आफैंमा सक्षम भएको भए कुनै दल र व्यक्तिले अर्काको सहयोग लिंदैन, गठबन्धन गर्दैन । बलियो छु भन्ने विश्वास भए किन गठबन्धन गर्ने ? फरक विचारका पार्टी चुनाव जित्नका लागि मात्र गठबन्धन गरेका हुन् । सोंच र विचारधारा नमिल्ने मान्छे गठबन्धन गरेर, एक ठाउँमा मिलेर काम गर्लान् भन्ने त्यो सम्भव नै छैन ।
विकास बहादुर सिंह नेपालगन्जमा ३० बर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । हाल गोल्डेन एबिसीका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक सिंहले नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
शिक्षा क्षेत्रमा योगदान पुर्याएबापत राष्ट्रिय शिक्षा दिवसमा सम्मानित सिंह प्याब्सन बाँकेको दुई पटक अध्यक्ष भसकेका छन् भने प्याब्सन नेपालगन्ज नगर अध्यक्षको जिम्मेवारी पनि एक पटक निर्वाह गरिसकेका छन् । उम्मेदवार सिंहले निर्वाचन प्रचारका क्रममा ‘एकपटक विकृतिपूर्ण राजनैतिक भारी बिसाई आफ्नो जन्म र कर्म थलो ऐतिहासिक नगरी नेपालगन्जको भविष्यको बारेमा सोचौं’ भन्ने नारा दिएका छन् ।
नेपालगन्जमा बलियो जनाधार भएको नेपाली काँग्रेस र जसपाले नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरेर, नेकपा एमाले र राप्रपा एक्लै निर्वाचनमा होमिरहेका बेला स्वतन्त्र उम्मेदवारले कसरी नेतृत्व पाउलान् ? उनका एजेन्डा के हुन् ? यसै सन्दर्भमा स्वतन्त्र उम्मेदवार, शैक्षिक क्षेत्रका व्यक्तित्व सिंहसँग दैनिक नेपालगन्जले निर्वाचनका सेरोफेरोमा गरेको कुराकानी संक्षेपमा प्रस्तुत गरिएको छ ।
तपाई राजनीतिमा किन ?
मैले राजनीति गर्न खोजेको होइन । म राजनीतिक व्यक्ति पनि होइन । म तीस बर्षदेखि शिक्षा क्षेत्रमा लागेको व्यक्ति हुँ । नेपालगन्जमा जन्मँे, नेपालगन्जमा हुर्कँे, नेपालगन्जको प्रगति हेर्दा मलाई दुःख लागिरहेको छ । किनभने नेपालगन्ज अविकसित सहर जस्तो लाग्न लागि सक्यो मलाई । पहिला देशको चौथो नम्बरमा आउने सहर अहिले २०/२५ नम्बरमा पुगिसक्यो । बोर्डरसँग जोडिएका सहर प्रादेशिक राजधानी भैरहेका छन् । तर, नेपालगन्ज ऐतिहासिक सहर राजधानी भएन ।
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यवसाय धेरै समस्या मैले नेपालगन्जमा देखिरहेको छु । त्यसैले नेपालगन्जका लागि केही गर्न सक्छु कि भन्ने आँट लिएर राजनीति नगरेर सामाजिक कार्यकर्ताका रुपमा नगर प्रमुखको रुपमा स्वतन्त्र उम्मेदवारी दिएको छु ।
शिक्षा क्षेत्रको व्यक्ति तपाई, स्कुल बनाउने र सहर बनाउने कुरा फरक होइन र ?
परिवार, स्कुल, सहर, देश बनाउन म्यानेजमेन्टको ठूलो खाँचो पर्दछ । मलाई समस्याको पहिचान गरेर समाधानको म्यानेजमेन्ट गर्न सक्छु । त्यो आँट छ । म नेपालगन्ज नगर प्रमुखको पदमा विजयी भएँ भने सजिलो, सुलभ तरिकाले चलाउन सक्छु भन्ने विश्वास छ ।
तपाई अहिलेसम्म राजनीतिक दलमै जोडिनु भएको छैन ? कि छाडेर यता लाग्नु भयो ?
म अहिलेसम्म कुनै पनि दलको राजनीति गरेको छैन । म टिकटका लागि कुनै दलसँग कुरा गरिन । राजनीतिक दलमा लाग्दा दलीय प्रभाव हुन्छ फेरि । त्यसैले स्वतन्त्र भएर काम गर्न राजनीतिमा लागिन । राजनीतिक दलमा लागेका व्यक्तिले यो गर्छु, त्यो गर्छु भन्छन् । तर, गर्न सक्दैनन् । त्यसको कारण दलको प्रभाव पनि हुनसक्छ ।
मलाई भित्रबाट नै आयो नेपालगन्जलाई नै केही गरौं भन्ने । मेरो मानसिकता नेपालगन्जलाई केही गर्न सकिन्छ भने गरांै न भन्ने हो ।
एउटा व्यक्तिले गर्ने सहयोग र एउटा प्रमुखले गर्ने सहयोगमा धेरै फरक पर्दछ । एउटा व्यक्तिले व्यक्तिगत रुपमा कति योगदान गर्न सक्ला । प्रमुख भयो भने हजारौं गुणा बढी योगदान गर्न सकिन्छ । आवश्यक नीति व्यक्तिले बनाउन सक्दैन । त्यसैले नगर प्रमुख भएर काम गर्न चाहन्छु ।
दलहरु त एक्लै सक्दिन कि भनेर गठबन्धन गरेका छन् । तपाई स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्ने आधार के ?
दलहरु कमजोर भएकाले नै गठबन्धन गरिरहेका छन् । आफैमा सक्षम भएको भए कुनै दल र व्यक्तिले अर्काको सहयोग लिंदैन, गठबन्धन गर्दैन । बलियो छु भन्ने विश्वास भए किन गठबन्धन गर्ने ? फरक विचारका पार्टी चुनाव जित्नका लागि मात्र गठबन्धन गरेका हुन् । सोंच र विचारधारा नमिल्ने मान्छे गठबन्धन गरेर, एक ठाउँमा मिलेर काम गर्लान् भन्ने त्यो सम्भव नै छैन । स्वतन्त्र व्यक्तिलाई रोक्न पनि गठबन्धन गरेका हुन् ।
आफ्नो दलको हैसियत सकिन्छ भनेर नै गठबन्धन गरेका छन्, त्यो जनताले बुझिसकेका छन् । पार्टीको वर्चश्व हुनुपर्छ, स्वतन्त्र व्यक्ति आयो भने पार्टी सकिन्छ, पार्टी सकिए हामी सकिन्छौं भनेर पार्टी जोगाउन मात्रै गठबन्धन भएको हो ।
तपाईका के छन् एजेन्डा ?
नेपालगन्जमा गर्नुपर्ने काम धेरै छन् । जताततै एजेन्डा छन् । घरबाट निस्क्यो भने समस्यै समस्या छन् । त्यसमा पनि मैले नेपालगन्जका अति आवश्यक विषय आफ्ना प्रतिबद्धतामा समेटेको छु । स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको छु । शिक्षा, स्वास्थ्य, बाटोघाटोमा, जनताको आर्थिक अवस्था सुधार्न तर्फ, युवालाई रोजगारी, नगरबासीलाई सुविधा दिने कुराको व्यवस्थित व्यवस्थापन मैले देखेको छैन । सानो कुरा हेर्नुस्, नेपालगन्जमा १२ महिना नै लामखुट्टेले दुःख दिन्छ । सामान्य स्प्रे गरेर लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । तर त्यो पनि भएको छैन ।
नगरबासीले जोडबल गरे १/२ पटक स्प्रे गरिन्छ, अनि गरिंदैन । आर्थिक समृद्ध व्यक्ति एसी लगाएर रुपमा बस्लान्, लामुखट्टेको समाधान भयो । तर, विपन्न वर्ग, जो सँग एसी छैन, जोसँग जालीको ढोका हाल्न सम्म सकेका छैनन्, उनीहरुलाई लक्षित गरेर लामखुट्टे नलागुन् भनेर स्प्रे गरिनेछ । त्यसले भोलिका दिनमा लामखुट्टे नरहन पनि सक्दछन् । यो एउटा उदाहरण मात्र हो । धेरै कुरा छन् । नेपालगन्जलाई उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको उपमहानगरपालिका बनाउने भिजन मसँग छ, म गर्न सक्छु ।
शिक्षामा सवाल के हुन् ?
शिक्षाका पनि धेरै सवाल छन् । नीति नियमकै सवाल पनि छन् । म नगरको मान्छे केन्द्रमा पहुँच पनि हुृँदैन । तर, सुझाव दिन सक्छु । नगर प्रमुख निर्वाचित भएभने स्थानीय स्तर बनाउने नीति बनाउँछु । विद्यार्थीलाई भोलिका दिनमा कस्तो शिक्षा दिएर के बनाउने भन्ने स्पष्ट भिजन देखिँदैन । किताब छ, ज्ञान दिन्छौं, तर सही डेस्टिनेसनमा पुग्ने शिक्षाका लागि पहल गर्नेछु ।
अन्त्यमा केही ?
नेपालगन्जबासी सँग मेरो अनुरोध भनेको यदि तपाई मलाई एकपटक चान्स दिनुहुन्छ भने नेपालगन्ज र नेपालगन्जबासीलाई सुख, समृद्धि ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु । हेर्नुस् भिडियो अन्तर्वार्ता