सामाजिक सुरक्षा भत्ता लिन सधै सास्ती किन ?

पृष्ठभूमि
सर्वविदित नै छ बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा महिला विशेष मुद्दा र समसामायिक विषयमा चर्चा गरिन्छ । तसर्थ बुर्काभित्र/ बुर्काबाहिर स्तम्भमा आज समसामायिक विषयवस्तु ‘सामाजिक सुरक्षा भत्ता लिन सधैँ सास्ती किन ?’ रहेको छ । हुन त हाल सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिन्छ । तथापि सर्वसाधारणलाई निकै सास्ती भइरहेको छ ।

सामाजिक सुरक्षा भत्ता लिन पानी परिरहेका बेला नेपालगन्जस्थित मेगा बैंक बाहिर लामबद्ध जानकी गाउँपालिकाका जेष्ठ नागरिक । (तस्विर दैनिक नेपालगन्ज )

आज यस स्तम्भमा हामी बैंक, बैकिङ कारोबार, र सामाजिक सुरक्षा भत्ता वितरणलाई कसरी सहज र जन समुदाय मैत्री बनाउन सकिन्छ भन्ने बारे चर्चा गर्नेछौं । नेपालमा व्यापारीहरुको बैंक खाता छ । सरकारी कर्मचारीहरुको बैंक खाता छ प्राइवेट कर्मचारीहरुको बैंक खाता छ । यहाँ सम्म कि बैंक कर्मचारीहरुको समेत बैंक खाता छ । सबै कर्मचारीहरुलाई उनको तलबभत्ता बैंक खाता मार्फत नै भुक्तानी गरिन्छ सम्पूर्ण आर्थिक कारोबार बैंक द्वारा गर्छन् । तर खोई त उनीहरुको त्यसरी बैंक अगाडि हुल देखिदैन् । देखिन्छ त केवल सामाजिक सुरक्षा भत्ता लिनेहरुको भीड यो किन ।

यसका साथै सामाजिक सुरक्षा भत्ता एंव वृद्धभत्ताको सुरुआत कहिले देखि भयो । सामाजिक सुरक्षा भत्ता रकम बुझ्दा सर्वसाधारणलाई भोग्नु परेका समस्या र समाधानका उपाय लगायत यी यावत विषयमा चर्चा गरी समुदायलाई सही जानकारी गराउनु यस लेखको मुख्य उद्देश्य रहेको छ ।

बैंक, बैकिङ कारोबार बारे जानकारी
सर्व प्रथम त यो बुझ्न जरूरी कि बैंक सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न र झिक्न सुरक्षित र सहज ठाँउ हो । जहाँ सर्वसाधारण वा संस्थाका लागि बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो ।

प्रायजसो बैंकहरुमा ३ प्रकारका खाताहरु हुने गर्छन्ः चलती, बचत र मुद्दती । कुनै पनि खातामा रकम जम्मा गर्दा भौचर भर्नुपर्दछ । ग्राहकहरुको कारोबार विवरण बैंकले ग्राहकको पास बुकमा भरिदिने गर्छ । प्रविधिको विकास सँगसँगै बैंक तथा वित्तीय संस्थाहरुले पासबुकको सट्टा प्रिन्टेड बैंक स्टेटमेन्ट उपलब्ध गराउँदै आएका छन् । यसबाट ग्राहकको आफ्नो कारोबार, खातामा जम्मा रहेको रकम, सो वापत पाउने ब्याज र ब्याज वापत तिर्ने कर रकमका बारेमा जानकारी हुन्छ ।


सामाजिक परिवेश
राष्ट्रिय जनगणना वर्ष २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा ५६,४३,९४५ घरधुरी रहेको उक्त घरमा ६७,६१,०५९ परिवारको बसोबास रहेको छ । नेपालको कुल जनसंख्या २,९१,९२,४८० रहेको छ । जसमध्ये पुरुषको संख्या १,४२,९१,३११ (४८.९६%) र महिलाको संख्या १,४९,०१,१६९ (५१.०४%) रहेको छ ।

“सबै नेपालीको बैंक खाता“ भन्ने सरकारको नारा छ । हुन त सरकारको नारा अनुसार वर्ष २०७६ सम्म २,९२,००,००० (२ करोड ९२ लाख) बैंक खाता रहेको राष्ट्र बैंकको एउटा तथ्यांकले देखाएको छ । तथापि केन्द्रीय बैंककै अर्को अध्ययनले भन्छ कि “एक जनाको धेरै खाता भएकोले सो तथ्यांक अनुसार मात्र ६० प्रतिशत नेपालीको ४० प्रतिशत भन्दा बढी नेपाली अझै बैंकिङ सेवाको पहुँच भन्दा बाहिर नै रहेकाछन् ।“

जहाँ बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको करिब कुल खाता संख्या २ करोड ९२ लाख जति छ । जुन संख्या लगभग मुलुकको जनसंख्या हाराहारी नै हो । यसो संख्यात्मक रुपमा हेर्दा सरकारको नारा ‘एक व्यक्ति एक बैंक खाता’ सफल रहेको देखिन्छ । सफल रहेको देखिए तापनि यथार्थ भिन्दै छ । एक व्यक्तिको बैंक खाता एक भन्दा बढी भएकाले बैंकिङ पहुँच भने ६० प्रतिशत सम्म मात्र पुग्न सकेको हो ।


सामाजिक सुरक्षा भत्ताको सुरुआत र प्राप्त गर्न सास्ती
नेपालको संविधान २०७२ को धारा ४३ ले कानून बमोजिम सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ । यसलाई संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा नै राखिएको छ ।

जब मंसिर १४ गते २०५१ सालमा नेकपा (एमाले)का ततकालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरे । अनि सोही सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले पुस ११ गते २०५१ सालमा संसदमा पहिलो पटक बजेट पेस गरे । त्यतिबेला सर्वप्रथम बजेटमा वृद्धभत्तालाई केही स्थानमा नमुनाका रूपमा लागू गरियो । त्यसपछि उनी वर्ष २०५२ असारमा अर्को बजेट भाषण गरे ।

त्यस बजेटमा नेपालभरिका ७५ वर्ष उमेर काटेका नागरिकहरुलाई मासिक एक सय रुपैयाँ भत्ता दिने व्यवस्थाको सुरुआत गरियो । २०५१ सालमा सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता अहिले मासिक २ हजार पुगिसकेको छ ।(सन्दर्भ सामग्री गुगलबाट)


पहिला पहिला त स्थानीय तह मार्फत नगद रकम नै सामाजिक सुरक्षा भत्ता वितरण गरिने गरियो । यसरी नगद रकम दिने गर्दा सामाजिक सुरक्षा भत्ता रकमको बेलाबेलामा दुरुपयोग र भ्रष्टाचार समेत भएको देखियो । हाल देशभरी सामाजिक सुरक्षा भत्ताका लाभान्वित व्यक्ति करिब ३४ लाख जना रहेका छन् । त्यसमध्ये २४ लाख जतिले बैंक खाताबाट लिन थालेकाछन् । सामाजिक सुरक्षा भत्ता पाउने मध्ये बाँकी १० लाख व्यक्तिहरुको अझै बैंक खाता छैन् ।

बैंक खाता नखोलेकाहरुलाई भत्ता लिन तोकिएको दिन र मितिमा अझै स्थानीय निकाय पुग्नु पर्ने हुन्छ । बैंक खाता खोलेकाहरुका लागि पनि भत्ता पाउनु सहज छैन । तोकिएको मितिमा रकम पठाइसकेपछि खाता खोलिएको बैंक अगाडि भत्ता लिनेहरु भीड जम्मा हुने गरेकोछ ।

त्यो भीडमा टाढा टाढाबाट आउने व्यक्तिहरु एकाबिहानै आएर लाईनमा बसेर पालो कुरेर बसेका हुन्छन् । भत्ता रकम बुझ्न आउने त्यो भीडमा बिरामी पनि हुन्छन् । अति वृद्धवृद्धा पनि हुन्छन् । काखमा बच्चा समाएकी महिला पनि हुन्छिन् । यसरी उनीहरुलाई भत्ता रकम बुझ्नकै लागि सबै कामकाज छाडेर पूरै दिन निकाल्नुपर्छ । यो भीड जम्मा हुने एउटा कारण अरु पनि छ । खासमा उनीहरुलाई थाहा हुदैंन् कि खातामा रकम आयो कि आएन् । अनि त्यही बुझ्नकै लागि भए पनि उनीहरु बैंकको अगाडि बसेका हुन्छन् ।

पुरुष मजदूरी गर्न र बच्चाहरु पढ्न गइसकेपछि घरदेखि बैंक सम्म घरका वृद्ध वृद्धा र अपाङता भएका व्यक्तिहरु लिएर आउदाँ उता घरमा कोही हुदैंन् । घरमा कोही नहुदाँ चोरी हुने सम्भावना बढी रहेको हुन्छ । यस कारण आउनेको ध्यान घरमा नै रहेको हुन्छ । यसका साथै केही सर्वसाधारण व्यक्तिहरुसंग नागरिकता नभएको कारण राज्यले दिने यो सुविधाबाट वन्चित पनि रहेका छन् ।


गर्नु पर्ने पहल
नागरिकता बिना कुनै पनि सरकारी वा प्राइवेट बैंकमा बैंक खाता खोल्न मिल्दैन् । यस कारण केन्द्रीय, प्रदेश र स्थानीय सरकारले ‘एक व्यक्ति एक खाता’ भन्ने सरकारको नारा सफल बनाउनका लागि नागरिकता नभएका व्यक्ति हरुको नागरिकता बनाउन पहल गर्नुपर्छ । बैंकमा खाता खोलिसकेपछि सबै खातालाई खातावालाको मोबाईलसंग लिकं गरिदिनुपर्छ । जुनकि त्यति गाह्रो पनि छैन् ।

जब खातावालाको मोबाईल खातासंग लिंक गरिएको हुन्छ भने भत्ताको रकम खातामा आइसकेको जानकारी स्वतः मेसेजमार्फत भइहाल्नेछ । अनि सबैलाई चेकबुकका साथै एटीएम पनि उप्लब्ध गराईनुपर्छ । रकम आएको जानकारी पाइसकेपछि सामाजिक सुरक्षा भत्ता लिने लाभार्थी आफुलाई आवश्यकता भएको बेला चाहिए जतिको रकम पायक पर्ने समय र स्थानबाट चाहिएको बेला एटीएमबाट रकम झिक्न सक्नेछन् । अर्थात यसरी सिस्टेमेटिक ढंगले भत्ता बाड्ने दिन बैंक अगाडि एकाबिहानै भीड जम्मा हुदैंन् । अनि कसैलाई कुनै खालको दुख पनि भोग्नु पर्दैन् । हेर्ने हो भने अहिलेको अवस्थामा त सामाजिक सुरक्षा भत्ता रकम बुझ्न कुनै युद्ध लड्नु भन्दा कम छैन् । यदि उचित पहल गरिएन भने, सामाजिक सुरक्षा भत्ता लिन यस्तै सास्तीको सामना गरिरहनु पर्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया