यस बर्षको बडा दशैं सोमबारबाट शुरु भैसकेको छ । दशैंघर, घरघरमा जमरा राखेर शुभारम्भ भएको दशैं कोरोनाको संन्त्रासका दुईदुइवटा पीडाहरु पछिको हो । दशैं लक्षित उपत्यकाबाट आफ्नो थातथलो फर्किनेहरुको लाम निकै छ । गाडीका टिकट सक्किएका छन् ।

जहाजको टिकट सामान्य अवस्थामा भन्दा दुई गुणा बढि भएको छ । विगत दुई बर्षदेखि सामान्य अवस्थामा बडा दशैं मनाउन नपाएका आम नेपालीहरुमा यसपटकको बडा दशैं बिशेष हुनुपर्ने हो तर आम्दानीमा आएको ह्रासले यो दशैं सामान्य अवस्थाको भएर पनि खासै रौनकपूर्ण हुने देखिएको छैन ।

शहरबाट गाउँतिर फर्किने मानिसहरुको भीड देखिएता पनि त्यो थातथलोतिर भरिएर जाने पोकाहरु साना भएका छन् । काठमाण्डौं र देशका अधिकांश शहरहरुमा अवसरको खोजिमा पुगेको भीडले त्यहाँका बजारहरुमा पनि कुनै त्राण भर्न नसकेको धेरै कारोबारीहरुको भनाइ रहेको पाइएको छ ।

माघे संक्रान्तिबाट रौनकताको प्रतिक्षा गरेको नेपाली उपभोक्ता बजार यूक्रेन रुसको युद्धको छायाँ परयो । इन्धनमा भएको अत्याधिक मूल्यबृद्धिले हरेक सरसमानको मूल्य बढाएको छ । वित्तबजारमा देखिएको तरलताको अभावसँगै आयातमा परेको चापले विदेशी मुद्रा भण्डारमा भु्इँचालो आएको छ ।

डलरको बढ्दो भाउ र राज्यसँग आयात धान्न सक्ने विदेशी मुद्राको अभावले गर्दा ९० प्रतिशत आयातमा नै निर्भर बनाइएको नेपाली उपभोक्ता बजारमा हरेक समानको मूल्य आकाशिएको छ । महङ्गाइको थर्मामीटर लिएर बसेको राष्ट्रबैंकले भन्ने गरेको महङ्गाई दर भन्दा वास्तविक बजारमा कयौं गुणा बढि महङ्गाई छ ।

इन्धनमा बढेको २५० प्रतिशत मूल्यबृद्धि, खानेतेलमा शतप्रतिशत, पीठोमा ६० प्रतिशत र चामलमा ४० प्रतिशत बढेको मूल्यले नेपालीको भातभान्सा महङ्गो बनाएको छ । नेपाली राज्यसञ्चालकहरुलाई कहिल्यै नलाग्ने महङ्गाइले आम जनताको असहजता बुझ्न भने सकेको छैन ।

बर्षभरि सुखदुख गरेर चाडवाडमा परिवारसँगै बसेर मिठो मसिनो खाने, परिवारमा बर्षभरिका सुखदुःख साटासाट गर्ने नेपाल मौलिक परम्परा हो । यो मौलिक सँस्कृति र परम्परामा यसपटक महङ्गाइको बादलले नराम्रो गरि छोपेको छ । सामान्य अवस्थामा समेत नेपाली मौलिक चाड दशैं देखि निकै ठूलो पीडा महसुस गर्ने एउटा जमात जसले दशैंलाई बहिष्कार गर्ने देखि यसलाई बिकृति भनेर भडकाउने गथ्र्यो उसको लागि यसपटकको बडादशैं बहष्किार सरह बनाइदिएको छ ।

तराइदेखि हिमालसम्म र नेपालीहरु रहेका संसारका हरेक कुनामा मनाइने यो चाडको महत्व अन्य कुनै चाडहरुको भन्दा उच्च रहेको छ । हुन त यो चाडलाई सनातन सभ्यतामा हरेक समुदायले छुट्टा छुट्टै तरिकाले मनाउने गर्छन् ।

कसैले यसलाई नवरात्री ब्रतको हिसाबले मनाउँछ भने, कसैले यसलाई असत्य माथि सत्यको विजय, रावण रुपी बेथितिको अन्त्यको हिसाबले मनाउँछ । तर नेपालीहरुले मात्रै यो चाडलाई देवीशक्तिको पूजा, पञ्चबलि, कोतघरमा जमरा राख्ने, जमरा लगाउने, अक्षतालाई दहिमा मुछेर आफ्ना मान्यजनका हातबाट रातो र सेतो टीका लगाएर आर्शिबाद लिएर मान्ने चलन नेपाली सँस्कृतिमा मात्रै छ । यसरी मनाउने चलन सनातनभित्रै अन्य समुदायमा कतै छैन । यो मानेमा दशैं भनेको नेपाली मात्रको मौलिक र ठूलो चाड हो ।

नेपालमा आफ्नै मौलिक पात्रो चल्छ । मिति तिथिका अनसुारले मान्ने मनाइने चाडपर्वहरुको बाहुल्यता नेपाली सँस्कृतिमा रहेको छ । दशैं यस्तै मध्ये एक मूख्य चाड हो । आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म मनाइने यो चाड नेपाली मौलिकता, नेपालको बजार अर्थतन्त्र, नेपाली उपभोक्ताबजार, नेपालको साँस्कृतिक महत्व जस्ता अनेकौं कारणले पनि नेपालको राष्ट्रिय चाड हो । यो चाडले नेपालको हरेक पक्षलाई बोकेको छ ।

नेपालमा हरेक महिनाजसो कुनै न कुनै साँस्कृतिक या धार्मिक चाडपर्व पर्दछन् । जसलाई समय, स्थानबिशेषका आधारमा महत्व दिएको पाइन्छ । यस्तै चाडपर्वहरुको समष्टिगत रुपमा महापर्व, महाचाड, साझाचाडको रुपमा बडादशैं रहेको छन् । यसपर्वमा केटाकेटीहरुका लागि पीङ्ग, पैसा, घुमघाम, मामाघर, हजुबाआमाको बिशेष मायाममत्व र खानेकुराहरुको रोजीछाडी आदी हुन्छ भने, युवावर्गहरुमा बिभिन्न ठाउँमा घुम्ने, प्राकृतिक सौन्दर्यताको आनन्द उठाउने, बिभिन्न देवीदेवलहरुको दर्शन गर्ने, भेटघाट गर्ने अवसर रहेको हुन्छ ।

यसै गरी बृद्ध उमेर समूहका लागि आफ्ना आफन्तहरु, छोरा नातिनातिनाहरु, देश परदेशमा रहेका घरपरिवारका सदस्यहरुको आगमनले आँगन भरिभराउ हुने, बर्षभरिका आ–आफ्ना दुःखसुखका कथाबेथाहरु सुन्ने सुनाउने, आफ्ना शाखासन्तानलाई आर्शिबाद दिएर गद्गद हुँदै आत्मतृप्त हुने अवसर यो बडादशैंले दिन्छ ।

आज संसारका धेरै देशहरु र धेरै सभ्यतामा आफ्ना मान्यजनको खासै परिभाषा समेत पाइँदैन । कतै पाइन्छ भनेपनि त्यहाँ धनपैसा, पद र पावरले परिभाषित गरेको पाइन्छ । तर नेपाली सँस्कृतिमा साँस्कृतिक परम्पारिक हिसाबले, उमेर, वंशपरम्परा (टोपी) का आधारमा मान्यवर हुने, आदरणीय हुने परम्परा रहेको छ । यो नेपाली मौलिकताको खास विशेषता हो ।

दशैं नेपालीहरुको महत्वपूर्ण साँस्कृतिक चाड त आफैमा हो नै सँगसँगै नेपाली अर्थतन्त्रको महत्वपूर्ण इञ्जिन पनि हो । दशैंमा देशको अधिकांश जनता आआफ्नो थातथलोतिर जाँदै गर्दा अवसरको खोजिमा गएको व्यक्तिले कमाएको मध्येको ढुलो हिस्सा दशैं बोनस सहित गाउँघरतिर फर्किन्छ ।

दशैंलाई लक्षित गरेर गरिने किनमेल, घुमघाम, तिर्थाटन, पर्यटन, खानपीन आदिले नेपाली अर्थतन्त्रमा प्राणवायुको काम गर्छ । यसैले नेपालमा भाद्र महिना अर्थात तीज देखि ब्यापारिक मौसम शुरु भएर महाशिवरात्री, चैतेदशैं सम्म रहन्छ ।

नेपाल सरकार अर्थ मन्त्रालयको, उद्योग बाणिज्य संघ संस्थाहरुका बिगतका तथ्याङ्कहरु, भ्याट भन्सारका आम्दानीहरुले पनि नेपालको अर्थतन्त्रको झण्डै चालिस प्रतिशत चलायमान हुने यी दुई ठुला चाड दशैं र तिहारका दुई महिनामा नै हो भन्ने प्रष्ट छ । बर्षभरिका बाह्र महिनामा हुने ब्यापारको ठूलो हिस्सा मात्रै दुई महिनामा हुने भनेको नेपालमा मात्रै हो । संसारका अन्य मुलुकहरुमा यस्तो हुँदैन । यसकारण पनि नेपालमा यी दुई चाडहरुको साँस्कृतिक मात्रै होइन आर्थिक महत्व पनि त्यतिकै रहेको छ ।

भनिन्छ नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको नै नेपाली मौलिक चाडपर्वहरु हुन । हरेक आर्थिकबर्षको साउने संक्रान्तिबाट शुरु हुने नेपाली मौलिक चाडहरु र देशको अर्थतन्त्र पनि चाडपर्वमा आश्रित छ किन नभन्ने ?

नेपालमा पश्चिमाका आदेशपालकहरु, नेपाली अर्थतन्त्रलाई क्रिसमसको प्लास्टिकका रुख र इदको खजुरसँग लगेर गाँस्नेहरुलाई नेपाली मात्रैको महान चाड बडा दशैंको महत्वमा खोट देखिन्छ । साम्प्रदायिकता देखिन्छ । पशुहत्या र फजुलखर्ची देखिन्छ । आडम्बर र वाहियात कुरा देखिन्छ ।

अक्षतामा मुछेको चामल र दहिको हिसाब देखिन्छ । तर नेपालको मौलिकता, नेपाली सँस्कृति, नेपाली परिवारमा भएको मिलन र आत्मीयता, मानसम्मान, हाँसोखुशीको कुनै महत्व देखिँदैन । सरकारको बीना कुनै अग्रसरतामा आएको नेपाली अर्थतन्त्रको त्राणको कुनै महत्व देखिँदैन ।

दशैं मनाउनु हुन्न भन्नेहरुको जमातको, बिभिन्न बहाना बनाएर नेपालका देवीस्थान, देवलहरु, पर्व र मेलाहरु रोक्न योजनाबद्ध तरिकाले खटाइएका मतियारहरुको यहाँ कमि छैन । नेपाली सँस्कृति र अर्थतन्त्रको ढाड भाँचिने गरि चलाइएको प्रायोजित एजेण्डाले ‘यहाँ त चाहना भन्दा पनि बहाना चाहिन्छ खर्च गर्नका लागि’ भन्ने भाष्य स्थापित गरिएकोछ । यर्थातमा खर्चको मूलसिद्धान्त भनेको आवश्कता र चाहना हो ।

दशैं त नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण बाहना हो किन भन्न नसक्ने ? नेपालका नास्तिकहरु, यो देशमा मूल र कुल नभएका आयातित धार्मिक समुहहरु, मौलिक धर्मसँस्कृतिलाई गाली गर्नमा क्रान्तिकारी प्रगतिवादी देखिने तत्वहरु, नेपालीपनलाई सत्तोसराप गर्नेहरु र न्वारनको बल लगाएर, जिन्दगी भरिको अध्ययनको हरेक शब्दशब्द खर्चेर नेपालीत्वको उछितो काढ्नेहरुको पनि चुलो बल्ने वा ब्यापार चल्ने भनेको पनि नेपालका दशैं जस्तै मौलिक रैथाने चाडपर्वहरु कै बहानामा हो ।

दशैंको मुखमा परदेशबाट निकै उत्साहका साथ आफुले कमाएको सानोतिनो रकम भएपनि दशैं खर्चको लागि कम्मरमा बाँधेर लर्को लाएर घरतिर आउनेहरु, परिवारको खुशीका लागि विदेश गएर घर चलाउन पठाएको रकमले बचाएको नेपालको अर्थतन्त्र कुनै न कुनै रुपमा यो देशका मूलधर्मसँस्कृति, चाडपर्वकै कारण चलेको छ भन्न किन लजाउने ? खर्च गर्न बाहना त चाहिन्छ नै ।

त्यो यदि साँस्कृतिक पहिचान बचाउने चाहनाको बहाना हुन्छ भने किन कसैको टाउको दुख्ने ? उसो भए भेलनटाइन, न्यूएयर, क्रिस्मस, इद आदी खर्च गर्ने चाहना हुन कि बहाना ? कोकोहोलो र रोइलो नेपाली मूलधर्म सँस्कृतिका चाडमा मात्रै हुनुपर्ने कारण के छ ?

भूगोलका हिसाबले ९४औं स्थानमा रहेको नेपालको कुल जनसंख्याको ७९ प्रतिशत (सन् २०२१ को तथ्यांकलाई आधार मान्दा ) आज पनि गाउँ मैं बस्छ । यसैलाई आधार मान्दा पनि गाउँ र कृषिको अति नै निकट सम्बन्धलाई बुझ्न गाहे छैन । यस हिसाबले नेपालको सकल अर्थतन्त्रको केन्द्रबिन्दु गाउँ हो ।

देशको आर्थिक तथ्याङ्कले कुल जिडीपीमा गाउँको यानी कृषिको योगदान झण्डै २७ प्रतिशत रहेको देखाउँछ । यसर्थ दशैं भनेको वास्तविक रुपमा नेपालको गाउँको चाड हो । दशैंले गाउँमा रौनकता ल्याउनका लागि बजारमा किनमेलको चहलपहल हुनेगर्छ । शहरबाट गाउँतिर अर्थतन्त्रको प्रवाह पनि हुन्छ ।

हरेक नेपालीको हातमा धेरैथोरै रकम दशैंकै कारण हात पर्ने गर्छ । चाहे कर्मचारीहरुको दशैं बोनस होस, या पेश्कीको रुपमा, या सापटीको रुपमा होस या ज्याला मजदूरी र सहयोगका रुपमा । यसरी पाएको पैसा दशैंको किनमेल गर्दै घुमेर ब्यापारी र बैकहरुमा पुग्छ । नेपालको सकल अर्थतन्त्रको मूलथलो तिर अर्थको प्रवाह दशैंमा हुन्छ ।


बडा दशैंले अपवाद बाहेक हरेक नेपालीको अनुहारमा खुशी ल्याउँछ । आत्मसम्मान र मौलिकताको रक्षा गर्छ । नेपालीत्वमा रमाउन सिकाउँछ । पारिवारिक मिलन, खुशीहाँसो, आफन्तजनसँगको सामिप्यता, पारिवारिक दर्जानु्सारको मानसम्मानको नैतिकता सिकाउँछ ।

देशको अर्थतन्त्रलाई मात्रै होइन हरेक घरआँगनलाई र मनहरुलाई प्रफुल्लित बनाउँछ । जीवन जिउने इच्छा र आकाँच्छा बढाउँछ । हरेक शहरलाई गाउँको स्वादमा रमाउन सिकाउँछ ।

देशको आत्मामा उर्जा भर्छ । यसैले नेपाली मौलिक चाड दशैंको महत्व कम हुनसक्दैन । बडादशैं यो देशको मूल चाडको रुपमा परिचय कायम रहनुपर्छ । नेपाली मात्रको मौलिक चाड बडा दशैं २०७९ को उपलक्ष्यमा संसारभर रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक एवं मंगलयम शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया