बाँकेको कोहलपुर–१४ पार्वतिपुरमा एक दम्पत्तिको रहस्यमय मृत्यु भएको छ । मंगलवार बिहान एकैठाउँमा घरभित्र मृत भेटिएका श्रीमान श्रीमतीको ज्यान कसरी गयो भन्ने रहस्य पत्ता लगाउन प्रहरीलाई हम्मे परेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोली घटनाको रहस्य खोतल्न लागिपरेको जनाएको छ । आफ्नै घरमा सुतेको अवस्थामा मृत भेटिएका २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली एकवर्षदेखि सँगै थिए ।
‘हत्या वा आत्महत्या के हो भन्ने घटनास्थलबाट यसै भन्ने देखिन्न,’ इप्रका कोहलपुरका इन्चार्ज, डिएसपी ऐन मल्लले भने, ‘घटनास्थलमा प्रहरीले सघर्षको अवस्था पनि फेला पारेकाले रगताम्मे दृष्यले घटनालाई रहस्यमय बनाएको छ ।’
श्रीमान कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट र पत्नीको घाँटीमा डोरी पनि भेटिएकाले घटना थप रहस्यमय भएको प्रहरीको भनाइ छ ।
पोष्टमार्टम रिर्पोट आएपछि पनि घटनाको वास्तविकता खुल्ने विश्वासमा कोहलपुर प्रहरी छ । वारदात समयमा दाजुभाउजु घरको छतमा सुतिरहेको बताइएको छ ।