रोल्पा कारागारमा रहस्यमय ढंगले मृत्यु भएका नेपालगन्ज– २ का सुन्दर हरिजनको घटना बारे छानबिन गर्न गृह मन्त्रलायले ५ सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयले शनिवार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापगाईंको संयोजकत्वमा समिति गठन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सम्मिलित समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने पनि बताएका छन् ।
मोवाइल चोरीको घटनामा तीन वर्षअघि नेपालगन्जमा पक्राउ परेका सुन्दर हरिजनको मृत्यु भएपछि त्यसअघि उनले अर्कैको सजाय भुक्तान गरिरहेको खुलासा भएको हो । १६ भदौ ०७६ मा मोबाइल चोरी गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा पठाइएका उनी छुटिसक्नेबेला रहस्यमय ढंगले मृत्यु भएपछि परिवारले हत्या आशंका गरेको छ । परिवारले सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न सरोकारवालाको ध्यानाकर्षणका लागि धर्ना, सडक प्रदर्शन गर्नेदेखि शव दाहसंस्कार नगर्नेसम्मका दबाबका कार्यक्रम गर्दै आएका छन् । प्रहरीदेखि कारागार प्रशासनसम्मको मिलेमतोमा हरिजनलाई अर्काको कैदभुक्तानमा फँसाइएको आरोप परिवारको छ ।











