वेष्टर्नले गर्यो चार अर्ब बढीको कारोबार

वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले कोभिडको मार र अर्थतन्त्रमा आइरहेको समस्या बीच पनि पछिल्लो आर्थिक बर्षमा ४ अर्ब ३ करोड बढीको कारोबार गर्न सफल भएको जनाएको छ ।

शनिबार संस्थाको १३औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष श्याम केसीले भने, ‘सरकारले तोकेको दायरा भन्दा पनि बढी तरलताको व्यवस्थापन गरेर भुक्तानीको सुनिश्चितता गरिएको छ ।’ संस्थाका प्रबन्धक थानिश्वर पाण्डेयका अनुसार, ५२ करोड ब्यालेन्ससिट कायम गर्न सफल वेष्टर्नले २१ लाख ८४ हजार बढी बचत गर्न सफल भएको छ । ‘१५ प्रतिशत बोनस वितरण गर्दैछौं’, संस्थालाई बचतकर्ताको विश्वसनीय बनाउँदै अगाडि बढाइएको जानकारी दिंदै प्रबन्धक पाण्डेयले भने, ‘९ करोड २९ लाख ८८ हजार ३ सय शेयर पूँजी पुगेको छ ।’

३७ करोड २० लाख ७० हजार बढी निक्षेप संकलन गर्न सफल वेष्टर्नले ३५ करोड ७९ लाख ७९ हजार बढी रकम ऋण प्रवाह गरेको प्रबन्धक पाण्डेयले भने, ‘कुल कारोबार ४ अर्ब ३ करोड बढीको छ ।’ उनले कोभिडका कारण ठप्प अर्थतन्त्र तरलता अभावले झन् संकटमा पर्दै जाँदा पनि शेयरधनीहरूको विश्वास र समन्वयले संस्था नाफा कमाउँदै अगाडि बढेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख सल्लाहकार इश्वर पोखरेल, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे लगायतले सहकारीका चुनौति र सम्भावनाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न कारोबारी, संस्थामा योगदान पुर्याउने शेयर सदस्य, व्यवसायी प्रतिनिधि, कर्मचारी लगायतलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमको औपचारिक सत्रमा अध्यक्ष केसीले संस्थालाई जस्तोसुकै चुनौतिमा पनि भरपर्दो बनाउँदै अगाडि बढ्न शेयर सदस्यहरूसँगको बलियो समन्वयबाट सफल हुँदै अगाडि बढेको बताए । ‘आगामी बर्ष संस्थालाई अझ सबल र बलियो बनाउने आधारका रूपमा दीर्घकालीन योजना बनाइएका छन्’, अध्यक्ष केसीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया