प्रसिद्ध शक्तिपीठ, बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले नयाँ नेतृत्व पाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सोमवार गुठीको नेतृत्व सम्हालेका हुन् ।
‘गुठीको सम्पूर्ण अवस्था अध्ययनका लागि डकुमेन्ट माग गरेको छु,’ सोमवार गुठीको बैठकले खासै नयाँ निर्णय नगरेको जानकारी दिँदै गुठीको अध्यक्षता सम्हालेका नगरप्रमुख विष्टले भने, एक साता अध्ययनपछि निर्णय प्रक्रियामा जान्छु ।’ उनले गुठी समिति हेरफेरको समेत संकेत दिएका छन् ।
गुठी अध्यक्ष विष्टले अदालतबाट विभिन्न प्रश्नहरु उठाइएको जानकारी आफुले पाएकाले त्यसबारेमा निर्णय गर्ने पनि बताए । ‘अहिलेसम्म ऐन, नियम भन्दा व्यवहारिक निर्णयहरुबाट गुठी चलेको पाइयो,’ विष्टले भने,‘सधै यसरी चलेर हुँदैन, कार्यविधि बनाएर गुठीलाई चलायमान बनाउँछु ।’
बागेश्वरी गुठीको कानुनी व्यवस्था अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखले गुठीको अध्यक्षता गर्ने व्यवस्था छ । नगरप्रमुख चुनिएको लामो समय बित्दा पनि विष्टले बागेश्वरी प्रवेशका लागि श्रावण सोमवारको साइत पर्खेर बसेका थिए । आध्यात्मिक सोंचका नगरप्रमुख विष्टले बागेश्वरीको दीर्घकालिन हित र विकासका लागि बागेश्वरी विकास कोषको अवधारणालाई कार्यान्वयनमा ल्याउने घोषणा नगरसभाबाट गरिसकेका छन् । साथै, बागेश्वरीमा महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिकाकाले बजेट समेत छुट्याइसकेको जनाएको छ ।ं










