लुम्बिनी प्राविधिक विश्वविद्यालय उद्घाटन
अर्को बर्ष केही विषयमा भएपनि विद्यार्थी भर्ना खोलिने तयारीका अगाडि बढेको उपकुलपति प्रा.डा. विनोद ढकालले बताएका छन् । समाचारदाता दैनिक नेपालगन्ज बाँकेको खजुरामा विश्वविद्यालय स्थापना बाँकेका लागि मात्रै नभई लुम्बिनी प्रदेशकै उपलब्धी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बताएका छन् । नेपालगन्ज स्थित डिभिजन वन कार्यालय परिसर भित्र रहेको भवनमा लुम्बिनी प्राविधिक विश्वविद्यालय उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले दीर्घकालीन विकासको योजना बनाएर काम गरिरहेको बताए । ‘शिक्षा र स्वास्थ्यमा दीर्घकालीन रुपमा परिवर्तन आउने गरी काम गरिरहेका छौं’, मुख्यमन्त्री केसीले भने, ‘समानुपातिक विकासका लागि बाँकेमा विश्वविद्यालय स्थापना गरिएको हो ।’ ‘खजुराको विश्वविद्यालय देशमा मात्रै होइन संसारमै नमूना बनाउने योजना हो’, मख्यमन्त्री केसीले भने, ‘त्यसैले विश्वविद्यालयमा राजनीति नहोस्, सबै मिलेर बनाऔं ।’ उनले हाल विश्वविद्यालयमा देखिएको राजनीतिक र त्यसबाट उत्पन्न परिस्थिति तर्फ संकेत गर्दै खजुरामा हुने विश्वविद्यालयमा त्यसखालको संरचना प्रतिबन्धन लगाउने अधिकार दिइने आशय व्यक्त गरेका थिए ।
मुख्यमन्त्री केसीले प्रदेशमा बौद्ध र संस्कृति विश्वविद्यालय संघ तर्फ रहेको भन्दै यस क्षेत्रको खजुरामा पहिलो प्रादेशिक विश्वविद्यालय स्थापना हुन लागेको बताए । ‘नेपालमा उत्पादित जनशक्ति बाहिर जानु नपरोस्, विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्नेले यही क्षेत्रमा सेवा गर्ने प्राथमिकता दिनुपर्ने, यहाँ बढी भएको जनशक्ति अन्य क्षेत्र तथा विदेशमा समेत पठाउन सक्ने अवस्थाको सिर्जना गर्ने उद्देश्य छ’, मुख्यमन्त्री केसीले भने । मुख्यमन्त्री केसीले स्वास्थ्यका क्षेत्रमा समेत उपलब्धीमूलक कार्य प्रदेशमा अघि बढाएको जानकारी दिए । उनले जटिल उपचार सम्भव नहुँदा भारतका अस्पताल रेफर गर्नुपर्ने र लग्दालग्दै कतिपयको बाटैमा ज्यान जाने अवस्थाको अन्त्य गर्न लुम्बिनीमै सबै सेवा उपलब्ध हुने अस्पताल बनाएर अन्य ठाउँमा सम्भव उपचार यही गर्ने अवस्था ल्याउनका लागि स्वास्थ्य क्षेत्रमा पनि सरकारले महत्वपूर्ण कार्य अगाडि बढाइसकेको जानकारी दिए ।
प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री बसीउद्दिन खाँको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद ढकालले विश्वविद्यालय सञ्चालनका लागि समय लाग्ने बताए । ‘जग्गा विश्वविद्यालय मातहत आउने निश्चित भएपनि त्यसका प्रक्रियाहरु बाँकी नै छन्’, उनले भने, ‘त्यसका लागि समय लाग्छ ।’ उपकुलपति ढकालले विश्वविद्यालयमा इन्जिनियरिङ्ग, कृषि वन, सूचना प्रविधि तथा पर्यटन विषयमा अध्यापन गराए दक्ष जनशक्ति उत्पादन गर्ने बताए । ‘विश्वविद्यालय सञ्चालनमा आएपछि अन्य क्षेत्रमा पनि क्याम्पस बिस्तार गर्न सकिन्छ’, उनले भने । प्रा.डा. ढकालले नयाँ प्रविधिको प्रयोग गरी व्यवसायिक तथा उद्यमशीलता सिकाउने विद्या विश्वविद्यालयबाट दिइने उल्ल्ेख गर्दै भने, ‘अहिले प्राविधिक शिक्षा पढ्दै गर्दा नै विद्यार्थीको सोच बाहिर जाने हुन्छ, उनीहरुलाई प्रदेश भित्र नै काम गर्न पनि उत्प्रेरित गरिनेछ ।’ ‘केही विषयमा भएपनि अर्को बर्षदेखि विद्यार्थी भर्ना खोलिनेछ’, उपकुलपति प्रा.डा. ढकालले भने, ‘विश्वविद्यालय जन्मेको छ, यसलाई अगाडि बढाउन सबैको साथ र सहयोगको आवश्यकता छ ।’
लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थले विगतदेखि नै विश्वविद्यालय प्रदेश सरकारको नीति तथा बजेटमा परेको भन्दै प्रक्रियागत रुपमा खजुरामा स्थापनाको निर्णय भएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले प्राविधिक शिक्षा देशको आर्थिक विकासका लागि एउटा पाटो भएको उल्लेख गर्दै त्यसका लागि सबै लाग्नु पर्ने धारणा राखेका थिए । विश्वविद्यालय स्थापनाका लागि लामो समय प्रयास गरेर यसअघि बजेट समेत विनियोजन गराएका खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले लामो प्रयासले सफलता प्राप्त गरेको बताएका छन् । उनले स्थानीय जनताले सहयोग गरेर सुरु गरेको क्यान्सर अस्पताल सञ्चालनमा आएको अब लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय समेत उद्घाटन भएकाले बाँकेको दुई वटा सपना पूरा भएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले विश्वविद्यालय स्थापनाको दुई बर्ष हुँदा पनि कुनै काम अगाडि नबढेपनि वर्तमान प्रदेश सरकारले दु्रत गतिमा काम अगाडि बढाउन थालेको बताएका थिए । उनले नेपालगन्जमा विश्वविद्यालयको कार्यालय स्थापना भएकोमा असन्तुष्टि व्यक्त गर्दै अस्थायी भएकाले तत्कालै खजुरा सार्न मुख्यमन्त्रीबाट आश्वासन पाएको बताएका थिए । प्रतिनिधिसभा सदस्य पूर्ण कुमारी सुवेदीले खजुरामा क्यान्सर अस्पताल स्थापना गर्दा खजुराले गरेको प्रयास उल्लेख गर्दै विश्वविद्यालयका बाँकी कामका लागि सबै लागि पर्ने बताइन् ।
त्यसअघि मुख्यमन्त्री केसी सहितको प्रदेश सरकारको टोलीले विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेको थियो । मुख्यमन्त्री केसीले जनकशिक्षा सामाग्रीले छापाखानाका लागि बनाईएको भवनको पनि अवलोकन गरेका थिए । प्रदेश सरकारले भोगाधिकार लिएर आवश्यक बजेट विनियोजन गरी त्यहीँबाट विश्वविद्यालय सञ्चालनको तयारी गर्ने खजुरा गाउँपालिकाका अध्यक्ष विकले कार्यक्रममा बताएका थिए ।










