बाँकेमा ३० किमि सडक निर्माण सुरु

१० किलोमिटरका दरले तीन वटा निर्वाचन क्षेत्रमा रहेका उक्त सडकका लागि सरकारले ७५ करोड बजेटमा बहुबर्षिय योजना अन्तर्गत बनाउन लागेको हो

तत्कालीन केपी ओली नेतृत्वको सरकारले देशभरी १ सय ६५ वटा रणनैतिक सडक उद्घाटन गरेको थियो । त्यसैक्रममा बाँकेका ३ र बर्दियाका दुई वटा निर्वाचन क्षेत्रका पाँच वटा सडक योजनामा परेका थिए ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्रमा बनाइने भएको पक्की सडक कार्यान्वयनमा आएको छ । बहुबर्षिय योजना अन्तर्गत ३० किलोमिटर सडकका निर्माणका लागि ७५ करोड रुपैयाँ योजना कार्यान्वयन सुरु भएको छ । बाँकेका तीन निर्वाचन क्षेत्रमा १० किलोमिटर सडकको टेण्डर भएर कार्यान्वयनमा आएको डिभिजन सडक कार्यालय नेपालगन्जका नेपालगन्जका प्रमुख होमबहादुर एसीले जानकारी दिएका छन् । ‘तीन वटै निर्वाचन क्षेत्रमा ३० किलोमिटरका लागि ठेक्का लागि सकेको छ’, उनले भने, ‘सडकका लागि चालु आर्थिक बर्षदेखि नै बजेट विनियोजन भएको छ ।’ बहुबर्षिय योजना अन्तर्गत सरकारले तोकिएको निर्माणवधीसम्म सडकका लागि बजेट विनियोजन गर्नेछ ।


डिभिजन सडक कार्यालय नेपालगन्जमार्फत बाँके र बर्दियामा गरी झण्डै २ अर्बको सडक बन्नेछन् । डिभिजन सडक कार्यालय नेपालगन्जका नेपालगन्जका प्रमुख एसीले बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा १० किलोमिटर र बर्दियाका दुई वटा निर्वाचन क्षेत्रमा २५ किलोमिटर सडक बन्ने जानकारी दिएका छन् ।


बाँके क्षेत्र नं. ३ को गणेशमानचोक–गौघाट–परसपुर सडक खण्ड १० किलोमिटर नाली सहित कालोपत्रेका लागि टेण्डर भएको जानकारी दिंदै डिभिजन सडक कार्यालयले २५ करोड बजेट रहेको र सो भन्दा कममा ठेक्का लागेको जानकारी दिएको छ । जंगल क्षेत्र नभएको र साइट क्लियर भएकाले सम्झौता भएको मितिले २८ महिना भित्र बनिसक्ने डिभिजन सडक कार्यालय नेपालगन्जले जानकारी दिएको छ । सडक खण्ड नाली सहित १२ मिटरको बन्नेछ । जसमा प्रिमिक्स कालोपत्रे ७ मिटरको हुनेछ ।


बाँके क्षेत्र नं. १ अन्तर्गत अगैयादेखि नरैनापुर जोड्ने १६ किलोमिटर सडकखण्डको १० किलोमिटर सडकको पनि ठेक्का भैसकेको डिभिजन सडक कार्यालय नेपालगन्जले जानकारी दिएको छ । उक्त सडक खण्डका लागि पनि बजेट सीमा २५ करोड रुपैयाँ तोकिएको थियो ।


त्यस्तै, बाँके क्षेत्र नं. २ डुडुवादेखि एयरपोर्ट जोड्ने १० किलोमिटर सडकका लागि पनि २५ करोड बजेट सीमा रहेको छ । उक्त सडक खण्डको ठेक्का भैसकेको र निर्माण कार्य सुरु भएको डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख एसीले बताएको बताए । ‘आगामी आ.व. २०७९÷०८० देखि दु्रत गतिमा काम अगाडि बढ्नेछ’, उनले भने । कम्दीदेखि राँझासम्मको उक्त सडकखण्ड निर्माण पछि आवातजावतमा निकै सहज हुने बताइएको छ ।


तत्कालीन केपी ओली नेतृत्वको सरकारले देशभरी १ सय ६५ वटा रणनैतिक सडक उद्घाटन गरेको थियो । त्यसैक्रममा बाँकेका ३ र बर्दियाका दुई वटा निर्वाचन क्षेत्रका सडक योजनामा परेका थिए । सोही अनुसार, बहुबर्षिय सडकका लागि १ करोड २० लाख देखि ४ करोडसम्म पहिलो चरणमा बजेट विनियोजन गरिएको थियो । तत्कालीन सरकारले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र मात्रै योजनामा परे ६० करोड, दुई वटा क्षेत्र परे ४० करोड र तीन वटा क्षेत्र परे २५ करोडका दरले बजेट विनियोजन गरेको थियो ।


बाँके र बर्दियाको सडक योजना तयार भएपछि बाँके र बर्दिया जोड्ने बैकल्पिक राजमार्ग बन्नेछ । सडक निर्माण सुरु भएपछि विवाद नहोस् भनेर सडक विभागले यसअघि नै स्थानीय तहसँग त्यसको क्लिरियन्स लिएको छ भने जंगल क्षेत्रमा काम गर्ने योजना बनाएको छैन ।


नेपालगन्जबाट बर्दिया गुलरिया हुँदै राजापुर–टिकापुर कैलालीतिर जाने हुलाकी राजमार्ग तथा कोहलपुर हुँदै बर्दिया–पश्चिम तर्फको पूर्व पश्चिम राजमार्गले जोडेको दुई जिल्लाको स्तरीय सडकमार्गलाई नेपालगन्ज–परसपुर–गौघाट हुँदै बर्दिया बढैयागाउँपालिका हुँदै गुलरिया सडक जोड्ने नयाँ बाटोले दुई जिल्ला बीचको सम्बन्ध समेतलाई अझ नजिक ल्याउने विश्वास गरिएको छ । मुख्य सडकमा हुने चाप समेत वैकल्पिक सडकले घटाउने विश्वास स्थानीयको रहेको छ ।
बर्दियाको क्षेत्र नं. २ मा १५ किलामिटर सडकका लागि ४० करोड बजेट छ । बहुबर्षिय योजनामा निर्माण हुने सडकखण्डा घोरपिट्टा–बनियाभारको हो । बर्दिया क्षेत्र नं. २ को सडक ३३ महिना भित्र बनाइसक्ने लक्ष्य राखिएको छ । त्यस्तै, बर्दियाको पञ्चबजार–फुटाहा–जमुनी गौघाट सडक पनि बन्ने भएको छ ।
बाँके र बर्दियामा निर्माण सुरु भएका सडकले भित्रीलाई मूल सडकसँग जोड्ने छ । फराकिलो पक्की सडकले वैकल्पिक बाटोको रुपमा प्रयोग समेत गर्न सहज हुने बताइन्छ ।

मन्त्री राईले गरे शिलान्यास

सडक शिलान्यास गर्दै मन्त्री राईले ग्रामीण क्षेत्रलाई सदमुकाम र मुख्यराजमार्ग जोड्ने सडक निर्माणलाई तिव्रता दिने बताएका थिए । उनले ग्रामीण सडकलाई उच्च मापदण्डका साथ कालोपत्रे गरिने बताएका थिए ।


डुडुवादेखि एयरपोर्ट जोड्ने १० किलोमिटर सडकको सोमबार बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभाका सदस्य समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले उद्घाटन गरेका छन् । २५ करोड लागत अनुमान गरिएको उक्त सडक खण्डको ठेक्का भैसकेको छ ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, नेपालगन्ज नगर उपप्रमुख कमरुद्दिन राई, हुलाकी सडक आयोजना प्रमुख गगल बहादुर भण्डारी, संघीय सडक अनुगमन कार्यालय सुर्खेतका रुपक राज भण्डारी, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया