प्रसिद्ध शक्तिपिठ, नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा ‘महाआरती’ गरिने निश्चित भएको छ । धार्मिक पर्यटकीय दृष्टिले निकै महत्व मानिंदै आएको महाआरतीका लागि पर्यटन व्यवसायीहरूले लामो समयदेखि पहल गर्दै आएका थिए । त्यसका लागि गरिएको पहल सफल भएको हो ।
‘विश्व पर्यटन दिवसको अवसर पारेर बागेश्वरी मन्दिरमा महाआरती गर्ने समझदारीले अन्तिम रूप पाएको छ’, पहलकर्ता नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले मंगलबार साँझ गरिएको सर्वपक्षीय निर्णय सुनाउँदै दैनिक नेपालगन्जसँग भने, ‘यसै बर्ष दशैंबाट नै महाआरतीको शुभारम्भ हुनेछ ।’ त्यसका लागि आज बुधबार विहान सरोकारवालाहरुको बैठक समेत बसेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकले बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटाएको हो । ‘त्यसका लागि आवश्यक पर्ने बजेट नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराउने छ’, सुरुवातमा तीन लाख रूपैयाँ बजेट सुनिश्चित गरेको जानकारी दिंदै नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यसलाई निरन्तरता दिने स्रोतको सुनिश्चिततामा सबैको साथ सहयोग आवश्यक हुन्छ ।’
धार्मिक रूपमा दानपुण्यको स्रोतबाट दैनिक महाआरतीको योजना गरिएपनि उपमहानगरपालिकाको आर्थिक सहयोगबाट प्रारम्भिक रूपमा मासिक कम्तिमा दुई पटक उचित दिन हेरेर महाआरती होस् भन्ने चाहना राखेको नगर प्रमुख विष्टको भनाइ छ । ‘उहाँहरू (नाट्टा)ले दैनिक महाआरतीका लागि पहल गरिरहनु भएको छ, हामी त्यसका लागि प्रारम्भिक सहयोगी मात्रै हौं’, नगर प्रमुख विष्टले भने, ‘बागेश्वरी मन्दिरलाई महाआरतीले थप आकर्षक र शक्ति सम्पन्न बनाउने विश्वास छ ।’
बागेश्वरीका मूल महन्त चन्द्रनाथ योगी, पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, हानका सचिव केशव न्यौपाने, डा. सुरेश कनोडिया, नाट्टा महासचिव झविलाल शर्मा, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजाल, लेखा अधिकृत लोकेन्द्र रावत सहितको सहभागितामा महाआरतीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । ‘अब कार्यान्वयन प्रक्रियाका लागि बुधबार बागेश्वरी गुठि सहित, सरोकारवालाहरूसँग बृहत छलफल गरिनेछ’, सिग्देलले सम्भवत महाअष्टमीबाट महाआरतीको शुभारम्भ गरिने प्रस्तावित योजना सुनाउँदै भने, ‘बागेश्वरी मन्दिरमा महाआरतीको निरन्तरता कुनै धर्म विशेषको भन्दा नेपालगन्ज र सिंगो बाँके जिल्लाको बृहत्तर विकासको सुत्रपात हो ।’
बागेश्वरी मन्दिर हिन्दुहरूको पवित्र शक्तिपिठ हो । काठमाडौं स्थित पशुपतिनाथ मन्दिर सँगको भगिनी सम्बन्ध रहेको बागेश्वरीमा भारतबाट बर्षेनी १०औं हजारको संंख्यामा भक्तजनहरू आउने गरेका छन् । ‘भारतीय भक्तजनलाई धार्मिक पर्यटकका रूपमा स्वागत गर्न र उनीहरूलाई नेपालगन्जमा केही दिन टिकाइराख्न महाआरती एउटा सुरुवात हुनसक्छ’, बाँके पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले महाआरतीको निर्णय महत्वपूर्ण भएकोले कार्यान्वयनमा जोड दिंदै भने, ‘यसमा सबैको चासो र प्राथमिकता हुनुपर्छ ।’
बागेश्वरीको बृहत्तर विकासका लागि डिपिआर अनुसार दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्ने कुरामा निरन्तर दबाब दिइँदै आएको छ ।