बहुआयामिक व्यक्तित्व स्वर्गीय महावीर प्रसाद गुप्तलाई नेपालगन्जमा सम्झना गरिएको छ ।

शनिबार गुप्तको स्मृति दिवस मनाइएको हो । बाँकेका सम्भवत पहिलो पत्रकारको रूपमा पहिचान स्थापित गरिरहेका स्वर्गीय गुप्तको साउन ९, १९९४ मा जन्म र २९ असोज २०४३ मा स्वर्गारोहण भएको परिवारले जनाएको छ ।
गुप्तको सम्मानमा स्थापना गरिएको श्री महावीर प्रसाद गुप्त हिन्दी साहित्य पुरस्कार समितिले शनिबार स्मृति दिवस मनाएको हो । नेपालगन्जका पूर्व नगर प्रमुख गुप्त पत्रकारिता, साहित्य र राजनीतिमा उत्तिकै सक्रिय व्यक्तित्व रहे ।
‘उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो’, बाँकेको पत्रकारिताको प्रारम्भमा निकै सक्रिय महावीर बारे चर्चा गर्दै उनका भतिजा समितिका अध्यक्ष विजय कुमार गुप्तले भने, ‘राजनीतिमा लागेर नेपालगन्जको विकासमा उहाँले कोरेको मार्ग रेखा ऐतिहासिक छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले महावीरलाई बाँकेकै पहिलो पत्रकारको पहिचान दिनुपर्ने बताए । उनले प्रथम पत्रकारका रूपमा महावीरले आफ्नो हक स्थापित गरेको चर्चा गर्दै पत्रकार महासंघले त्यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले पत्रकारिताको पूर्वार्ध विकासमा महावीरको योगदान चीरस्मरीण रहने बताए । उनले प्रथम पत्रकारका रूपमा बाँकेका महावीर र पण्डित योगेश्वर मिश्रबारे अध्ययन, सोध तथा बहसको आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा हुलाक कार्यालय नेपालगन्जका प्रमुख गोविन्द पाण्डे, अवधी स्रष्टा विष्णुलाल कुमाल, साहित्यकार कृष्णादेवी पाण्डे लगायतले महावीर बारे चर्चा गर्दै उनको योगदानलाई चीरस्मरणीय बनाउँदै जान स्मृतिकोष स्थापना सुझाव दिए ।
समितिले हिन्दी साहित्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै श्री महावीर प्रसाद गुप्त हिन्दी साहित्य पुरस्कार कृष्णादेवी पाण्डेलाई प्रदान गरेको छ । समितिका अध्यक्ष विजय कुमार गुप्ता र प्रमुख अतिथि शुक्रऋषि चौलागाईले पाण्डेलाई कदर पत्र र पुरस्कार रकम हस्तान्तरण गरे ।










