६२ हजार ४ सय ४२ प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको अनुमान
बाँके जिल्ला बाँकेमा मात्रै नभई पहाडी जिल्लामा हुने बर्षात्का कारण पनि डुबान हुने गरेको छ । पहाडी जिल्लामा धेरै बर्षा भएमा त्यसको असर बाँके भएर बग्ने नदी, नाला आसपासका गाउँ, बस्तीमा समेत पर्ने गरेको छ ।
बाँकेमा बर्षात्का कारण बाढी आउँदा प्रभावित हुनसक्ने स्थानीय तहका घरपरिवारको संख्या र आवश्यक जनसंख्याको अनुमान जिल्ला विपद् व्यवस्थापन समितिले गरेको छ । समितिले प्रकाशन गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना बाँके २०७९ मा जिल्लामा बर्षात्का बेला बाँकेका आठ स्थानीय तहका १३ हजार २ सय ५७ घर परिवार प्रभावित हुने अनुमान गरेको छ । समितिका अनुसार, जसमा रहने ६२ हजार ४ सय ४२ जना प्रभावित हुने अनुमान गरेको छ ।
समितिले विगतमा डुबानका कारण भएको क्षतिको आंकलन गर्दै सम्भावित तथ्यांक जारी गरेको हो । तथ्यांक अनुसार, नेपालगन्जमा ५१० घरका २ हजार ५ सय ७० जना, कोहलपुरका २ हजार ३४ परिवारका ८ हजार ८ सय ९२ जना, नरैनापुरका ३ सय ९१ परिवारका २ हजार ३ सय ९४ जना प्रभावित हुनसक्ने अनुमान गरेको छ । बर्षात्का बेला हुनसक्ने डुबानबाट राप्तीसोनारीका ३ हजार २ सय ७९ घरधुरीका १७ हजार ३ सय ९५, बैजनाथका १ हजार ५ सय ४० घरका ६ हजार ९ सय ४१, खजुराका १ हजार ४ सय ९५ घरका ५ हजार ७ सय ८० घरपरिवार, डुडुवाका ३ हजार ६ सय ८२ घरका १९ हजार ८ सय ५२ जना, जानकीका ३ सय २६ परिवारका २ हजार ३ सय १८ जना प्रभावित हुनसक्ने अनुमान जिल्ला विपद् व्यवस्थापन समितिको रहेको छ । समितिले विपद् विरुद्धको पूर्व तयारीका लागि सम्भावित जोखिमको मूल्यांकन गर्दै प्रतिकार्यका योजना समेत बनाएको छ ।
चार स्थानीयमा छैनन् आपतकालीन कार्य सञ्चालन केन्द्र
विपद् विरुद्ध बाँकेका चार स्थानीय तहले आपतकालीन कार्य सञ्चालन केन्द्र बनाएका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक अनुसार, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र नबनाएका हुन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाले भने वि.सं. २०७७ सालमा नै आपतकालीन कार्य सञ्चालन केन्द्र बनाएका थिए ।
सम्भावित विपद् विरुद्ध बाँकेका सबै स्थानीय तहले विपद् व्यवस्थापन कोषमा रकम समेत विनियोजन गर्दै आएका छन् । यद्यपि विपद् विरुद्ध बाँकेका सबै स्थानीय तहले योजना भने बनाएको पाइँदैन ।
वैशाखयता १२९ को मृत्यु
नेपालमा वैशाखयता भएको एक हजार १६९ विपद्जन्य घटनामा १२९ जनाको मृत्यु भएको छ । ती घटनामा परेर तीन जना वेपत्ता भएका छन् भने ३२३ जना घाइते भएका छन् । कुल एक हजार ४९७ परिवार प्रभावित भएको राष्ट्यि विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।
कुल अनुमानित रु ७२ करोड ३४ लाखको क्षति भएको छ । विभिन्न ११ प्रकारका विपद्का घटनामध्ये सबैभन्दा बढी चट्याङबाट ५५ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसपछि आगलागीबाट १९ र पहिरोबाट १७ को मृत्यु भएको छ अघिल्लो वर्षको तुलनामा यसपालि विपद्जन्य घटना र जनधनको क्षति भने कम छ ।










