सद्भावको भूमिका खेल्नेहरुलाई सम्मान

नेपालगन्जलाई धार्मिक र सामाजिक सद्भावको सहरका रुपमा स्थापित गर्न स्थानीयबासीले खेलेको भूमिकाको सराहना गरिएको छ ।

जिल्ला सद्भाव समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले धार्मिक, सामाजिक अगुवाहरुको सकारात्मक भूमिकाले नेपालगन्ज सद्भावको सहरका रुपमा स्थापित हुँदै गएको बताए ।

‘मानिसहरुले फरक धर्म र सम्प्रदायको सम्मान गर्दा आफ्नो धर्म र सम्प्रदायको पनि सम्मान हुन्छ भन्ने कुरा बुझ्दै गएका छन्’, प्रजिअ खत्रीले भने, ‘धार्मिक र साम्प्रदायिक हिंसाबाट अल्पसंख्यक र कमजोरहरुको नोक्सानी हुने गरेको दृष्टान्त छ ।’

प्रसिद्ध शक्तिपिठ बागेश्वरीका मूल महन्त, चन्द्रनाथ योगीले फरक धर्म र समुदायलाई अप्ठ्यारो पर्दा उभिन सक्ने समुदाय तयार हुनुपर्ने बताए । ‘सद्भावको अर्थ हिन्दुलाई समस्या पर्दा मुस्लिम, क्रिष्चियन र उनीहरुलाई समस्या पर्दा हिन्दु उभिन सक्ने वातावरणको सिर्जना हुनुहो’, महन्त योगीले नेपालगन्जमा हिन्दु, मुस्लिम, शिख, इसाइबीचको सम्बन्ध अन्तरधार्मिक र साम्प्रदायिक दृष्टि मानवीय स्तरमा रहेको बताए ।

सामाजिक सद्भाव समितिका अध्यक्ष दिपक लोधको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालयले सहजीकरण गरेका थिए । कार्यक्रममा मोहर्रम समितिका तर्फबाट सामाजिक सद्भावको क्षेत्रमा योगदान पुर्याउने सशस्त्र प्रहरीका एसपी जनक बस्नेत, डा. विनोद कर्ण, डा. वैभव टण्डन, पत्रकार चन्द्रेश्वर राज त्रिपाठी, इमरान हलवाई लगायतलाई प्रजिअ खत्री, संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी, जामा मस्जिदका पूर्व अध्यक्ष रहमान मिया, मौलाना कलिम अन्सारीले सम्मान गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया