नेतृत्व चुन्दै नेपालगन्जका होटल व्यवसायी

सर्वसम्मत प्रयास असफल भएपछि दुई प्यानल बीच प्रतिस्पर्धा हुँदै

अन्ततः सर्वसम्मत नेतृत्व चयन गर्ने होटल व्यवसायीहरुको प्रयास असफल भएको छ । बाँकेका होटल व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको होटल व्यवसायी संघ बाँके, नेपालगन्जको नेतृत्वको लागि दुई प्यानल तयार भएपछि सर्वसम्मत नेतृत्व चयन नहुने भएको हो ।

वर्तमान अध्यक्ष भीमलाल कंडेल र महासचिव रंग बहादुर खड्काको उम्मेदवारीले दुई प्यानलमा प्रतिस्पर्धा

आगामी असार ४ गते हुने मतदानका लागि आइतबार गरिएको उम्मेदवारी दर्तामा प्रष्ट दुई प्यानल बनेको छ । निर्वाचन संयोजक अधिवक्ता बसन्त गौतमका अनुसार, होटल ब्यवसायी संघ बाँके नेपालगन्जको १० औ अधिवेशन अन्तर्गत आइतबार उम्मेदवारी दर्ता कार्यक्रम गरिएको छ । ‘कसैको पनि दाबीविरोध नपरेपछि दुई अध्यक्ष पदका उम्मेदवार सहितको अन्तिम नामावली प्रकाशन गरिएको’ जानकारी दिंदै अधिवक्ता गौतमले भने, ‘सोमबार तीन बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ ।’

उम्मेदवारी फिर्ताको समय पर्याप्त राखिएपनि प्रष्ट प्यानल सहित निर्वाचन दर्ता गराएका वर्तमान अध्यक्ष भीमलाल कंडेल र महासचिव रंग बहादुर खड्काको उम्मेदवारीले दुई प्यानलमा प्रतिस्पर्धाको सम्भावना निश्चित भएको हो ।

दुई उम्मेदवार बीच सर्वसम्मत नेतृत्वका लागि होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, होटल व्यवसायी संघका वरिष्ठ सल्लाहकार नारद पुरी लगायतले प्रयास गरेका थिए । तर, दुवैले आफ्नो अडान नछाडेपछि अन्ततः मतदानबाटै नेतृत्व चयनको अवस्था देखिएको हो ।

अध्यक्ष पदमा रंग बहादुर खड्का र वर्तमान अध्यक्ष भिमलाल कंडेलको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजकुमार विक, रामबहादुर लिम्बुको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदका लागि डिलाराम शर्मा पौडेल र घनश्याम थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

संघको महासचिव पदमा लक्ष्मी राजशाही र प्रेम बहादुर शाहले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा विष्णु प्रसाद पोख्रेल र खुमानन्द काफ्लेको उम्मेदवारी परेको हो । कोषाध्यक्षमा निर्मला देवी संजवाल र एकराज पाण्डेय, सहकोषाध्यक्षमा धिरेन्द्र शाही र केशवकंवर योगीको उम्मेदवारी परेको छ ।

त्यस्तै तीन सदस्य पदका लागि धनबहादुर खत्री, दिपक राजचन्द, भविचन्द्र जैसी, लाक्पा शेर्पा, विनोद श्रेष्ठ, थुमबहादुर क्षेत्रीको उम्मेदवारी परेको छ । दुई महिला सदस्य पदका लागि विष्णु शाही, मनकला पुन र दिपा वलीको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया