आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएर जिल्लाको नेतृत्वको ताकमा काँग्रेसका केन्द्रीय नेताहरु लामबद्ध देखिएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ९ जनाको नाममा ह्याभीवेट नेताहरु सिफारिसमा परेपछि प्रष्टसँगै उक्त संकेत देखिएको हो ।
पार्टी सम्बद्ध स्रोतका अनुसार, क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर र प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउवाको नाम समेत सिफारिस गरेको छ । ‘सुशिल कोइराला पछि बाँके ह्याभीवेट नेताको पर्खाईमा छ’, काँग्रेसका स्थानीय नेता भन्छन्, ‘त्यसका लागि तछाडमछाड भैरहेको दृश्य यो सिफारिसबाट प्रष्ट हुन्छ ।’
निरन्तर दाबीदारीमा रहेका नेता बादशाह कुर्मी, संविधानसभा सदस्य आशा विक, महासमिति सदस्य मेघराज वली, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापति मो. नक्की खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, पूर्व महाधिवेशन प्रतिनिधि उत्तमराज घिमिरे र प्रदेश अधिवेशन प्रतिनिधि तेजेन्द्र कँडेल पनि सिफारिस गरिएको छ ।
यस्तै समानुपातिकतर्फ पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगन बहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।
‘सहमहामन्त्री राठौंर प्रतिनिधिसभा निर्वाचनका लागि अग्रपंक्तिमा छन्’, काँग्रेस सम्बद्ध स्रोतका अनुसार उनका लागि स्थानीय नेताहरुले समेत समर्थन बुझिएको दाबी गर्दै भन्छन्, ‘आरजु र खड्काको नाम अस्वभाविक रुपमा आएकाले यसले द्वन्द्व निम्त्याउने अनुमान चाहीँ गरिएको छ ।’
त्यस्तै क्षेत्र नं. १ मा पनि प्रत्यक्षतर्फ नारायणप्रसाद गौडेल, माधवराम खत्री र हुर्मत न्यौपानेको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ नारायणप्रसाद सिग्देल, द्रोपदी ओली र लुटबहादुर केसी सिफारिसमा परेका छन् । गौडेल कांग्रेस बाँकेका सभापति हुन् ।
गठबन्धनका कारण बाँके क्षेत्र नं. २ भने अन्योलमै छ । क्षेत्र नं. २ मा भने उम्मेदवार सिफारिस भैसकेको छैन । ‘प्रदेशले जिल्लालाई सिफारिस गर्ने समयावधी आज बिहीबारसम्म रहेकाले साँझसम्म सिफारिस आउन सक्छ’, काँग्रेस बाँकेका सचिव सुधांसु कोइरालाले भने ।