अख्तियारमा उजुरीको चाङ, ७० प्रतिशत फस्र्यौट

गत आ.व. २०७८/०७९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा ४ सय ७५ वटा उजुरी दर्ता भएका छन् । आयोगका अनुसार, नेपालगन्ज कार्यालयमा त्यसअघिको आ.व.बाट जिम्मेवारी सरेर आएका २ सय ७३ वटा उजुरी फस्र्यौट हुन सकेका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आ.व.को अन्त्यसम्म ७ सय ४८ वटा उजुरी फस्र्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फस्र्यौट गर्न सफल भएको छ ।
आयोगको बार्षिक प्रतिवेदन अनुसार, गत आ.व. २०७८/०७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका १५६ र गत आ.व.मा परेका मध्ये ३ सय ६८ गरी ५ सय २४ वटा उजुरी फस्र्यौट भएका छन् ।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा आ.व. २०७८/०७९ को अन्त्यसम्म रहेका ७ सय ४८ उजुरी मध्ये बिस्तृत अनुसन्धानका लागि ३५ वटा उजुरी गएका छन् भने १ सय ७७ वटा सिधै तामेली तथा सुझाव सहितको तामेली भएको उजुरीको संख्या ३६ रहेका छ । आयोगको प्रतिवेदन अनुसार, २ सय ७६ वटा उजुरीमा अन्य कारवाही भएका छन् । सम्पर्क कार्यालयमा विभिन्न माध्यम मार्फत परेका उजुरी मध्ये २ सय २४ वटा चालु आर्थिक बर्ष २०७९/०८० का लागि सरेर आएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा देशभर परेका उजुरी मध्ये ७० दलमलव ६ प्रतिशत उजुरी फस्र्यौट भएको जनाएको छ । अख्तियारको वार्षिक प्रगति प्रतिवेदनमा देशभर २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फस्र्यौट भएको जनाएको हो ।

जसअनुसार प्रारम्भिक छानबिनबाट तामेली ५ हजार ३ सय २, सुझाव सहित तामेली ४ सय ७४, बिस्तृत अनुस्न्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारबाही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार भ्रष्टचारसम्बन्धी सबैभन्दा बढी उजुरी मधेस प्रदेशमा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको छ ।

चार वटा जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवट अन्तर्गतको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक बर्ष २०७९/०८० को हालसम्म १ सय १६ वटा उजुरी दर्ता भैसकेका छन् । आयोगका अनुसार विभिन्न माध्यमबाट १ सय १६ उजुरी दर्ता भएका हुन् ।

सम्पर्क कार्यालयको तथ्यांक अनुसार, चालु आर्थिक बर्षको साउनमा ५६, भदौंमा ३९ र असोजमा २१ वटा उजुरी दर्ता भएका छन् । सम्पर्क कार्यालयमा हुलाक मार्फत ४२, समाचारपत्र मार्फत ४, लिखित निवेदन ३१, टोलिफोनबाट ९, इमेल मार्फत ३० वटा उजुरी दर्ता भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया