आगामी मंसिर ४ गते हुने मतदानबाट प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बाँकेमा ३ प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्य चुनिने छन् । त्यसका लागि यसअघि २०७४ सालमा भएको निर्वाचनका विजयी तथा पराजितहरू पुनः उम्मेदवार बनेका छन् ।
वि.सं. २०७४ मा बाँके क्षेत्र नं. १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज यस पटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । माओवादीबाट उम्मेदवारी दिएर बाँकेबाट विजयी गहतराज सरकारमा मन्त्री समेत बनेका छन् ।
बाँके क्षेत्र नं. १ कबाट २०७४ मा प्रदेशसभाका लागि कृष्णा केसीलाई माओवादीले उम्मेदवार बनाएका थियो । उनी त्यहाँबाट विजयी भएकी थिइन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनेकी छन् ।
बाँके क्षेत्र नं. २ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मो. इस्तियाक राई विजयी भएका थिए । उनी मन्त्री समेत बने । सत्ता गठबन्धनबाट जसपा अलग्गिएपछि उनको मन्त्री पद हालै खोसिएको छ । जसपा केन्द्रीय नेता राई यसपटक पनि बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् ।
क्षेत्र नं. २ क मा तत्कालीन ससफो नेपाल विजय बहादुर यादव विजयी भएका थिए । उनी हाल सोही क्षेत्रबाट उम्मेदवार छन् । यादव आगामी निर्वाचनका लागि एमालेबाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनेका हुन् ।
नेपाली काँग्रेस उम्मेदवार सुरेन्द्र हमाल बाँके क्षेत्र नं. २ ख बाट २०७४ मा प्रदेशसभा सदस्य निर्वाचन भएका थिए । उनी लुम्बिनी प्रदेश सरकारमा मन्त्री समेत बने । हमाल यसपटक पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार रहेका छन् ।
बाँके क्षेत्र नं. ३ क बाट इन्द्र प्रसाद खरेल २०७४ को प्रदेशसभा निर्वाचनबाट निर्वाचित भएका थिए । माओवादी नेता खरेल आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार रहेका छन् ।
बाँके क्षेत्र ३ बाट २०७४ मा एमाले नेता नन्दलाल रोकाय प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए । उनी हाल उम्मेदवार छैनन् । त्यस्तै, क्षेत्र नं. ३ ख बाट विजयी एमाले नेता बाबुराम गौतम पनि यसपटक उम्मेदवार बनेका छैनन् ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा २०७४ को तुलनामा कतै उम्मेदवार बढेका छन् भने कतै घटेका छन् । जिल्लाका कुनै क्षेत्रमा २०७४ भन्दा उम्मेदवार दिनेको संख्या १/२ ले बढेको छ त कतै १/२ ले घटेको हो । वि.सं. २०७४ सालमा बाँके क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार १० जना रहेका थिए । २०७९ को आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाका ११ जनाको उम्मेदवारी परेको छ ।
वि.सं. २०७४ मा बाँके क्षेत्र नं. १ क मा १० जना, ख मा १० को उम्मेदवारी परेको थियो । आगामी निर्वाचनमा क बाट ८ जना र ख बाट ७ ले उम्मेदवारी दिएका छन् ।
बाँके क्षेत्र २ मा २०७४ को प्रतिनिधिसभा सदस्य पदमा १७ जनाले उम्मेदवारी दिएका थिए । आगामी निर्वाचनका लागि १६ उम्मेदवार रहेका छन् । २०७४ मा बाँके क्षेत्र नं. २ क मा १३, २ ख मा १५ उम्मेदवार रहेकोमा यस पटक क मा ११ र ख मा ११ बीच प्रतिस्पर्धा हुँदैछ ।
बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभाका लागि २०७४ मा ८ जनाको उम्मेदवारी परेको थियो । आगामी निर्वाचनका लागि ९ जनाको उम्मेदवारी कायम भएको छ । बाँके क्षेत्र नं. ३ क मा ९ जनाको उम्मेदवारी २०७४ सालमा परेको थियो भने समाचारदाता
बाँके जिल्लामा प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा क्षेत्र छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । प्रदेशसभा क्षेत्र नं १ (क) मा नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकदेखि ७ नं वडा पर्दछन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा कोहलपुर नगरपालिका र राप्तीसोनारीका ८ र ९ नं वडा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख २१ हजार एकसय मतदाता छन् भने प्रदेश १ (क) मा ५५ हजार आठ सय ४५ र प्रदेश १ (ख) मा ६५ हजार दुई सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा (वडा नं १६ र १७ बाहेक) पर्दछन् । यसैगरी प्रदेशसभा क्षेत्र नं २ (क) मा डुडुवा गाउँपालिका र नेपालगञ्जका वडा नं १३, १८, १९, २०, २१, २२ र २३ पर्दछन् ।
प्रदेशसभा २ (ख) मा नेपालगञ्जका १ देखि १२ तथा १४ र १५ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं २ मा ९७ हजार आठ सय ९ मतदाता छन् । प्रदेश २(क) मा ५० हजार तीन सय १३ र २ (ख) मा ४७ हजार चार सय ९६ मतदाता रहेका निर्वाचन कार्यालय प्रमुख पन्तले बताइन् । प्रतिनिधिसभा क्षेत्र नं ३ मा बैजनाथ, खजुरा र जानकी गाउँपालिका पर्दछन् । प्रदेशसभा ३ (क) मा बैजनाथ गाउँपालिका र खजुराका ५, ६, ७ र ८ नं वडा समेटिएका छन् ।
यस्तै ३ (ख) मा जानकी गाउँपालिका, खजुराका एकदेखि ४ नम्बर वडा र नेपालगञ्जका १६ र १७ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन् भने प्रदेश क्षेत्र नं ३(क) मा ६१ हजार पाँच सय ९६ र ३(ख) मा ५१ हजार सात सय २६ मतदाता छन् । बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख पन्तले बताइन् । उनका अनुसार अन्य मतदाताको संख्या नौ रहेको छ ।










