११ जनाको लाइनमा प्रधानमन्त्री पत्नीदेखि सहमहामन्त्रीसम्म सिफारिस
बाँकेमा काँग्रेसले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस मापदण्ड विपरित गरिरहेको देखिएको छ । उम्मेदवार छनोट सिफारिस गर्न काँग्रेस केन्द्रले गत भदौ ९ गते गरेको परिपत्र पार्टीको विधान समेत प्रभावित हुने गरी सिफारिस गरिएको पाइएको हो ।
‘यो अवस्था आउनु दुःखद् हो’, प्रदेशबाट क्षेत्र हुँदै जिल्लासम्म आइपुगेका सिफारिस अध्ययन गरिरहेका काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले यतिमात्र भने, ‘केन्द्रले प्रत्यक्षका लागि योग्यता पुगेका तीन जना र समानुपातिक तर्फ समावेशी सिद्धान्तलाई ख्याल गर्दै बढीमा दुई जना सिफारिस गर्न परिपत्र गरेको छ, तर यहाँ दर्जन सिफारिस गरिएका छन् ।’
बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा सभापति गौडेल सहित तीन जना प्रत्यक्ष तर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । प्रदेश तर्फ केसी सहित ३ जनाको सिफारिस जिल्ला पठाइएको छ ।
बाँके क्षेत्र नं. २ मा भने प्रतिनिधिसभाका लागि उम्मेदवार पाउन धौ देखिएको छ । ‘गठबन्धनको डरले सबै समानुपातिक ताकिरहेका छन्’, काँग्रेस नेता भन्छन्, ‘निवर्तमान पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबैको दाउ समानुपातिक तिर छ ।’ क्षेत्र नं. २ ले प्रदेशतर्फको नाम टुंगो लगाएपनि प्रतिनिधिसभा टुंग्याउन सकेको छैन । सम्बद्ध स्रोतका अनुसार, गठबन्धनको अवस्था बुझ्न सिफारिस ढिलाई गरिएको हो । यद्यपि, निवर्तमान पार्टी सभापति किरण कोइराला र सुनिल सिंह हमालले उम्मेदवारको इच्छा व्यक्त गर्दै निवेदन दिएका छन् । ‘निरञ्जन सिजापतिले दुवै प्रदेश र प्रतिनिधिसभामा समेत दाबी गरेका छन्’, पार्टी स्रोतले भन्यो, ‘उनको प्रदेशबाट सिफारिस भैसकेकाले प्रतिनिधिसभामा सिफारिस हुँदैन ।’
बाँके क्षेत्र नं. ३ मा भने प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ९ जनाको नाममा ह्याभीवेट नेताहरु सिफारिसमा परेका छन् ।
पार्टी सम्बद्ध स्रोतका अनुसार, क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर र प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउवाको नाम समेत सिफारिस गरेको छ । उनीहरु तीन जना नै आआफ्नो जिल्लामा सिफारिस गरिएका उम्मेदवार हुन् । खड्कालाई सुर्खेत क्षेत्र नं. १ बाट सर्वसम्मत र डा. राणालाई कैलाली ५ बाट सिफारिस गरिएको छ । राठौंर बर्दिया २ मा छन् ।
‘सुशिल कोइराला पछि बाँके ह्याभीवेट नेताको पर्खाईमा छ’, काँग्रेसका स्थानीय नेता भन्छन्, ‘त्यसका लागि तछाडमछाड भैरहेको दृश्य यो सिफारिसबाट प्रष्ट हुन्छ ।’
निरन्तर दाबेदारीमा रहेका नेता बादशाह कुर्मी, संविधानसभा सदस्य आशा विक, महासमिति सदस्य मेघराज वली, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापति मो. नक्की खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, पूर्व महाधिवेशन प्रतिनिधि उत्तमराज घिमिरे र प्रदेश अधिवेशन प्रतिनिधि तेजेन्द्र कँडेल पनि सिफारिस गरिएको छ ।
यस्तै समानुपातिकतर्फ पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगन बहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।
‘सहमहामन्त्री राठौंर प्रतिनिधिसभा निर्वाचनका लागि अग्रपंक्तिमा छन्’, काँग्रेस सम्बद्ध स्रोतका अनुसार उनका लागि स्थानीय नेताहरुले समेत समर्थन बुझिएको दाबी गर्दै भन्छन्, ‘आरजु र खड्काको नाम अस्वभाविक रुपमा आएकाले यसले द्वन्द्व निम्त्याउने अनुमान चाहीँ गरिएको छ ।’
खड्का सुर्खेतबाट राणा कैलालीबाट सर्वसम्मत सिफारिस
बाँके क्षेत्र नम्बर ३ बाट ११ जनाको लाइनमा परेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर–१ बाट र डा. आरजु राणा कैलाली – ५ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले आ–आफ्नो क्षेत्रबाट खड्का र डा. राणाको नाममात्रै सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
सुर्खेत क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको प्रतिनिधि सभा एक क्षेत्रीय समितिका सचिव मोहन रानाले जानकारी दिए । खड्का २०७४ सालको चुनावमा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए ।
कैलाली–५ बाट कांग्रेसले डाक्टर राणालाई एकल नाम सर्वसम्मतिले सिफारिस गर्दा समावेशी समानुपतिकतर्फ भने १३ जनाको नाम सिफारिस गरिएको कांग्रेस कैलाली जिल्ला सचिव नृप सुनारले बताए ।
यस्ता छन्, प्रदेशतिरका दावी
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ क ले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ पहिलो नम्बरमा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, दोस्रोमा जिल्ला सचिव सुधांशु कोइराला, तेस्रोमा डुडुवाका सभापति विजयकुमार यादव सिफारिस भएका छन् । यसैगरी क्रमशः सचिन्द्रकुमार चौधरी, मंगलप्रसाद बर्मा, खिमबहादुर बुढाथोकी र जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी सिफारिमा परेका छन् ।
यस्तै समानुपातिक महिलातर्फ जिल्ला क्रमशः सहसचिव रेणु सिंह ठाकुर, लालमाया क्षेत्री, रत्न राणा, प्रदेश कमिटी सदस्यद्वय प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी र मिना कुमार बोहरालाई सिफारिस गरिएको छ । समानुपातिक पुरुषतर्फ हलिम खाँ, कुमार अधिकारी, हनिफ खाँ, पूर्ण सिंह ठकुरी, लक्ष्मण सिंह, श्यामबहादुर थापा मगर र अधिवक्ता इश्वरीप्रसाद ज्ञवाली सिफारिस भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश क्षेत्र कार्यसमितिले आज क्षेत्रीय कार्यसमितिलाई नामहरु सिफारिस गरेको हो । क्षेत्रीय कार्यसमितिले अब रायसहित जिल्लालाई नाम बुझाउनेछ । जिल्लाले प्रदेश र र प्रदेशले केन्द्रलाई रायसहित नाम बझाउनेछ ।
प्रदेश सभा–३ ‘क’ र ‘ख’ बाट नेपाली काँग्रेसले सम्भावित उम्मेदवार सिफारिस गरेको छ ।
काँग्रेसले प्रदेश सभा–३ ‘क’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा पूर्व पार्टी सचिव कपिलदेव शर्माको नाम सिफारिस गरेको छ । त्यससँगै चन्तराम थारु, केशवकुमार शाह, बिनोदकुमार थारु, टंकप्रसाद काफ्ले ‘आशिष’, देवबहादुर केसी, टिकाराम उपाध्याय, शरद रेग्मी र रामबहादुर विष्टको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।
समानुपातिकतर्फ भावना चौधरी (थारु महिला), श्रीदेवी थारु (थारु महिला), नाज्मा खातुन (मुस्लिम महिला), कोपिला शर्मा (महिला), कमला हमाल (महिला), कृष्णप्रसाद सापकोटा (खस आर्य), दशरथ थारु र पवनकुमार थारु (थारु) मा सिफारिस गरिएको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश सभा–३ ‘क’ बाट चन्तराम थारुलाई उम्मेदवार बनाएको थियो । उनलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल (आईपी)ले पराजित गरेका थिए ।
त्यस्तै, प्रदेश सभा–३ ‘ख’ बाट प्रत्यक्षतर्फ दुखिराम लोनिया, रामेश्वर कँडेल, राजेन्द्र आचार्य, देउफल यादव, दयाराम यादव र बोदिलाल न्यौपाने सिफारिसमा परेका छन् ।
समानुपातिक तर्फबाट भिमबहादुर बिक(दलित), रमेशकुमार सिजाली (जनजाती), नरबहादुर खड्का (खस आर्य), धर्मराज सुनार(दलित), मो. कमाल अन्सारी (मुस्लिम), रामचन्द्र गुप्ता(मधेसी), उमा थापामगर, चिनुमाया कुँवर र झुपकली मगर (झुकमाया) महिला कोटाबाट सिफारिसमा परेको प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्यले जानकारी दिए ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश सभा–३ ‘ख’ बाट नेता लक्ष्मीनारायण शाहलाई उम्मेदवार बनाएको थियो । शाहलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बाबुराम गौतमले पराजित गरेका थिए ।










