इन्धन खर्च मितव्ययिता ल्याउनका लागि भन्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रत्येक महिनाको १ गते अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारीसाधन प्रयोग नगर्न आव्हान गरेका छन् । नगर प्रमुख विष्टले साउन १ गते आइतबार त्यसको कार्यान्वयन गर्दै आफुले यात्रा गर्दा इरिक्साको प्रयोग गरेका छन् ।

नेपालगन्जको बार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जन प्रतिनिधि र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग गरिने छैन भन्ने उल्लेख छ । महिनामा १ दिन भएपनि अत्यावश्यक बाहेक सवारी साधनको प्रयोग नगर्ने हो भनेपनि इन्धन बचत गर्न सकिने भन्दै नगर प्रमुख विष्टले आम नागरिकमा उपमहानगरपालिकाको निर्णयमा साथ दिन आग्रह गरेका छन् ।
कोहलपुर नगरपालिकाले इन्धन खपत घटाउनका लागि उधारो फ्युल कुपन वितरण नै रोकेको छ । कोहलपुर नगर प्रमुख पूर्ण आचार्यले अत्यावश्यक बाहेकका फ्युलको कुपन नदिने व्यवस्था गरेको बताएका छन् । उनले भने, ‘नियमानुसार ईन्धन पाउने कर्मचारी÷पदाधिकारीलाई मासिक तलबमा नै समावेश गरि ईन्धन वापतको रकम उपलब्ध गराइने र अत्यावश्यकीय रूपमा आकस्मिक कसैलाई इन्धन उपलब्ध गराउनु पर्ने भएमा नियमावली अनुसार माग फारम स्वीकृत गराई/निर्णय भएमा मात्र उपलब्ध हुनेछ ।’ उनले पालिकाबाट हुने इन्धन खपत घटाउनका लागि कर्मचारी एवं जनप्रतिनिधीलाई विद्युतीय सवारी साधन खरिदमा १५% रकम अनुदान नगरपालिकाले ब्यहोर्ने व्यवस्था गरेको बताए ।
कोहलपुर नगरपालिकामा बार्षिक लाखौंको इन्धनको कुपन वितरण हुने गरेको जानकारीमा आएपछि नगर प्रमुख आचार्यले अनावश्यक इन्धन कुपन वितरण रोकेका हुन् ।










