अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका सयौं घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका सयौं घर डुबानमा परेका छन् ।
बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् । अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले 8.10 मिटर पुगेको छ । राप्तीनदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

राप्तीनदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत स्थानमा बाढी आउँछ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत् आग्रह गरेको छ । बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारणहरु अहिले त्रसित् छन् ।

बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण
अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो ।
अधिकृत ज्ञवालीले भन्नुभयो, “चौफेरी गाउँका दर्जनौँ घरमा पूर्ण क्षति भएको प्रारम्भिक जानकारी छ, अझै पनि वर्षा रोकिएको छैन, बाढी घटेपछि मात्रै क्षतिको विवरण सङ्कलन गर्न सकिन्छ, अहिले पहिलो प्राथमिकता भनेको मानिसलाई सुरक्षित राख्ने हो ।” बाँकेका लल्लो तटीय क्षेत्रका करिब तीन सय घर डुबानमा परेका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ । वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पु¥याएको स्थानीयवासी गणेश गुप्ताले बताउनुभयो ।
राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँवासी त्रस्त छन् । घरभित्र पानी पसेपछि गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा राखिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अहिले पनि वर्षा भइरहको छ । वर्षाका कारण राप्ती नदीले खतराको तह पार गरेको छ ।
नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।










