बजार व्यवसाय धरायशी हुनेगरी राष्ट्र बैंकले नीति बनाउँदा मर्कामा परेको भन्दै त्यस विरुद्ध नेपालगन्जका उद्योगी, व्यवसायीहरु आन्दोलित भएका छन् ।

उद्योगी, व्यवसायीहरुको छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित उद्योगी, व्यवसायीहरु आज शुक्रबार नेपाल राष्ट्र बैंकलाई नीतिगत सुधारको दबाब दिन धर्ना दिन लागेका हुन् ।
‘राष्ट्र बैंकको नेपालगन्ज स्थित कार्यालय अगाडि एक घण्टा धर्ना दिन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आव्हान गरेका छौं’, बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले भने, ‘ठिक एक घण्टा धर्ना पछि राष्ट्र बैंकका निर्देशक मार्फत गभर्नरलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।’
त्यसपछि के हुन्छ ? पत्रकारहरुको जिज्ञासामा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आन्दोलनमा जानु बाध्यात्मक भएको भन्दै तत्काल नेपाल उद्योग वाणिज्य महासंघ सँगको समन्वयमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने बताए ।
अध्यक्ष मन्सुरीले बैंकहरुको चर्को ब्याजदर वृद्धिले कारोबार धराशयी भैरहँदा राष्ट्र बैंकले अघि सारेको नयाँ नीतिले बजार, व्यवसाय पूर्ण रुपमा ठप्प हुने दाबी गरे ।
‘राष्ट्र बैंकले कुल कारोबारको २०/२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नीति अघि सारेर नेपाली उद्योग, व्यवसायलाई धराशयी पार्ने अवस्थाको सिर्जना गरिरहेको छ’, अध्यक्ष मन्सुरीले पत्रकार सम्मेलनमा भने, ‘त्यस विरुद्ध आन्दोलनको विकल्प छैन, राष्ट्र बैंकले नसच्याएसम्म हामी चुप बस्न सक्दैनौं ।’

बैंकहरुको चर्को ब्याजदर वृद्धिले कारोबार धराशयी भैरहँदा राष्ट्र बैंकले अघि सारेको नयाँ नीतिले बजार, व्यवसाय पूर्ण रुपमा ठप्प हुने अवस्था
अब्दुल वाहिद मन्सुरी अध्यक्ष
नेपालगन्ज उद्योग वाणिज्य संघ
राष्ट्र बैंकको नियमन अभावमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण असुलीका लागि व्यवसायीलाई सात दिने सूचना पठाएर आतंकित बनाइरहेको गुनासो उनीहरुको छ ।
‘साँवा, ब्याज सात दिनभित्र बुझाउ भन्दै व्यवसायीलाई पत्र पठाउँदा सिर्जना भएको आतंकप्रति हाम्रो विरोध छ’, अध्यक्ष मन्सुरीले भने, ‘कोभिडले थलिएर बिस्तारै उठ्न खोजिरहँदा बढेको तस्करीले व्यवसाय धराशयी भैरहँदा पैसा कहाँबाट ल्याउने ?’
पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बैंकहरुको नाफा बढ्दै जाने उद्योगी व्यवसायीहरु बर्बाद हुँदै जाने अवस्थाको अन्त्य गर्न नेपाल राष्ट्र बैंकले तत्काल पहल थाल्नु पर्ने बताए ।
‘होइन भने उद्योग, व्यवसायमा ताला लगाएर यो पर्वका बेला आन्दोलनमा उत्रनु पर्ने थिएन’, निवर्तमान अध्यक्ष वैश्यले भने, ‘आन्दोलन रोक्ने हो भने राष्ट्र बैैंकले आफ्ना कदम सच्याउनु पर्छ ।’
संघका महासचिव ओलीले कार्यसमिति बैठक राखेर नै आन्दोलनमा जाने निर्णय गरिएको जानकारी दिए । ‘हामीले अर्को विकल्प देखेनौं’, पत्रकारसँग महासचिव ओलीले भने, ‘तस्करी रोक्न राज्य गम्भीर भएन, उल्टो करदाता व्यापारीहरुलाई आतंकित पार्ने गरी बैंकहरुले हरकत सुरु गरे ।’










