अघिल्ला जनप्रतिनिधिले सपिङ्ग कम्प्लेक्स निर्माणका लागि पहल थालेको बागेश्वरी परिसरमा संरचना निर्माण कार्य सुरु भएको छ । आइतबार बागेश्वरी मन्दिरको पूर्व तर्फको खाली जग्गामा संरचना निर्माण सुरु भएको हो ।
बागेश्वरी मन्दिर परिसरमा रहेको उक्त जग्गामा बाल अधिकारको सुनिश्चितताका लागि आवश्यक ‘बाल उद्यान’ निर्माण गर्न सदरलाइन जग्गा एकिकरण आयोजनाको प्रथम चरणमा जग्गा छुट्याइएको दाबी सहित अदालतमा मुद्दा दायर भएको थियो । त्यससँगै उपमहानगरपालिकाले अघि सारेको सपिङ्ग कम्प्लेक्सको योजना र बजेट कार्यान्वयन अवरुद्ध भयो ।
‘अदालतको आदेश विपरित भए, नभएको अध्ययन बाँकी छ’, उजुरीकर्ता मध्येका अधिवक्ता विश्वजित तिवारीले दैनिक नेपालगन्जसँग भने, ‘अदालतको आदेश अवज्ञा हुन नदिन हाम्रो प्रयास रहन्छ ।’
२०७२ जेठ २४ गते तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश बम बहादुर श्रेष्ठ र न्यायाधीश केशवराज जोशीको संयुक्त इजलासले निवेदकको माग बमोजिम चिल्डे«न पार्क निर्माण गर्नु, गराउनु भनि उपमहानगरपालिकाका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसै आदेशलाई आधार मान्दै तत्कालीन नगर प्रमुख डा. धवल समशेर राणाको सपिङ्ग कम्प्लेक्सको योजना शिलान्यास नगर्दै तुहिन पुग्यो । ‘बागेश्वरी मन्दिर परिसरमा होटल वा रेष्टुरेन्ट बनाउनु उचित हुँदैन’, शिलान्यासको खबर बाहिरिएसँगै तत्कालीन नगर प्रमुख डा. राणाका राजनीतिक सल्लाहकार राप्रपा सहायक महामन्त्री ऋषिराज देवकोटाले प्रतिक्रिया दिंदै भनेका छन्, ‘आधुनिक चिल्डे«न पार्क सहितको सौन्दर्यकरण उपयुक्त हुन्छ ।’

नगर प्रमुख प्रशान्त विष्टले पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी १ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको भवन निर्माणको शिलान्यास गरे । सम्झौता अनुसार, पहिलो चरणमा दुई तले अत्याधुनिक भवन बन्नेछ । भवनलाई रेष्टुरेन्टका लागि उपयोग गर्ने भनिएको छ ।
नगर प्रमुख विष्टले भने मन्दिर दर्शनका लागि आउने भक्तजनहरुका लागि उपयुक्त हुने ‘सात्विक रेष्टुरेन्ट’ सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न लागिएको जानकारी दिए । उनका अनुसार, डिपिआर अनुसारको आधुनिक संरचनामा निकै कम जग्गाको उपयोग हुनेछ । ‘धेरै ठाउँ चिल्डे«न पार्ककै लागि हुनेछ’, नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘अदालतको भावना विपरित निर्माण कार्य हुनेछैन ।’
उपमहानगरपालिकाका प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराका अनुसार, करिब ५.५ कठ्ठा जग्गामा सटर निर्माण, पार्किङ्ग र फुटपाथ चिल्डे«न पार्क बनाइनेछ । ‘भवन निर्माणको जग्गा चिल्डे«न पार्कका लागि छुट्याएको ठाउँमा होइन’, प्राविधिक शाखा प्रमुख बोहराले दैनिक नेपालगन्जसँग भने, ‘अघिल्लो बोर्डले सपिङ्ग कम्प्लेक्स बनाउने निर्णय गरेको ठाउँमा डिजाइन परिवर्तन गरी भवन बनाउन लागिएको हो ।’











