नेपालगन्ज उपमहानगरपालिकाले अघिल्लो बोर्डको ‘गलत मनसायका कारण’ सार्वजनिक जग्गा व्यक्तिका नाममा हुन लागेको भन्ने आरोपको प्रतिवाद गर्दै तत्कालीन नगर प्रमुख डा. धवल समशेर राणाले आफुले पर्याप्त कागजी प्रमाणका आधारमा उक्त निर्णय गरेको धारणा सार्वजनिक गरेका छन् ।

‘हकभोगका लागि गरिएको दाबी, नगर विकासको निर्णय, नापी कार्यालयको फिल्ड उतार, नगरपालिकाको कानुनी शाखा र कानुनी सल्लाहकारको राय, सम्बन्धित वार्डले नापीलाई गरेको सिफारिस सहितका कागजातहरु बोर्डमा पेश भई छलफल गरी निर्णय भएको हो’, तत्कालीन नगर प्रमुख राणाले आफ्नो निर्णयको बचाउ गर्दै सोमबार पत्रकार माझ भने । त्यसका लागि आवश्यक कागजपत्र सहित प्रस्तुत भएका डा. राणाले आफु विरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा दुष्प्रचार गरिएको प्रतिक्रिया दिंदै भने, ‘बुझ्नुस् चुनाव आएको छ, यस्तै हो ।’ उनले आफुबाट त्यसखालको अपराध हुनै नसक्ने दाबी प्रस्तुत गरे ।
नेपालगन्ज उपमहानगरपालिकाको पूर्व कार्यपालिकाले घनश्याम बानियाँलाई १.२५ धुर जमिनको भनेर निर्णय गरेको थियो । कित्ता नम्बर २५ सोही जग्गा भएको दाबी गरिएको छ ।










