बाँके : दाइजो माग्नेलाई १५ हजार जरिवाना

वसन्त गौतम

बिवाहमा दाइजो माग्ने एक ब्यक्तिलाई बाँके जिल्ला अदालतले १५ हजार जरिवाना हुने फैसला सुनाएको छ ।

डुडुवा गाउँपालिका वडा नं १ पिप्रहवाका २४ बर्षीय रबिन्द रजकले केटी पक्षसंग दाइजो स्वरुप मोटरसाइकल र नगद ३ लाख दाइजो मागेको भनी दायर मुद्दामा अदालतले यस्तो आदेश गरेको हो । केटा पक्षले बिवाहमा तोकेरै दाइजो मागे पछि केटी पक्षले कानूनी कारवाहीका लागि २०७८ फागुन ६ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका थिए ।

सुरुमा जाहेरी दर्ता नगरि प्रहरीमा दुवै पक्षलाई मिलाउने धेरै प्रयास गर्दा पनि केटा पक्षकाले नमानेको र दाइजो बिना बिवाह नगर्ने बताए पछि प्रहरीले जाहेरी दर्ता गरि बिवाहमा लेनदेन गर्न नहुने कसुरमा अपराध अनुसन्धान गरि सरकारी वकिल मार्फत अदालतमा मुद्दा दर्ता भएको थियो ।

जेष्ठ २३ गते उक्त मुद्दाको सुनुवाई गर्दै बाँके जिल्ला अदालतले दाइजो माग्ने अरबिन्द रजकलाई १५ हजार जरिवाना र रु ६०० रुपिया क्षतिपूर्ति दिने फैसला सुनाएको मुद्दामा बहश गरेका अधिवक्ता लोक बहादुर शाहले जानकारी दिए ।

जानकी गाउँपालिकाकी २३ बर्षिय परिवर्तित नाम सीता थापाको डुडुवा १ बस्ने अरबिन्द रजकसंग दुवै पक्षको सहमतिमा २०७८ माघ २६ गते बिवाहको मिति तय गरिएको थियो । केटी पक्षले बिवाहको कार्ड छाप्ने, आफन्तलाई बिवाहको निम्ता दिने, बिवाहको लागि आवश्यक चिजवस्तु, सरसानान किनमेल गरिसकेको अवस्थामा केटा पक्ष अरबिन्द रजकले एक्कासी सीताका बुवा र दाईलाई फोन गरि दाइजो स्वरुप अन्य जिन्सी सामान सहित मोटरसाइकल र तीन लाख नगद दिए मात्र बिवाह हने भन्दै दाइजोको लागि दवाव दिएको पीडित पक्षद्वारा दायर गरिएको मुद्दामा उल्लेख गरिएको छ ।

बिवाहको लागि २०७८ मंसिर १६ गते इङगजमेन्ट मगनी कार्यक्रम मार्फत दुवै पक्ष बसी २०७८ माघ २६ गतेका बिवाह गर्ने मिति तोकिएको थियो । बिवाह गर्ने निधो भइसके पछि केटीका बुवाले केटापक्षलाई केही माग भए भन्नुस भन्दा केटा पक्षले तपाई जे जान्नु हुन्छ गर्नुस, हाम्रो केही छैन भनेका थिए ।

तर, बिवाह तय भइसके पछि मोटरसाइकलका साथै नगद पैसा मागेको सिताका बुवाले बताए । पहिले केहि चाहिदैन भनेका थिए । तर पनि जोहो गरेर मोटरसाइकल दिउला भन्ने सोंचमा रहेका केटी पक्षकाले नगद ३ लाख नदिए बिवाह नहुने भनी अरबिन्द रजकले शर्त राखे पछि बाध्य भई मुद्दामा जानु परेको बताए

‘बिवाह तय भइसके पछि छोरीको खुसी र इज्जतका लागि मोटरसाइकल, सोफासेट, पलङ दिन्छु भनेको थिए । तर, यसमा थप नगद तीन लाख र अन्य सामान माग्न थाले पनि हाम्रो क्षमताले भ्याएन,’ पीडित सिताका बुवाले भने । बिवाहको लागि ४ सय काड छापिसकेको र बिवाहको तिलक हुन ३ दिन बाँकी हुँदा दाइजो स्वरुप नगद नदिए बिवाह नहुने शर्त राखेको पीडित पक्षले मुद्दामा उल्लेख गरेका छन् । ‘हामी सकेको दिन्छौ नगद दाइजोको कुरा नगर्नु होस हाम्रो पनि समाजका इज्जत छ भन्दा उल्टै मोटरसाइकल जिन्सी सामान सहित तीन लाख दिनु पर्छ, हाम्रो बर्माहरुको गाउँ हो बर्मा समुदायका बेहुलाले केटी पक्षबाट ५÷६ लाख ल्याउँछन् तपाईले कम्तीमा ३ लाख दिनु पर्दछ भनेर दाईजो मागेको’ पीडित पक्षले बताए । हामी केटी पक्षकाले सहनु पर्दछ भनेर पहिले धेरै सहेको पीडितको बुवाले पीडा सुनाए ।

डुडुवा गाउँपालिकामा करारमा कार्यालय सहयोगी रुपमा काम गर्ने ब्यक्तिले नै बिवाहमा दाइजो मागेको घटनाले महिलाहरु अझै पनि दाइजोजन्य हिंसाको शिकार हुने घटना नरोकिएको देखाएको अधिकारकर्मीहरु बताउँछन् । बाँकेमा दाइजोजन्य मुद्दामा जरिवाना भएको पहिलो मुद्दा भएको र यसले अन्य पीडित महिलाहरुलाई दाइजोजन्य अपराध बिरुद्ध मुद्दा लड्न अभिप्रेरित गरेको पीडितको पक्षमा वकालत गरेका अधिवक्ता लोक बहादुर शाहले बताए ।

पीडित सिता थापाले अदालतको फैसलाबाट पूर्ण सन्तुष्ट नभए पनि पीडकलाई दोषी देखाई जरिवाना भएकोमा आंशिक सन्तुष्टि मिलेको प्रतिक्रिया दिइन् । अपराधको प्रकृति अनुसार अझ बढी जरिवाना र कैद सजाय हुनु पर्ने उनले बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया