न्यूरोडमा लाग्यो आदिकविको शालिक

नेपालगन्ज उप–महानगरपालिका– २ न्यूरोडमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लुम्बिनी प्रदेश सरकारका वन, वातावरण, भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, लायन्स क्लब डिष्ट्रिक ३२५ एनका गभर्नर सीबी चन्दले शनिबार भानुभक्तको अर्धकदको शालिक अनावरण गरे ।

विकासका लागि नागरिक समाज समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठको अगुवाईमा दुई वर्षअघि भानुभक्त चोक घोषणा गरि उनैको नेतृत्वमा चोक संरक्षण तथा व्यवस्थापन समिति गठन गरेपछि शालिक स्थापनाका लागि आवश्यक पहल थालिएको हो ।

भानुभक्तको अर्धकद शालिक स्थापनाका लागि लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले अगुवाई गरेपछि संकलित रकमबाट १२ लाख १५ हजार ९४९ रुपैयाँको लागतमा योजना पुरा भएको क्लब अध्यक्ष शिव प्रसाद दाहालले जानकारी दिए । त्यसका लागि क्लब आफैले २ लाख ५१ हजारको संस्थागत योगदान गरेपछि व्यक्तिगत तथा संस्थागत सहयोग जुटेको हो ।

शालिक निर्माणका लागि सबैभन्दा बढी रकम संस्थागत रुपमा सिनर्जी आफैले २ लाख ५१ हजार र व्यक्तिगत रुपमा स्व. दामोदर आचार्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । शिलान्यासकै दिन नेपालगन्ज २ का तत्कालिन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्य, लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठ लगायतले आर्थिक सहयोगको घोषणा गरेका थिए । समितिका अध्यक्ष श्रेष्ठले संकलित रकमबाट करीब डेढलाख रुपिया जोगिएकाले संरक्षणमा सहज हुने बताए ।

लायन्स क्लबका अनुसार, भानुभक्त चोकको डिजाइन इन्जिनीयर प्रदिप भण्डारीले गरेका हुन् भने भानुभक्तको शालिक मूर्तिकार महेश तुलाधरले निर्माण गरेका हुन् । अनावरणको अवसरमा डिजाइनर भण्डारी र मूर्तिकार तुलाधरलाई सम्मान गरिएको थियो । शनिवार लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा शालिक निर्माणमा सहयोगी दाताहरुलाई सम्मान गरिएको छ ।

नेपालगन्जमा राजनीतिक व्यक्तित्वदेखि राजाहरुका नाममा चोकहरुको नामाकरण गरि शालिक राखिएका छन् । यसअघि न्युरोडमा सहिद सेतु विकको शालिक लगाइएको छ । त्रिभुवन चोकमा राजा त्रिभुवन, वीपी चोकमा वीपी कोइराला, पुष्पलाल चोकमा पुष्पलाल श्रेष्ठ, गणेशमान चोकमा गणेशमान सिंहको शालिक राखिएका छन् ।

धम्बोझीस्थित वीरेन्द्र चोक शालिकविहीन छ । जनआन्दोलनताका आक्रोशित भिडले तोडफोड गरेको त्रिभुवन चोकस्थित राजा त्रिभुवनको शालिक जनस्तरबाटै पुनःस्थापना गरिएपनि वीरेन्द्रचोकस्थित राजा वीरेन्द्रको शालिक पुनःथापनाको सवाल लामो समयदेखि विवादमा पारिंदै आएको छ । सुर्खेतरोड स्थित कारकादो चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक र नामाकरणले पनि सार्थकता पाउन नसकेपछि गडियनपुरमा गरिएको प्रस्ताव कार्यान्वयनमा आएको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया