बाँकेको खजुरा गाउँपालिकामा खेल पूर्वाधार थपिंदै गएको छ । यसअघि राष्ट्रिय स्तरका प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको खजुरामा अब प्रशिक्षण र प्रतिस्पर्धाका लागि विभिन्न खेल पूर्वाधार बनेको र बन्ने क्रममा रहेका छन् । खजुरा गाउँपालिकाको सितापुरमा शुक्र भलिबल स्टेडियम रहेको छ । भलिवल, फुटबल, महिला हक्कि र बक्सिङको राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको खजुराले गरिसकेको छ ।
नेपालगन्जमा फुटबलको अन्तर्राष्ट्रिय स्तरको मैदान छ । तर, एउटा मात्रै मैदान राष्ट्रिय प्रतियोगिता तथा अभ्यासका लागि पर्याप्त हुँदैन । त्यसैले खजुरा फुटबल मैदानको विकल्पको रुपमा रहेको छ । त्यहाँ राष्ट्रिय स्तरको प्रतियोगिता हुँदा अभ्यास र प्रतियोगिता नै सञ्चालन हुन सक्ने गरी मैदान तयार रहेको छ ।
खजुरा गाउँपालिका वडा नं. ४ मा मिनी रंगशाला निर्माण अन्तर्गत प्याराफिट बनेको छ, मैदान सम्याउने काम भएर प्रतियोगिताहरु हुने गरेको छ । खजुरामा खेलको खेलको विकासका लागि जनप्रतिनिधि, गाउँपालिकामा मात्रै नभएर स्थानीय क्लब र नागरिक सक्रिय रुपमा रहेका छन् । यसले खेलप्रतिको आकर्षण तथा राष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादनमा पनि सहयोग पुग्ने लुम्बिनी प्रदेशका राखेप सदस्य सचिव समेत रहेका खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओली बताउँछन् । ‘खेल पूर्वाधार खेलाडीका लागि आवश्यक छ, पूर्वधार भयो भने खेलाडी खेल्ने वातावरण हुन्छ, प्रतियोगिताले नयाँ प्रतिभाहरु बाहिर आउन सक्छन्’, अध्यक्ष ओली भन्छन् ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरामा विद्यालय स्तरदेखि विद्यार्थीहरु कुनै न कुनै खेल सक्रिय हुने गरेको बताउँछन् । ‘स्वास्थ्यका लागि पनि खेल आवश्यक’, उनीहरु भन्छन्, ‘विद्यालय स्तरमा हुने खेलकुदका कार्यक्रमले नयाँ नयाँ खेलाडीहरुको क्षमता बाहिर आउँछ, त्यसैले खजुरा गाउँपालिकाले खजुरामा विद्यालय स्तरका विद्यार्थीले भाग लिने खालका विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।’ ‘खजुरा गाउँपालिकाले खजुरा पालिका स्तरीय मात्रै नभएर राष्ट्रिय स्तरका प्रतियोगितालाई समेत सहयोग गर्दै आएको छ’, उनी भन्छन् ।
खेल भनेपछि बाँकेमा खजुरा गाउँपालिका स्थान अग्र नै रहेको पाइन्छ । खासगरी फुटबलमा खजुराका खेलाडीहरु अगाडि छन् जिल्लामा । खजुरा गाउँपालिकामा पालिकाले मात्रै नभएर स्थानीय क्लबहरुले समेत सहयोग जुटाएर ठूला खालका प्रतियोगिता गर्दै आएको स्थानीय समेत रहेका पत्रकार खगेन्द्र दाहाल बताउँछन् । ‘खजुरामा खेल भनेपछि एउटा छुट्टै माहोल बन्ने गरेको छ, खेलप्रति माया गर्ने यहाँ धेरै अग्रज हुनुहुन्छ’, उनी भन्छन्, ‘खजुरा खेलमा सम्भावना बाकेको क्षेत्र हो ।’
खजुरामा सानादेखि ठूला खेलका आयोजना गर्ने मैदान छन् । पछिल्लो पटक खजुरा गाउँपालिकाकै आर्थिक सहयोगमा खजुरा गाउँपालिका वडा नं. ३ मा कबर्ड हल निर्मार्णाधिन अवस्थामा रहेको छ । खजुरा ब्याडमिन्टन क्लबले बनाउन लागेको कभर्ड हलका लागि गत तीन आर्थिक बर्षमा ४० लाख रुपैयाँ खजुरा गाउँपालिकाले प्रदान गरिसकेको छ । ‘क्रमागत रुपमा पालिकाले कभर्डहलका लागि सहयोग गरेको छ’, खजुरा ब्याडमिन्टन क्लबका अध्यक्ष भक्त बहादुर गोदार क्षेत्री भन्छन्, ‘कभर्ड हल तयार भएपछि इन्डोर खेल आयोजना गर्न सहज हुन्छ ।’ निर्माणाधिन रहेको उक्त कभर्ड हलमै आगामी बैशाख १ देखि ३ गतेसम्म क्लबले प्रथम राष्ट्रिय व्यापी बी लेवल खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ आयोजना गर्दैछ । ‘सुरुमा ९० लाख इष्टिमेट गरिएको कभर्ड हलमा अब २ करोड जति खर्च हुने अनुमान गरेका छौं’, क्लब अध्यक्ष गोदार भन्छन्, ‘त्यसका लागि पालिकाले पहिलो बर्ष १० लाख, दोस्रो र चालु आर्थिक बर्षमा १५ लाखका दरले र प्रदेश सांसद कोषबाट ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ’, उनले भने, ‘स्रोत जुटाएर कामलाई निरन्तरता दिन्छौं ।’
अध्यक्ष गोदारले इन्डोर सञ्चालन हुने खेलका लागि विद्यालय स्तरदेखि नै प्रशिक्षण, प्रतियोगिता आयोजना गरेर भोलिका दिनमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन होस् भन्ने उद्देश्यले कभर्ड हल बनाइरहेको बताउँछन् । ‘ब्याडमिन्टन क्लब भएकाले हामी ब्याडमिन्टन प्रतियोगिता विद्यालय स्तरदेखि आयोजना गर्ने हाम्रो योजना छ’, उनले भने । करिब १ हजार क्षमताको बनाउने लक्ष्य राखिएको कभर्ड हल तयार भएपछि विद्यालय स्तरबाट ब्याडमिन्टन प्रशिक्षणको आयोजना गर्ने गोदार बताउँछन् । हालसम्म कभर्ड हलको निर्माण ४० प्रतिशत सकिएको छ । ‘कभर्ड हल मल्टिप्रपोजको छ’, गोदार भन्छन् ।
‘खजुरामा खेलकुद ग्राम तयार हुँदैछ’, गाउँपालिकाका अध्यक्ष कक्षपति भन्छन्, ‘प्रत्येक बर्ष खेल क्षेत्रको पूर्वाधार र प्रतियोगितालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिरहेका छौं’, उनले भने । ‘खजुराले जनप्रतिनिधि पाएपछि खेल क्षेत्रमा देखिने गरी काम भएका छन्’, खजुराका स्थानीय भन्छन् ।