रोकिएन गौबधको अपराध: ३ बर्ष १० महिनामा १३ मुद्दा

कानुनले गौबधलाई अपराध मानेर दण्डनीय बनाएको छ । हिन्दु धर्मावलम्वीहरुले गाई/गोरुलाई इश्वरका रुपमा पुज्ने गरेका छन् । त्यसैले सडकमा छाडिएका गाई, गोरुलाई स्थानीय तहले संरक्षण गर्दै आएका छन् । गाई, गोरुका लागि नेपालगन्ज उपमहानगरपालिकाले ठूलो लगानीमा कान्जी हाउस बनाएको छ । त्यहाँ उनीहरुका लागि अहाराको पनि व्यवस्था गर्दै आएको छ ।

गाई, गोरु मार्नु हुँदै भन्ने जानकारी सबैमा छ । मारे कारवाही हुन्छ भन्ने पनि छ । तर, पनि बाँकेमा गाई, गोरु मारिएको, अवैध रुपमा ओसारपोसार गरिएको घटना सार्वजनिक भैरहने गरेको छ ।

भारतबाट अवैध भित्र्याएर कृषि कार्यका लागि बाँकेकै बाटो हुँदै पूर्वी नाका पुर्याएर बंगलादेशसम्म गाई, गोरु तस्करी हुने गरेको छ । तर, कागजातका आधारमा तस्करी हुने गाई, गोरु प्रहरीले रोक्न सकेको पाइँदैन ।

प्रहरीले गाई, गोरु कसैले नमारोस् भनेर निगरानी गरिरहेको हुन्छ । गाई, गोरु काटिएको, मासुको कारोबार भएको थाहा पाउने बित्तिकै प्रहरीले कारवाही गर्दै आएको छ । यद्यपि, बाँकेका विभिन्न ठाउँमा गाई गोरु मारिइरहेको गुनासो पटकपटक आउने गरेको छ । तर, मुद्दाको गुनासो पटकपटक आउने गरेको छ । तर, मुद्दाको तथ्यांक हेर्ने हो भने गौबध मुद्दा न्यून पाइन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, ३ बर्ष १० महिनामा गौबधका १३ वटा मुद्दा दर्ता भएका छन् । आ.व. २०७५/०७६ मा २, आ.व. २०७६/०७७ मा ४, आ.व. आ.व. २०७७/०७८ मा ३ र गत आ.व.को बैशाखसम्म ४ वटा मुद्दा दर्ता भएका छन् ।

गाईको मासुसहित दुई पक्राउ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट मंगलबार प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।

गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनीहरुसँग गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया