एन्फा ग्राउण्ड काठमाडौंमा जारी मेट्रेस मेमोरियस सि डिभिजन क्वालिफायर–२०७९ खेलको प्रारम्भिक चरणमा नेपालगन्ज–११ ले ऐतिहासिक जीत हासिल गर्दै विजयी टिमको उपाधी हात पारेको छ ।
टिम प्रशिक्षक जनक केसीका अनुसार नेपालगन्ज–११ ले लिखुभुजी रामेछापलाई २ का विरुद्ध ३ गोल गरी दोस्रो चरणका लागि जीत हासिल गरेको हो । ‘सि डिभिजनका लागि योग्य बन्न नेपालगन्जले बाटो खनिरहेको छ’, प्रशिक्षक केसीले नेपालगन्जका लागि निशान डाँगी, राहुल गुरुङ र विनोद केवटले गरेको गोल सम्झिदै भने, ‘नेपालगन्जले मुलुकका ठूला क्लबसँग प्रतिस्पर्धा गर्ने क्षमता विकास गरिरहेको छ ।’
नेपालगन्ज–११ स्पोट्स क्लबका अध्यक्ष घनश्याम थापाले नतिजाले आफुलाई निकै उत्साहित बनाएको प्रतिक्रिया दिंदै दैनिक नेपालगन्जसँग भने, ‘दोस्रो चरणमा खेललाई अझ सशक्त बनाउन मलाई नेपालगन्जबासीको सहयोग आवश्यक छ ।’
तिहार बिदाका कारण शनिबार एन्फा ग्राउण्ड काठमाडौंमा प्रतियोगिता स्थगित भएपछि नेपालगन्ज प्रस्थान गरेका खेलाडीहरूसँगै रहेका अध्यक्ष थापाले भने, ‘नेपालगन्ज–काठमाडौं–नेपालगन्ज गरिरहँदा भैरहेको खर्च क्लबले एक्लै धान्न सक्ने अवस्था छैन ।’ उनले त्यसका लागि सहयोगको आवश्यकता आव्हान गरिएको बताए ।










