बाँकेमा पनि डेंगुको संक्रमण बढ्दै गएको छ । भेरी अस्पताल नेपालगन्जमा मात्रै १४ दिनको अवधीमा २१ जनामा डेंगु पुष्टि भएको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिएका छन् ।
‘भेरीमा मात्रै गत असोज १ देखि गरिएको परीक्षणमा २१ जनामा डेंगुको पुष्टि भएको हो’, भेरीका प्रमुख मेसु चापागाईले भने, ‘संख्या यो भन्दा बढी हुनसक्छ ।’ डा. चापागाईंले डेंगु पुष्टि हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँछन् । ‘डेंगु पुष्टि भएपनि उपचारले निको हुन्छ, गम्भीर लक्षण भयो भने अस्पतालमै भर्ना भएर उपचार गराउनु पर्छ’, उनले भने, ‘भाइरल प्रकोपका रुपमा रहेकाले असोज अन्त्यसम्म डेंगुको संक्रमण कम हुने विगतको टे«न्ड छ ।’
देशभर डेंगुको संक्रमण बिरामीहरु फेला पर्दै जाँदा अस्पतालहरुमा चाप बढ्न थालेको छ । नेपालगन्जका मेडिकल, शिक्षण संस्था र सरकारी अस्पतालहरुमा दैनिक बिरामीहरुको चाप बढ्दै गएको हो । भाइरल संक्रमितहरु पनि डेंगुको आशंकामा परीक्षणका लागि पुग्ने गरेका छन् ।
पछिल्लो समय देशभर डेंगुको संक्रमण फैलिरहेको छ । तर, कुन प्रकारको डेंगु लागेको हो भन्ने प्रविधि अहिलेसम्म काठमाडौं बाहेकका जिल्लामा छैन । काठमाडौंको टेकु अस्पतालमा डेंगुको प्रकार परिक्षण गर्न सकिने प्रविधि भएपनि त्यो रिसर्चका लागि मात्रै प्रयोग हुने गरेको छ ।
पूर्व सतर्कता, रणनीति तथा स्वास्थ्य पूर्वाधार र उपचार तयारीका लागि डेंगुको प्रकार थाहा हुन आवश्यक रहेको रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे बताउँछन् ।
नगरप्रमुख विष्टलाई डेंगु, स्वास्थ्यमा सुधार
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई डेंगु पुष्टि भएको छ । डेंगु पुष्टि भएका उनी हाल उपचारमा रहेका छन् । शनिवार उनको स्वास्थमा सुधार आएको उनी सम्बद्ध स्रोतले जनाएको छ ।
उपमहानगरपालिकाका प्रेस सल्लाहकार नविन गिरीले डेंगु पुष्टि भएका नगर प्रमुख विष्टमा उच्च ज्वरो रहेको र उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएको जानकारी दिएका छन् ।
यसअघि भदौं अन्तिम साता उपमहानगरपालिकामा डेंगु नियन्त्रणका लागि सरोकारवाला बीच भएको छलफल कार्यक्रममा सचेतनामा जोड दिइएको थियो । पानी जम्ने ठाउँमा डेंगुको मच्छर विकसित हुने सम्भावना अत्याधिक हुने भएकाले त्यस्ता ठाउँको सरसफाईमा कार्यक्रममा जोड दिइएको थियो ।
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु नै प्रभावकारी उपाय रहेको बताएकी थिइन् । उनले उपमहानगपालिका भित्रै रहेको बाल्टी लगायतका सामाग्रीमा समेत लामखुट्टेको लार्भा देखेको भन्दै सबै सचेत हुनुपर्ने बताएको तेस्रो साता नै नगर प्रमुख विष्टलाई डेंगु पुष्टि भएको छ ।