नेपालगन्जमा सर्वेक्षणमा भेटिएका ४ हजार ८ सय ५३ जना बालबालिका मध्ये २ सय ३७ ड्रप आउट तथा ४७ जनाले कुनै पनि खोप नलगाएको पाइएको हो
खोज्दै लगाउँदै उपमहानगरपालिका
खोपमा हुने ड्रप आउट स्वास्थ्यकै लागि चुनौति बन्दै गएको छ । अभिभावकहरुले आफ्ना बालबालिकालाई खोप नै नलगाउने, लगाउनु पर्ने खोप पूर्ण रुपमा नलगाउँदा स्वास्थ्यमा नै चुनौति हुने गरेको सम्बद्ध स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् ।
नेपालमा १२ प्रकारका खोप लगाइने गरिएकोमा यसै बर्षदेखि टाइफाइडको खोप थप गरिएको छ । ‘१५ महिनासम्म लगाइने खोपले दीर्घकालीन रुपमा स्वास्थ राख्न मद्दत पुर्याउँछ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जंग शाहले भने, ‘त्यसैले आफ्ना बालबालिकालाई पूर्ण रुपमा खोप लगाउन अभिभावक जिम्मेवार हुनुपर्दछ ।’
नेपालगन्ज उपमहानगरपालिकामा पछिल्लो सर्वेक्षणमा मात्रै २ सय ३७ जना खोप ड्रप आउट भएको पाइएको थियो । सर्वेक्षणका क्रममा ४७ बालबालिकाले कुनै पनि खोप लगाएका थिएनन् ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले ४ हजार ८ सय ५३ जनाको सर्वेक्षण गरेको जानकारी दिएका छन् । ‘सर्वेक्षणपछि खोपमा ड्रप आउट भएका तथा खोप नलगाएका २ सय ८५ लाई खोप लगाइएको छ’, उनले भने ।
उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक रिमालले खोप नलगाउनुमा विभिन्न खालका कारण पाइएको भन्दै त्यसको समाधान गर्न आवश्यक रहेको बताएका थिए । उनले खोप सञ्चालन गर्न खोप केन्द्र भौतिक पूर्वाधार सम्पन्न नुहुन, कोभिडका कारणले विगत दुई बर्ष प्रभावित हुनु, केही समुदायमा खोप लगाउन नै नमान्ने अवस्था पूर्ण खोपका लागि चुनौति रहेको बताएका थिए । ‘खोप बालबालिकालागि अति रोग विरुद्ध लड्ने क्षमताको विकास गर्न अति आवश्यक छ, यसमा अभिभावक, स्थानीय तह सबै जिम्मेवार हुनुपर्दछ’, उनले भने ।
सरकारले सबै प्रकारका खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै स्वास्थ्य कार्यालय प्रमुख शाहले भने, ‘अभिभावकले खोजेर नै आफ्ना सन्तानलाई खोप लगाउनु पर्ने भएपनि सरकारले वडा तहसम्मका स्वास्थ्य केन्द्रमार्फत खोप दिइरहेको छ ।’ खोप नै नलगाउनु, ड्रप आउट हुनु बालबालिकालाई दीर्घकालीन रुपमा स्वस्थ बनाउने कुरामा चुनौति हुने गरेको उल्लेख गर्दै शाहले पूर्ण खोप सुचिश्चितताका लागि अब जनप्रतिनिधिहरु पनि लाग्नु पर्ने बताएका छन् ।
‘रोग लाग्नुभन्दा अगाडि रोग नै नलागोस् भनेर प्रदान गरिने जैविक उत्पादन खोप हो, यसले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्घि गरि रोग लाग्नबाट बचाउँछ’, स्वास्थ्य निरीक्षक रिमालले भने, ‘नेपालमा औसत आयु बढिरहेको छ, त्यसको एउटा कारण खोप पनि हो, त्यसैले खोप सबै बालबालिकालाई तोकिएको समयमा दिनु अनिवार्य छ ।’
नेपालमा ७८ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाउने गरेको पाइन्छ भने १ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका हुँदैनन् ।
बाँके : खोपमा मात्रै ४१ करोड खर्च
साढे ३ करोड बढीको खोप खेर
बाँकेमा बालबालिकाका लागि दिइने विभिन्न प्रकारको खोपका लागि बार्षिक ४० करोड बढी खर्च हुने गरेको छ । पछिल्लो तथ्यांक अनुसार, बाँकेमा ४१ करोड १० लाख ३५ हजार ६ सय २५ रुपैयाँ खोप कार्यक्रमका लागि खर्च गरिएको छ । जसमा सबैभन्दा बढी खर्च नेपालगन्ज उपमहानगरपालिकामा हुने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा खोपका लागि बार्षिक ११ करोड ८७ लाख ७६ हजार ८ सय ४० रुपैयाँ, कोहलपुर नगरपालिकामा ६ करोड ७ लाख ८३ हजार ४ सय ५०, राप्तीसोनारी गाउँपालिकामा ५ करोड ५ लाख ५३ हजार २ सय ३० रुपैयाँ, बैजनाथ गाउँपालिकामा ४ करोड ६० लाख ६९ हजार २ सय ५ रुपैयाँ खर्च हुने गरेको छ ।
खोप कार्यक्रमका लागि खजुरा गाउँपालिकामा ४ करोड २८ लाख १४ हजार १ सय ३५, जानकी गाउँपालिकामा ३ करोड १६ लाख २० हजार ६ सय ८०, डुडुवा गाउँपालिकामा ३ करोड ११ लाख ८८ हजार ८ सय ८५ र नरैनापुर गाउँपालिकामा २ करोड ९२ लाख २९ हजार २ सय रुपैयाँ खर्च हुने गरेको छ ।
करोडौं रुपैयाँ खोपका लागि खर्च हुने गरेपछि विभिन्न कारणले खोप व्यर्थ जाने गरेका छन् । अर्थात् तिनको प्रयोग नभई नष्ट हुने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक सरोज रिमालले प्राविधिक सहित विभिन्न कारणले खोप जोगाउन नसकिने गरेको बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाको पछिल्लो तथ्यांक अनुसार, १ करोड ४ लाख २४ हजार ४० रुपैयाँको खोप वेष्टेज भएको छ । कोहलपुरमा ५३ लाख ३४ हजार ४ सय ५०, राप्तीसोनारीमा ४४ लाख ३६ हजार ६ सय ६०, बैजनाथमा ४० लाख ४३ हजार १ सय ५ रुपैयाँको खोप नष्ट भएको छ । स्वास्थ्यकर्मीका अनुसार खोपको उचित भण्डार अभाव, निश्चित समयमा प्रयोग गर्नुपर्ने तथा अन्य विविध कारणहरुले खोप जोगाउन समस्या हुने गरेको बताउँछन् ।
उपमहानगरपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगन्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रम बीच जिल्ला समन्वय समिति प्रमुख अजय श्रीवास्तले उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा योजना अधिकृत जागेश्वर बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । त्यस्तै उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक सरोज रिमालले पूर्ण खोप र दिगोपनाका लागि गरिएका प्रयास बारे बताएका थिए ।
नेपालगन्जमा हरेक महिना २ देखि ८ गतेसम्म खोप लगाउने गरिन्छ । खोप नछुटोस् भनेर खोप कार्ड उपलब्ध गराउने गरिएको छ ।
नेपालगन्जमा छुटेका समेतलाई समावेश गरी ४ हजार ८ सय ५३ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । त्यसक्रममा उपमहानगरपालिकाको तर्फबाट स्वास्थ्य कार्यालय बाँकेलाई दिगोपनाका लागि निरन्तर लागि रहने आशयको पत्र समेत बुझाइएको थियो ।