जनप्रतिनिधिलाई नगरबासीको प्रश्नको चाङ्ग

नेपालगन्जका सेवाग्राही, आम नागरिकले उपमहानगरपालिकासँग विभिन्न विषयमा गुनासो, सुझाव तथा ध्यानाकर्षण गराएका छन् । उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीका तर्फबाट विभिन्न सार्वजनिक चासोका विषयमा जनप्रतिनिधिलाई प्रश्न गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का निवर्तमान वडाध्यक्ष समेत रहेका सुनिल सिंह हमालले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको फुल्टेक्रा तालमा क्रिकेट मैदान सहित कर्बला, हिन्दु पुजन भूमि र वडा कार्यालय बनाउने कार्य अगाडि बढाउन आग्रह गरेका थिए । उनले अदालतले ३५ दिनभित्र मन्त्रीपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने फैसला गरेपनि समय बितिसकेको भन्दै जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । निवर्तमान वडाध्यक्ष हमालकै संयोजकत्वमा रहेको समितिले फुल्टेक्रामा क्रिकेट मैदान सहित संरचनाका लागि सहमति जुटाएको थियो । काम अघि बढ्दै जाँदा मुद्दा परेपछि जग्गा संरक्षण बाहेकको काम अगाडि बढ्न सकेको छैन । हमालले क्रिकेट मैदानलाई प्राथमिकतामा राख्न उपमहानगरपालिकासँग आग्रह गरेका थिए ।

धु्रव दाहालले जनताका समस्या बुझेर काम गर्न आग्रह गर्दै त्यसका लागि सानातिना काममा पनि ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रमका सहभागी वक्ताहरुले फुटपाथ, फोहोर, इरिक्सा व्यवस्थापन हुन नसकेको भन्दै उपमहानगरपालिकाको आलोचना गरेका थिए । नेपालगन्जमा फोहोर व्यवस्थापनमा उल्लेख्य काम भएपनि अझै पनि गुनासो रहेका छन् । त्यस्तै फुटपाथ व्यवस्थापनमा उपमहानगरपालिकाले गरेको वेवास्ता जोकसैले महसुस गर्न सक्छन् । ट्राफिक व्यवस्थापनको समस्या उस्तै छ । सहरमा मनपरी पार्किङ्ग, सडक र नालीमाथि व्यापार गर्दा हिड्न नै समस्या छ सडक पेटिमा ।

‘सडकमा हिड्दा दुर्घटनाको डर, नालीमाथि व्यापार, कतिपय ठाउँमा सडक बत्ती बल्दैनन्, नाला माथि हिड्न सकिंदैन, कतै नालीमाथिको ढक्कन नै छैन’, सार्वजनिक सुनुवाईमा सहभागी हुन आएका एक व्यक्तिले दैनिक नेपालगन्जसँग भने, ‘बर्षौदेखि समस्या दोहोरिने गरेका छन् तर समाधान हुँदैन ।’ ‘सटरमा व्यवसाय गर्नेले नै नाला मिचेका छन्, नालामात्रै होइन सडक सम्मै मालासामान राखेको देख्न सकिन्छ’, उनले आक्रोश पोख्दै भने, ‘तर, न त्यो ट्राफिकले देख्न न त उपमहानगरपालिकाले नै ।’ ‘सटरमा पसल हुँदाहुँदा पनि नाली र सडक मिच्नु मनपरी हो, तर कसैले रोकेको पाइँदैन’, सार्वजनिक सुनुवाईमा सहभागीले दैनिक नेपालगन्ज भने ।

घरबारीटोल विद्यालयको समस्या राख्दै ललित उपाध्याय भवन जीर्ण भएको उल्लेख गरिन् । कार्यक्रम सञ्चालकले आफ्नो भनाई संक्षिप्त राख्न आग्रह गर्दै गर्दा विद्यालयको समस्या झेलेकी उनले आफुलाई बोल्न दिन र यहाँ नबोले कहाँ बोल्ने भनेर प्रश्न तेस्र्यायाएकी थिइन् । उपाध्यायले निःशुल्क शिक्षा भनेपछि विद्यालयको टेलिफोन, विद्युत लगायत व्यवस्थापनका खर्च नपाउँदा विद्यार्थीहरुले सामुदायिक विद्यालयमा पनि शुल्क तिर्नुपरेको भन्दै जनप्रतिनिधिको ध्यानाकर्षण गराइन् । उनले जीर्ण भवन जोखिमपूण रहेको उल्लेख गर्दै सिग्नेट होटल पछाडि विद्यालयले जग्गा पाएकाले भवन बनाउनका लागि सहयोग गर्न उपमहानगरपालिकासँग आग्रह गरेकी थिइन् ।

तेज बहादुर श्रेष्ठले धम्बोझीमा आकाशे पुल र चक्रपथको योजना के भयो भनेर प्रश्न गरेका थिए । उनले सदरलाइनमा चारपाङ्ग्रे प्रवेशले ट्राफिक अस्तव्यस्त भएका उल्लेख गरे । वडा नं. १० का रामलोचन शाहले ग्रीन सिटी बनाउन सहायक सडकमा पनि ग्रीन बेल्न बनाएर वृक्षारोपण गर्नुपर्ने बताएका थिए । उनले सडकमा रहेका विद्युतका पोलमा तार झुण्डिइरहेको, किसानले मल, खाद्य नपाएको तर्फ उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

वडा नं. ९ का भरत कुमार मल्लले उपमहानगरपालिकाले प्रोफाइल बनाउनका लागि प्रश्नहरु पठाएको तर त्यसमा धेरै प्रश्नहरु छुटेको भन्दै समावेश गर्न आग्रह गरेका थिए । अर्की सहभागीले विशालचोकमा फोहोर व्यवस्थापन हुन नसकेको तर्फ ध्यानाकर्षण गराइन् । सडक पेटीमा हिड्न नमिल्ने हो भने त्यसको के काम भनेर प्रश्न गरेका थिए । उनीहरुले सडकमा देखिने गरेको घुम्ती शौचालय नहुँदा बजारमा हिड्दा शौच गर्नुपरे होटल छिर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।
सहभागीहरुले बागेश्वरी मन्दिर क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसकेको भन्दै जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । अपाङ्गता तथा महिला क्षेत्रमा क्रियाशिलहरुले सम्बन्धित क्षेत्रका लागि बजेट विनियोजन गर्न आग्रह गरेका थिए । अपाङ्गता क्षेत्रका अपाङ्गहरुका लागि सामाजिक सुरक्षा भत्ताको चासो राखेका थिए । महिलाले महिलाको आर्थिक सशक्तिकरणका लागि सीममूलक तालिमका लागि बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

जनप्रतिनिधिले भने, समय दिनुस्

नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिले नागरिकले उठाएका सवालमा जवाफ दिंदै समाधानका लागि केही समय दिन आग्रह गरेका थिए । नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जका नागरिकले ६ महिना भित्र देखिने गरी परिवर्तनको महसुस गर्ने बताएका थिए ।
नगर प्रमुख विष्टले सार्वजनिक सुनुवाईको सुरुमै उपमहानगरपालिकाले आगामी आ.व.मा स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका विषयमा जोड दिएको उल्लेख गर्दै धर्म तथा संस्कृतिको पनि संरक्षण गर्ने बताएका थिए ।
बासका मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले सीमित बजेटबाट जतिसक्दो आयोजनाहरु अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । उनले आर्थिक बर्षको अन्त्यमा बजेट फ्रिज हुन नदिन धमाधम योजनाहरु अघि बढाएको बताएका थिए ।

नगर प्रमुख विष्टले फुल्टेक्रामा क्रिकेट मैदानका लागि दुई जना मन्त्रीसँग कुरा गरिसकेको जानकारी दिएका छन् । उनले जिल्लाकै संघीय सांसद समेत रहेका मन्त्री इस्तियाक राईलाई क्रिकेट मैदानका लागि केन्द्रमा पहल अगाडि बढाउन आग्रह गरेको बताएका थिए । उनले विगतमा कागजमा योजना र बजेट हुने गरेकोमा अब त्यो प्रवृत्ति परिवर्तन गरिने प्रतिबद्धता समेत जनाएका थिए ।

नगर प्रमुख विष्टले ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका बारेमा प्रयास भैरहेकोब ताएका थिए । उनले नगरबासीले २० प्रतिशत फोहोर नालीमा हाल्ने गरेको भन्दै त्यसलाई रोक्न समेत आग्रह गरेका थिए ।
नगर प्रमुख विष्टले चक्रपथका लागि यसअघि भाषण मात्रै भएको र काम नभएको भन्दै त्यसका लागि चालु आर्थिक बर्षमा २० लाख बिनियोजन गरेको र काम अगाडि बढ्ने जानकारी दिएका थिए । उनले सदरलाइनमा यातायातका साधन प्रवेशमा व्यवसायीको आग्रहमा दिइएको भन्दै पुनः रोक लगाउनका लागि व्यवसायीसँग छलफल गरिरहेको बताएका थिए । उनले नगर सौन्र्दयीकरणमा उपमहानगरपालिकाले काम गर्ने बताएका थिए । घुम्ती शौचालय ठेक्कामा सञ्चालनमा आएपनि प्रयोग नभएको सन्दर्भमा प्रक्रियागत रुपमा नभए नयाँ ढंगले अगाडि बढाउने बताएका थिए ।

उपप्रमुख कमरुद्दिन राईले नगरबासीले विश्वास गरेर जिताएको भन्दै विश्वास टुट्न नदिने प्रतिबद्धता जनाए । उनले ट्राफिक व्यवस्थापनका लागि लागि परेको बताएका थिए । उपप्रमुख राईले नगरलाई हरियाली बनाउन प्रत्येक घरमा बिरुवा लगाउन आग्रह गरेका थिए ।

कार्यक्रममा बासका निर्देशक नमस्कार शाहले उपमहानगरपालिकासँग सम्बद्ध दुई वटा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदन अनुसार उपमहानगरपालिकाबाट सेवाग्राही मध्यम रुपमा सन्तुष्ट रहेका छन् ।
बासको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्व जनप्रतिनिधि, जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, सेवाग्राही लगायतको सहभागिता रहेको थियो ।

जनप्रतिनिधिको १० बुंदे प्रतिबद्धता

मंगलबार नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिले १० बुंदे प्रतिबद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधिले ६ महिनाभित्र सरसफाई अनुभूति हुने गरी कार्य गर्ने, महेन्द्र बहुमुखी क्याम्पसका जीर्ण भवनहरु पुर्न निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका हुन् ।

जनप्रतिनिधिले तीन महिनाभित्र सडक अतिक्रमण हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, इरिक्सा व्यवस्थापन गरी सहरको ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । उनीहरुले नेपालगन्जलाई ग्रिन सिटीको रुपमा विकास गर्ने, चक्रपथको योजना अगाडि बढाउने, सरकारी गाडी दुरुपयोग नियन्त्रणका लागि प्रहरी, प्रशासन र ट्राफिकसँग समन्वय गर्ने, लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने, छाडा चौपाया नियन्त्रणका लागि पहल गर्ने प्रतिबद्धता रहेका थिए ।
प्रतिबद्धतामा नेपालगन्ज–६ फुल्टेक्रा स्थित तालमा क्रिकेट मैदान, कर्बला, मर्चुवा, तेल पुजन, वडा कार्यालय, पार्किङ्ग निर्माणका लागि आवश्यक पहल गर्ने, पशु कृषि सेवा शाखामा रिक्त कर्मचारीको पदपूर्ति गर्ने प्रतिबद्धता गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया