त्रिभुवन चोकमा हवाई फायर प्रकरण, आरोपी अझै फरार

शान्त त्रिभुवन चोक तिहार सुरु भएकै धनतेरशका राती एकाएक दुई समूह बीच भएको विवाद पछि हवाई फायर हुँदा त्रसित भयो । अबेर राती तिहारका बेला पटका पट्किएको आँकलन गरेका स्थानीय हवाई फायर भएको थाहा पाएपछि त्रसित भए । निर्वाचन नजिकिएको बेला भएको हवाई फायरले यहाँको शान्ति, सुरक्षा प्रति नै चिन्ता सुरु भयो । दुई समूह बीचको विवाद र पेस्तोल सहितका व्यक्तिको भिडियो सामाजिक सञ्जालमा आयो । त्यतिमात्रै होइन भाग्दै गर्दा प्रहरीले हानेर समेत एक जनालाई खसालेको भिडियो सार्वजनिक भयो । साता दिन अघिको घटनामा हालसम्म कोही पक्राउ परेका छैनन् ।

स्थानीय केही व्यक्तिले नै प्रहरीले मोटरसाइकलबाट खसालेका दोषीलाई भगाएकाले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको बताएको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी भन्छन्, ‘सबै समातिन्छन्, खोजी भैरहेको छ ।’

घटनामा प्रहरीले चार जनालाई दोषी किटान गरी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी बताउँछन् । ‘घटनाका अभियोगीहरू भारत तर्फ फरार भएको आशंका छ’, उनले भने । बाँके प्रहरी भारतमै लुकेर बसेको भएपनि खोजी गरेर भएपनि ल्याउने प्रयासमा जुटेको छ । प्रहरी अधिकारी भन्छन्, ‘भारतीय प्रहरीसँग समन्वय छ, अपराध गरेर भागेका अपराधी भएको ठाउँ खोजिरहेका छौं, पत्ता लागेमा भारतबाटै पनि ल्याइनेछ ।’

प्रहरीले घटनाका दोषीका रूपमा प्रदीप गुप्ता, रबि पुन, सन्तोष बाला र दुर्गेश तिवारीको खोजी गरिरहेको छ । उनीहरू मध्ये तीन जना यसअघि पनि अपराधमा सजाय पाएका व्यक्ति हुन् । उनीहरू केही महिना अघि मात्रै लागुऔषध तथा ज्यान मुद्दामा सजाय काटेर कारागारबाट छुटेका व्यक्ति हुन् । ‘दुई समूहले आफ्नो अस्तित्व देखाउन मापद पदार्थ सेवन पछि झडप गरेको र त्यसक्रममा हवाई फायर भएको अनुसन्धानबाट खुलेको छ’, प्रहरी अधिकारी भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया