नेपालगन्ज भन्सार कार्यालय आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर रुपमा असफल भैरहेको छ । अवैध रुपमा मालासमान भित्रिएको नियमित गुनासो बीच नेपालगन्ज भन्सारले केही महिनादेखि आफ्नो लक्ष्य प्राप्त गर्न सकेको छैन ।
अघिल्लो आ.व.मा आफ्नो बार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्ने हो भने पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्य समेत प्राप्त गर्न सकेको छैन । भन्सार राजश्व असुलीमा गत बर्षको साउनमा लक्ष्यको १३१.४८ प्रतिशत भेटेको नेपालगन्ज भन्सारले चालु आर्थिक बर्षको साउनमा लक्ष्यको ७५.७१ प्रतिशत मात्रै मात्रै असुली गर्न सफल भएको छ ।
नेपालगन्ज भन्सारले गत असारमा लक्ष्यको ७८.१० प्रतिशत, जेठमा लक्ष्यको ७७.५४ प्रतिशत, बैशाखामा ७६.७६ प्रतिशत, चैत्रमा ७९.१६, फाल्गुनमा ८९.७४, माघमा ७७.३० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको थियो । गत आ.व.मा मासिक लक्ष्य साउन र असोजमा मात्रै हासिल भएको थियो ।
गत आ.व. मा नेपालगन्ज भन्सारले आ.व. २०७८/०७९ मा २५ करोड २१ लाख ६ लाख ६२ हजार रुपैयाँ लक्ष्य पाएकोमा २२ अर्ब ३१ करोड २६ लाख ६२ हजार रुपैयाँ भन्सार राजश्व असुल गरेको थियो । जुन लक्ष्यको ८८.५१ प्रतिशत हो ।
भन्सार राजश्व असुलीमा निरन्तर असफलता रहेपनि चालु आर्थिक बर्ष २०७९/८० का लागि अघिल्लो आ.व. २०७८/०७९ मा भन्दा चार अर्ब बढी लक्ष्य नेपालगन्ज भन्सारले पाएको छ ।
अघिल्लो आ.व. मा २५ अर्ब राजश्व असुलीमा असफल नेपालगन्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आ.व.का लागि लक्ष्य निर्धारण गरिएको हो ।
नेपालगन्ज भन्सारले चालु आ.व. २०७९/०८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार लक्ष्य निधारण गरेको हो । अघिल्लो आ.व. २०७८/०७९ मा नेपालगन्ज भन्सारले २५ करोड २१ लाख ६ लाख ६२ हजार रुपैयाँ लक्ष्य पाएको थियो ।
भन्सार एजेन्टको सचिवालय
नेपालगन्जमा भन्सार एजेन्डको सचिवालय कार्यालय सञ्चालनमा आएको छ । जमुनाह स्थित भन्सार कार्यालयको परिसरमा एजेन्टको सचिवालय सञ्चालनमा ल्याइएको हो ।
लामो प्रयास पछि भन्सार एजेन्टको कार्यालय सञ्चालनमा आएको कार्यक्रमको अध्यक्षता गरेका सम्बद्ध संगठनका अध्यक्ष विनोद दिनेश कुमार बानियाले बताए । उनले भन्सार एजेन्टको सचिवालय सञ्चालन सांठनिक गतिविधि सहज हुने धारणा राखेका थिए । कार्यालयका लागि भन्सार एजेन्सको केन्द्रीय कार्यसमितिदेखि जिल्लामा भन्सार कार्यालयको सहयोग रहेको उनले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगन्ज भन्सार प्रमुख, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
सहज तरिकाले काम गरिदिनुस् ः प्रजिअ
भन्सारमा सहज तरिकाले व्यवसायीहरुको काम गरिदिन बाँकेका प्रमुख प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले आग्रह गरेका छन् । उनले भन्सार एजेन्टको सचिवालय भवन उद्घाटन गर्दै भन्सारका कर्मचारी र भन्सार एजेन्टलाई व्यवसायीहरुको काम सहज गरिकाले गरिदिन आग्रह गरेका हुन् ।
व्यवसायीले ल्याएको समान भन्सार गराउन सहजीकरण गरिदिने हो भने अन्य क्षेत्रको भन्सार भन्दा त्यहाँको भन्सारमा काम सजिलो तरिकाले हुन्छ भन्दै यही भन्सार तर्फ व्यवसायी आकर्षित गर्न सकिने आशय व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘नत्र जहाँ सहज जाँचपाँच हुन्छ व्यवसायी त्यही भन्सारमा केन्द्रित हुन्छन् ।’
अवैध व्यापार नियन्त्रणमा भन्सार एजेन्ट संघको पनि सहयोग हुने आशा रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले चाडपर्वका बेला भन्सारबाट आवातजावत बढ्ने, व्यापार व्यवसाय पनि बढ्ने अवस्था भएकाले सीमा नाकामा फ्रन्ट लाइनमा काम गर्नेले आउने नेपालीहरुलाई राम्रो स्वागत, सत्कार र सहजीकरण गर्नुपर्ने बताए ।
‘नेपाल भित्र प्रवेश गरेको नेपालीले आफ्नो देश प्रवेश गर्दा सम्मान अनुभूति गर्दै सुरक्षित गन्तव्यमा पुग्न सहजीकरण गर्नुपर्दछ’, प्रजिअ खत्रीले भने, ‘त्यसका लागि सुरक्षाकर्मी, भन्सार कर्मचारी, भन्सार एजेन्टले सहजीकरण गर्नुपर्दछ ।’
अवैध आयात, निर्यात निरुत्साहित गर्न नेपालगन्ज उद्योग वाणिज्य संघ, भन्सार प्रशासन, सुरक्षाकर्मीको समन्वयात्मक भूमिका हुनुपर्ने प्रजिअ खत्रीको भनाइ थियो । ‘अवैध व्यापार नियन्त्रण गर्न अझै पनि प्रयास गर्नुपर्ने, प्रयास गर्नु पर्ने देखिन्छ’, उनले भने ।