किन त्रसित हुन्छन् व्यवसायी

कर, राजश्व, भन्सार भनेपछि नेपालगन्जका व्यवसायीको सधै गुनासो रहन्छ । आर्थिक क्षेत्रद्वारा आयोजित कुनै पनि कार्यक्रम यस्ता छैनन् जसमा व्यवसायीले व्यवसायीले कर, भन्सार, राजश्व लगायतका सरकारी कार्यालय सम्बन्धमा गुनासो नगरेको होउन् ।

कहिले अनावश्यक दबाब, भन्सार कडाई भएन, अनावश्यक छापा मारियो, फोन गरेर त्रास सिर्जना गरियो लगायतको गुनासो अब नियमित भैसकेको छ । औपचारिक कार्यक्रममा व्यवसायी गुनासो गर्छन्, सरकारी अधिकारी प्रतिबद्धता जनाउँछन्, कार्यक्रम सकिन्छ । त्यसपछि पनि अवस्थामा परिवर्तन हुँदैन । पुनः अर्को कार्यक्रममा त्यसखालकै गुनासो दोहोरिएर आउँछ ।

औपचारिक कार्यक्रममा बदमासी गर्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने माग व्यवसायिक क्षेत्रबाट नै आउँछ तर अनावश्यक व्यवसायीलाई सास्ती दिन नहुने व्यवसायीको माग हुन्छ । सरकारी अधिकारीले कुनै कर्मचारीले अनावश्यक रुपमा दबाब दिए, अनैतिक कार्य गरेको पाए जानकारी दिन र त्यसविरुद्ध तत्काल कारवाही गर्ने प्रतिबद्धता जनाउँछन् ।

तर, आजसम्म व्यवसायीको गुनासोमा औपचारिक रुपमा सरकारी पक्षले ठोस कदम चालेको छ न त व्यवसायीले नै औपचारिक फोरमका कुरा उठाउने बाहेकको कुनै थप आन्दोलनका कार्यक्रम गरेका छन् । ‘कार्यक्रममा विरोध जनाउने एउटा प्रक्रिया मात्रै भएको छ’, नेपालगन्जका एक व्यवसायी भन्छन्, ‘औपचारिक कार्यक्रम दुवै पक्षका लागि गुनासो र प्रतिबद्धताको औपचारिकतामा टुङ्ग्याउने काम भैरहेको छ ।’

राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नेपालगन्जका एउटा व्यवसायीको गोदाममा छापा मारेपछि राजश्व अनुसान्धानका कर्मचारीको विरोध मात्रै भएन छापा मार्न पुगेका कर्मचारीमाथि हातपात भयो । उक्त घटनामा संघका प्रवक्ता टंक धामी विरुद्ध मुद्दा पर्यो उनी धरौटीमा छुटे ।

त्यसपछि कर्मचारीका सम्बन्धमा के भयो भन्ने औपचारिक रुपमा जानकारी दिइएको छैन । व्यवसायीलाई कारवाही त भयो तर व्यवसायीले असुलीको आरोप लगाएको कर्मचारीको सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्ने काम सम्बन्धित कार्यालयले अझै गरेको छैन ।

‘नियम संगत काम हो भने अनावश्यक दुःख दिए मुद्दामा जान सकिने अवस्था खुला छ, तर व्यवसायीहरु आपसी दुस्मनी मानेर सम्बन्धित कार्यालयले सधै दुःख दिनसक्ने अनुमान गर्दै मुद्दामा जाँदैनन्, कतिपय बेला व्यवसायीको पनि त्रुटि हुने गरेको छ’, एक व्यवसायीले भने, ‘अब व्यवसायीले आर्थिक नीति, नियम, कानुनको पालना गर्ने, नीतिगत समस्या सुल्झाउन दबाब दिने र एक भएर अनावश्यक दबाबको प्रतिकार गर्ने हो भने समस्या हुँदैन ।’

‘अनावश्यक सताए कारवाही गर्छु’

पछिल्लो समय राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीले छापा मार्ने क्रममा भएको विवादमा संघका प्रवक्ता नै पक्राउ परेर धरौटीमा छुटे ।

संघका प्रवक्ता पक्राउ परेपछि आधिकारिकमा रुपमा नभनेपनि व्यवसायीले अनुसन्धानका कर्मचारीले असुली गरिरहेको आरोप लगाए । राष्ट्रसेवक कर्मचारीलाई छापा मार्ने क्रममा दुव्र्यवहार गरिएपछि कर्मचारी संगठन नै कारवाहीको माग गर्दै अघि बढ्यो ।

पछिल्ला घटनाले राजश्व अनुसन्धान र व्यवसायी बीच तिक्ततापूर्ण सम्बन्ध रहेको अवस्थामा राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारी बिहीबार नेपालगन्ज आएर व्यवसायीहरुको गुनासो सुनेका छन् । उनले व्यवसायीको गुनासो मात्रै सुनेनन् कुनै कर्मचारीले अनावश्यक सताएमा सूचना दिएर तत्काल कारवाही गर्ने समेत बताए ।

अनावश्यक छापा हान्न नपाइने उल्लेख गर्दै महानिर्देशक अधिकारीले राजश्व छली रोक्नु राजश्व अनुसन्धानको कार्य भएकाले त्यसलाई अन्यथा नलिन समेत व्यवसायीलाई आग्रह गरेका थिए । ‘अवैध व्यापार सत्रु हो’, उनले भने, ‘हाम्रो उद्देश्य सहजीकरण गर्ने हो, व्यवसायीलाई आतंकित गर्ने होइन ।’

महानिर्देशक अधिकारीले स्पष्ट रुपमा अवैध कार्य गर्ने व्यवसायी कानुनी दायरामा आउने र नियमसंगत काम गर्ने व्यवसायीलाई कर्मचारीले अनावश्यक दुःख दिए कारवाही गर्ने बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना तथा राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरको सहकार्यमा भएको ‘राजस्व अनुसन्धान विभाग र व्यवसायीहरु बिच अन्तरक्रिया कार्यक्रम’ व्यवसायीहरुले हाल भोगिरहेको समस्या सुनाउँदै राजश्वको फोन आउँदा त्रर्सनु पर्ने अवस्था आएको सुनाएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता तथा राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका अगुवा व्यवसायीहरुले आफ्ना समस्या सुनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया