कस्ले जित्ला जानकी ?

बाँकेको जानकी गाउँपालिका नेपालगन्ज, कोहलपुर र खजुरासँग जोडिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले प्रमुख, उपप्रमुख, ३ वटा वडा जितेको थियो । प्रशस्त खेतीयोग्य जमिनका साथै उद्योगहरुको रहेको जानकी गाउँपालिका आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दल तथा तीनका उम्मेदवार निकै मेहनत गरिरहेका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट रामनिवास यादव ३०८३ भोट ल्याएर विजयी भएका थिए । यादव प्रमुखमा विजयी हुँदा दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसका उम्मेदवार छब्बन खाँले ३ हजार ९ मत ल्याएका थिए । झिनो मतान्तरण प्रमुख पदमा काँग्रेस पराजित भएको थियो । तेस्रो स्थानमा रहेको तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार नन्दकिशोर बर्माले २ हजार १ सय ५८ मत प्राप्त गरेका थिए । फोरम टुक्रिने, नयाँ पार्टीका रुपमा परिवर्तन हुने र फुट्ने, नयाँ शक्तिहरु जोडिने क्रमका कारण अहिले जानकी गाउँपालिकामा उसको जनाधार स्पष्ट छैन । जनता समाजवादी पार्टीको वर्तमान समयमा जानकीमा राम्रो प्रभाव भएको मानिन्छ । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रक्षाराम कुर्मीले १ हजार ९ सय ३४ भोट ल्याएका थिए ।

६ वटा वडा रहेको जानकी गाउँपालिकामा प्रमुख पदमा काँग्रेसका उम्मेदवार झिनो मतान्तरले पराजित भएपनि वडा भने एउटा मात्रै जित्न सकेको थियो । २०७४ सालमा उम्मेदवारको पार्टीगत मात्र नभई व्यक्तिगत प्रभावका कारण पनि मत आएको स्थानीय बताउँछन् । नेकपा एमाले वडा नं. ४, ५, ६, नेपाली काँग्रेस वडा नं. ३, माओवादी केन्द्र वडा नं. २, संघीय समाजवादी फोरम वडा नं. १ मा विजयी भएको थियो ।

नेकपा एमालेले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि जानकी गाउँपालिकाका निवर्तमान प्रमुख स्व. राम निवास यादवको छोरा हिमांशु यादवलाई उम्मेदवार बनाएको व्यवसायिक क्षेत्रमा सक्रिय हिमांशु पालिकाको विकासका लागि स्पष्ट भिजन भएको बताउँछन् ।
नेपाली काँग्रेसले प्रमुखमा छब्बन खाँलाई उम्मेदवार बनाएको छ । उनी २०७४ मा पनि काँग्रेसबाट प्रमुख पदका उम्मेदवार हुन् । काँग्रेसले उपप्रमुख पदमा रामप्यारी यादवलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले गाउँपालिकाको उपप्रमुख पदको उम्मेदवार भूमिसरा धिताललाई बनाएको छ । उनी वर्तमान कार्यवाहक प्रमुख र उपप्रमुख पनि हुन् । गाउँपालिकाको प्रमुखको निधन पछि धितालले कार्यवाहक प्रमुखको जिम्मेवारी पनि सम्हालेकी थिइन् । निर्वाचनका लागि राजिनामा गर्नुपर्ने व्यवस्था अनुसार राजिनामा दिएर उनी अहिले निर्वाचन प्रचारप्रसारका क्रममा छिन् ।

जनता समाजवादी पार्टीले जानकी गाउँपालिका प्रमुखमा राजिव बर्मालाई उम्मेदवार बनाएको छ । जसपाले माओवादीसँग जानकीमा गठबन्धन गरेको हो । उपप्रमुखमा जसपाले उम्मेदवारी दिएको छैन । गठबन्धनबाट माओवादीले उपप्रमुखमा रक्षाराम बर्मालाई उम्मेदवार बनाएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुख पदमा विजयी एमाले उम्मेदवारको ३ हजार ३ सय ८७ मत आएको थियो । निकटम् नेपाली काँग्रेस उम्मेदवारले २ हजार ५ सय ५५ मत प्राप्त गरेकी थिइन् । संघीय समाजवादी फोरम उम्मेदवारले २ हजार ६४ माओवादी उम्मेदवारले १ हजार ७ सय ४१, राप्रपा उम्मेदवारले १ हजार ३ सय ८३ मत प्राप्त गरेकी थिइन् ।

आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दल परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा छन् । सबै दलले घरदैलो गरिरहेका छन् । त्रिपक्षीय भिडन्त हुने अनुमान गर्दै मतदाताले नयाँ थपिएका मतदाता भोट परिणामका लागि निकै अर्थ राख्ने बताउँछन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जानकी गाउँपालिकामा १८ हजार ७८ मतदाता रहेका थिए । जसमध्ये १४ हजार ९ सय ४१ मत मात्रै खसेको थियो । जानकीमा खसेको मध्ये ५.१९ प्रतिशत मत पूर्ण रुपमा बदर भएको थियो ।

आगामी बैशाख ३० को निर्वाचनका लागि निर्वाचन आयोगका अनुसार, मतदाता संख्या २२ हजार ८ सय २९ पुगेको छ । २०७४ साल पछि ४ हजार ७ सय ५१ मतदाता थपिएका छन् । जसपा र माओवादी गठबन्धनले प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार नबनाएर महिला प्रति वेवास्ता गरेको भन्दै त्यसप्रति असन्तुष्टि पनि गाउँमा रहेको स्थानीय मतदाता बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया