आकाशे पुल, सडक अस्फाल्ट र सिधनियाघाटमा टुवे पुलको मन्त्रीले गरे उद्घाटन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले विकासको काम गर्नेलाई मतदान गर्न आव्हान गरेका छन् । नेपालगन्जको धम्बोझी चोकमा सुर्खेतरोडमा निर्माण हुने आकाशे पुलको शिलान्यासका क्रममा मन्त्री राईले चुनावी भाषण दिएका हुन् । उनले आफ्नो मन्तव्यको क्रममा आफु मन्त्री हुँदा गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै कसले बाँकेका लागि के गर्यो त्यो बुझेर मतदान गर्न नागरिकसँग आग्रह गरे । ‘मैले शिक्षा, स्वास्थ्य, पूर्वाधारमा के गरे त्यसकालागि बहस गर्न तयार छु’, मन्त्री राईले भने ।
मन्त्री राईले जाती, धर्म र सम्प्रदायका नाममा राजनीति गर्ने दिन गएको भन्दै अब जनताले विकासको हिसाब माग्नु पर्ने आशय व्यक्त गरेका थिए । बाँकेमा चोक, चौराहका शालिकको विषयमा भैरहेको बहसको सन्दर्भमा मन्त्री राईले सामाजिक क्षेत्रमा योगदान पुुर्याउनेको शालिक निर्माण गर्नुपर्ने धारणा राख्दै उनीहरुको कदर हुनुपर्ने बताएका थिए ।
जसले काम गरेको हो त्यसले श्रेय पाउनु पर्ने र काम गर्दा अनावश्यक विरोध हुन नहुने मन्त्री राईको धारणा थियो । दुई कार्यकाल अरुले पनि बिताएका छन् उनीहरुले के के गरे भनेर बहस हुनुपर्दछ । मन्त्री राईले अस्पताललाई भेन्टिलेटर खरिद गर्न उपमहानगरपालिकामा पठाएको बजेट फ्रिज भएको तर्फ संकेत गर्दै आलोचना समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै विभागका महानिर्देशक अर्जुन जंग थापाले सुर्खेत रोडमा सडकको चाप बढ्दै गएकाले दुर्घटना न्यूनीकरण र सडक यात्रुलाई सहजताका लागि नेपालगन्ज–कोहलपुर सडक खण्डको विभिन्न ठाउँमा आकाशे पुल निर्माण गर्न लागेको जानकारी दिएका थिए । उनले विभागले नियमित रुपमा देशका विभिन्न ठाउँका सहरमा यसखालको कार्य गर्दै आएको र बाँके मन्त्री राईको क्षेत्र भएकाले प्राथमिकता पाएको उल्लेख गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जको विकासका लागि मन्त्री राईसँग गरिएको प्रस्ताव स्वीकार भएको भन्दै आगामी दिनमा विकासका लागि मन्त्रालयसँग समन्वय गर्ने बताएका थिए । उपप्रमुख कमरुद्दिन राईले मन्त्रालयले विकासका लागि छुट्याएको बजेट पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगायतले बोलेका थिए ।
यसैबीच मन्त्री राईले शनिबार नै नेपालगन्जको आकाशे पुल सहित सडक अस्फाल्ट तथा राप्तीको सिधनियाघाट पुगेर राप्ती नदीमा टुवे पुलको शिलन्यास गरेका थिए । उक्त सबै ठाउँको टेण्डर आव्हान भैसकेको छ । टेण्डर आव्हान भएपनि ठेक्कामा लाग्न भने समय लाग्नेछ ।










