नेपालगन्ज उपमहानगरपालिका माध्यमिक तहका विद्यार्थीहरुलाई ‘पढ्दै कमाउँदै’को अवसर प्राप्त हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले त्यसका लागि चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ बजेट विनियोजनको घोषणा गरे ।
आइतबार नेपालगन्ज–२० राँझा स्थित जय जनतामाविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम उद्घाटन गर्न पुगेका नगर प्रमुख विष्टले छेउमै रहेका उपप्रमुख कमरुद्दिन राईलाई देखाउँदै भने, ‘यसका अवधारणाकार नारायण सिग्देलले नै प्रत्यक्ष सहयोग पुर्याउनु हुने विश्वासका साथ हामी यो बजेट कार्यान्वयनमा लैजान प्रतिबद्ध छौं ।’
नगर प्रमुख विष्टले त्यसो भन्नु अघि ‘पढ्दै कमाउँदै’का योजनाकार शिक्षाविद् नारायण सिग्देलले सहभागीहरु माझ अवधारणा प्रस्तुत गरेका थिए । जुन अवधारणा नेपाल सरकारले मुलुकका सय बढी सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको छ । ‘पहिलो चरणमा नेपालगन्जले सानो मात्रामा मात्रै योजना कार्यान्वयनमा ल्यायो भने यसले तत्काल उत्पादन वृद्धिको देख्न लायक परिणाम दिन्छ’, सिग्देलले नगर प्रमुखको घोषणाप्रति उत्साह व्यक्त गर्दै भने, ‘यसलाई संस्थागत विद्यालयले त झन् तत्कालै सुरु गर्न सक्छ ।’
नगर प्रमुख विष्टका अनुसार, पहिलो चरणमा नगर भित्रका १५ वटा माध्यमिक विद्यालयमा नमूनाका रुपमा यो अवधारणा विद्यार्थीहरु माझ पुर्याइने छ । ‘योजनाको प्रभावकारिता हेरेर क्रमशः बजेट रकम बढाइँदै लगिनेछ’, नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने ।
जय जनतामाविका प्रधानाध्यापक राम बहादुर पाण्डेका अनुसार, विद्यालयमा आइतबार शिक्षाविद् नारायण सिग्देलले आफ्नो अवधारणा अनुसारको पढ्दै कमाउँदैका लागि योजना प्रारम्भ गरे । त्यसका लागि उपकार लघुवित्तले १ लाख ८१ हजार आर्थिक सहयोग समेत गरेको प्रधानाध्यापक पाण्डेले जानकारी दिए ।
सोही कार्यक्रममा विद्यालयले गरेको वृक्षारोपण नगर प्रमुख विष्ट, उपप्रमुख राई लगायतले शुभारम्भ गरे । विद्यालयले आफ्नो परिसर भित्र कपुर लगायतका ठूलो संख्यामा वृक्षारोपण गरेको जनाएको छ ।