काँग्रेस सभापति भन्छन्, ‘मित्रवत् प्रतिष्पर्धा भनेको के हो ?

आसन्न निर्वाचनलाई लिएर अन्योलमा रहेको नेपाली कांग्रेस बाँकेले निर्वाचनमा होमिएको सन्देश दिएको छ । पहिलो गठबन्धनको अन्योलता र पछि उम्मेदवारीमै गुपचुपले अन्योलमा रहेको काँग्रेसले उम्मेदवारी दर्ता प्रक्रियापछि निर्वाचन अभियानमा होमिएको सन्देश दिन खोजेको छ ।


निर्वाचन तयारीलाई लिएर विहीवार भएको जिल्ला पार्टी बैठकपछि ‘विगत भुलेर कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन’ आव्हान गरेको काँग्रेसले ‘एक मनका साथ निर्वाचनमा होमिने’ निर्णय गरेको हो ।


‘गठबन्धन अनुसार जिल्लामा चुनावका लागि होमिने निर्णय भएको छ,’ काँग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलले विहीवारको बैठकपछि दैनिक नेपालगन्जसँग भने, ‘आफ्ना उम्मेदवारलाई जिताउने अभिभारासहित विभिन्न समितिहरु निर्णय गरिएका छन् ।’


सत्ता गठबन्धन अनुसार, बाँकेको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका महेश्वर गहतराज प्रतिनिधिसभामा र कृष्णा केसी प्रदेशतर्फ उम्मेदवार छन् । त्यहीँ गठबन्धनमा काँग्रेसका फुलाराम थारुमात्रै प्रदेशतर्फ उम्मेदवार छन् । भने, क्षेत्र नम्बर ३ मा काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर प्रतिनिधिसभा र बादशाह कुर्मी प्रदेशतर्फका उम्मेदवार छन् ।

सत्तारुढ गठबन्धनबाटै आइपी खरेलले प्रदेशतर्फको अर्काे टिकट पाएपनि गठबन्धन दलकै दलबहादुर सुनारले स्वतन्त्र उम्मेदवारी दिएर खरेलको बाटोमा अप्ठ्यारो पारिरहेका देखिन्छन् ।


क्षेत्र नम्बर २ को के हुन्छ ? बाँकी निर्वाचन क्षेत्रमा माओवादीसँग निर्वाधजस्तै देखिएको काँग्रेस–माओवादी गठबन्धन सहजै नदेखिएको बाँके क्षेत्र नम्बर २ बारे दैनिक नेपालगन्जको प्रश्नमा काँग्रेस सभापति गौडेल भन्छन्, ‘आफ्ना उम्मेदवारलाई जिताउने हो, मित्रवत् प्रतिष्पर्धा भनेको के हो ? केन्द्रलेनै जानोस् ।’

खासगरि, क्षेत्र नम्बर २ को खमा काँग्रेस–माओवादी दुबैको उम्मेदवारी परेपछि ‘मित्रवत प्रतिष्पर्धा’ गर्न नीति गठबन्धनको छ । ‘मित्रवत भन्दै दुबै उम्मेदवारलाई मत हालौं भनेर बदर गर्नु भएन, अर्काका उम्मेदवारलाई भोट माग्नुपनि भएन,’ सभापति गौडेलले भने, ‘हामी प्रष्ट छौं, हाम्रा उम्मेदवारलाई जिताउने हो ।’


विहीवार बसेको काँग्रेस बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर अनुगमन समिति र प्रचारप्रसार समिति समेत गठन गरेको जनाएको छ । बैठकले सभापति गौडेलको संयोजकत्वमा अनुगमन र उपसभापति गोपालप्रसाद अधिकारी संयोजक रहने गरी प्रचारप्रसार समिति गठन गरेको हो ।


पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार, समानुपातिक उम्मेदवार सहभागी बैठकले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमितिलाई पार्टी तथा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिएको सभापति गौडेलले बताए ।


बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले विगतका मनमुटाब र कमीकमजोरी विर्सिएर एकताबद्ध ढंगले निर्वाचनमा होमिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया