गठबन्धन गर्दैनौं : एमाले नेता भट्टराई


आगामी मंसिर ४ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।

शुक्रबार प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले एमाले एक्लै चुनावमा जाने बताएका हुन् । वर्तमान गठबन्धन अनैतिक भएको टिप्पणी गर्दै उनले विचार नमिल्ने पार्टीहरुको गठबन्धनको आलोचना गरे । उनले वर्तमान गठबन्धन सरकारका कारण विकृति, विसंगति, भ्रष्टाचार, महंगी बढेको उल्लेख गरे ।

राष्ट्रपतिले दिएको सुझावलाई वर्तमान सत्ता गठबन्धनले वेवास्ता गरेको आरोप लगाउँदै नेता भट्टराईले नागरिकता विधेयक बहुमतको आडमा जबर्जस्ती प्रतिनिधिसभाबाट पास गरिएको बताए । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको सन्दर्भमा धारणा राख्दै नेता भट्टराईले प्रतिनिधिसभा नै नरहेको अवस्थामा सबै विधेयक शुन्य हुने, प्रक्रियागत रुपमा प्रमाणिकरण गरेर कसलाई बुझाउने भन्ने अन्योल रहेको बताए । नेता भट्टराईले राष्ट्रपतिको कदम राष्ट्रिय एकता, राष्ट्रहितका लागि रहेको बताएका थिए ।

‘रुक्माङतलाई प्रधानसेनापतिबाट हटाउने निर्णय तत्कालीन राष्ट्रपति रामवरण यादवले देशहितकै लागि कार्यान्वयन गरेनन्’, नेता भट्टराईले भने, ‘राष्ट्रपतिले अहिले राष्ट्र पहिला भन्ने भावनाले काम गर्नुभएको छ ।’ उनले राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नैपर्ने अनिवार्य व्यवस्था संविधानमा नभएको जिकिर गर्दै संविधानमा ‘गर्नुपर्नेछ भन्ने शब्द रहेको र गर्नैपर्छ भन्ने शब्द नरहेको’ स्पष्ट पारे ।

नेता भट्टराईले एमालेको स्पष्ट धारणा प्रत्येक नेपाली नागरिकले नागरिकता पाउनु पर्छ भन्ने रहेको उल्लेख गरे ।
नेता भट्टराईले प्रतिनिधिसभा नै नरहेकाले प्रधानन्यायाधीश माथिको महाभियोग स्वतः खारेज भएको बताए । ‘प्रधानन्यायाधीले अब के गर्नुहुन्छ उहाँको कुरा हो तर उहाँमाथिको महाभियोग प्रतिनिधिसभा नै नरहेकाले खारेज भैसक्यो’, उनले भने ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया