।

कार्यक्रममा चुनावी प्रचार प्रसारको नाममा आचारसंहिता विपरित गाडी, व्यानर, झण्डा र स्टीकरको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांसले सचेततासँगै खबरदारीमा पनि जोड दिए ।

बाँकेस्थित नागरिक समाजको प्रतिनिधित्व गर्ने पेशागत संघ संगठनका प्रमुख, अधिकारकर्मी, चिकित्सक, कानून व्यवसायी, सञ्चारकर्मी, यूवा लगायतको सहभागिता रहेको कार्यक्रममा आसन्न निर्वाचन शान्तिपूर्ण बनाउन आचार संहिता पालना नै प्रमुख दायित्व भएकाले राजनीतिक दल, उम्मेदवार लगायतलाई आचार संहिता कार्यान्वयनका लागि दबाब दिइनु पर्नेमा औल्याइयो ।

निर्वाचन आचार सहिंता अनुगमन अधिकृत खडानन्द अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अंह भूमिका रहने भन्दै आवश्यक सूचना दिन र असल नागरिकको जिम्मेवारी वहन गर्न पनि आहवान गरे । उनले आचार संहिता उल्लंघन गर्ने जो सुकै किन नहोस्, सचेत गराउनेदेखि कारवाहीको दायरामा ल्याउने सम्मको कार्य गर्न आफुहरु नडगमगाउने स्पष्ट पारे ।

उच्च अदालत बार एशोसीएशन नेपालगन्जका अध्यक्ष शिवराज श्रेष्ठले आचार संहिता उल्लंघनका स–साना घटनातर्फ पनि ध्यान दिन आह्वान गर्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा ध्यानाकर्षण गराए ।

चिकित्सक संघ भेरीका सचिव डा दिनेश चौधरीले निर्वाचन आचार संहिता पालना गर्नु साझा दायित्व भएकाले सोही अनुसारको समन्वय र सहकार्य हुनु पर्ने आवश्यक्ता औंल्याए ।

चेम्बर अफ कमर्स, नेपालगन्जका अध्यक्ष सतिश अग्रवालले आचार संहिता उल्लंघनकर्तालाई दिइनु पर्ने सजाय सानो भएकाले पनि अटेरी गरिएको हुन सक्ने भन्दै कारवाहीको दायरा बढाउन सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले सामाजिक सञ्जालमा आउने आचार संहिता उल्लंघनका सूचनाले वास्तविक मीडिया मारमा परेको भन्दै आयोगकातर्फबाट आवश्यक नियमन र सहज सूचना प्रवाहको बातावरण मिलाइदिन पनि ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय अपाङग महासंघका प्रतिनिधि टेकराज जैसीले अपांगता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख उमा थापा, जिल्ला बार बाँके अध्यक्ष जनक बहादुर शाही, नेपाल पे्रस यूनियनका अध्यक्ष अर्जुन ओली, जिल्ला यूवा सञ्जाल उपाध्यक्ष मनमोहन बर्मा, उद्योगी÷व्यवसायी अगुवा ललीत रौनीयार, अधिकारकर्मीद्वय प्रकाश उपाध्याय, रविन्द्र कर्ण लगायतले बोलेका थिए । उनीहरुले पैंसा खर्च गरेर मतदाता प्रभावित पार्ने कार्य, दलका प्रचार प्रसारमा बालबालिका प्रयोग, सञ्चार माध्यमको हुन सक्ने दुरुपयोग, आचार संहिताको प्रभावकारी अनुगमन तर्फ अनुगमन अधिकृतको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमको सहजीकरण संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया